© २०२३
नवलपुर, २८ भदौ ।
पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जानेको संख्या दिनप्रतिदिन बढ्दो रहेको छ । वैदेशिक रोजगारीप्रतिको आकर्षणले नवलपुरबाट राहदानी लिनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार नागरिकता भन्दा राहदानी बनाउने दोब्बर छन् । उच्च शिक्षा अध्ययन गर्न जाने युवा, श्रीमान् विदेशमा हुनेका श्रीमती भेटघाटका लागि, छोराछोरी विदेश भएकाका आमाबुवा घुमफिरमा जानका लागि राहदानी बनाउन आउने गरेका कारण पनि राहदानी लिन आउनेको संख्यामा वृद्धि हुने गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
नवलपुरमा आर्थिक वर्ष २०८०÷८१ मा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै रहेको बताएका छन् । गत आर्थिक वर्षमा १६ हजार ९०७ वटा राहदानी वितरण गरिएको छ । राहदानी लिनेमध्ये पुरुष १० हजार ३६ जना, महिला छ हजार २७७ जना र नाबालक ५६४ जना रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ ।
जिल्लामा गत आर्थिक वर्षमा नयाँ नागरिकताको प्रमाणपत्र लिनेको संख्या आठ हजार ९४६ जना छ । जसमध्ये महिला चार हजार ५३५ र पुरुष चार हजार ४११ छन् । त्यसैगरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिनेको संख्या आठ हजार ३६० रहेको बताइएको छ । गैरआवासीय नागरिकताको प्रमाणपत्र लिनेको संख्या ३४ रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
जिल्लाबाट राहदानी बनाउनेलाई अनिवार्य रूपमा सूचना प्रदान गर्ने गरिएको र जिल्लामा सञ्चालित कार्यक्रममार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सिप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको सुरक्षित आप्रवासन सामीका परामर्शकर्ता रञ्जना लम्सालले बताइन् ।
राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा २०८०÷८१ मा कुल नौ करोड ८५ लाख ३३ हजार ३७० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षमा राहदानीबापत कुल नौ करोड एक लाख ३२ हजार ५०७ रुपियाँ राजस्व सङ्कलन भएको थियो भने प्रशासनिक दण्ड जरिबानाबापत ७५ लाख ९४ हजार ८८३ रुपियाँ, संस्था दर्ता तथा नवीकरणबापत छ लाख ६५ हजार १५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।