© २०२३
१८ औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गर्दै आज मनाईदै छ । बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन गरेको दिनको स्मरणमा नेपालमा हरेक बर्ष यो दिवस मनाउने गरिएको हो । यो दिवस मनाउन थालेको १८ बर्ष भएको छ तर यतिका बर्ष वितिसक्दा पनि नेपालमा मानव बेचबिखनको अवस्था अझैपनि कहालीलाग्दो छ ।
मानव ओसारपसार तथा बेचबिखनको समस्या घटनुको साटो हरेक बर्ष बढ्दै जानु चिन्ताको बिषय हो । अझै मानव बेचबिखनका घटनामा नयाँ नयाँ पात्र र प्रवत्तिहरूको जन्म हुँदै गएको छ । एक प्रकारले भन्दा मानव बेचबिखनको अवस्था अत्यन्तै गंभीर र कहालीलाग्दो मोडमा पुगेको छ । पछिल्लोसमय मानवलाई मानवले बेच्ने कुरा त सामान्य जस्तै भैसकेको छ ।
मानवका लागि अहिले मानवीयता भन्ने कुरा गौण भएको छ । पछिल्लोसमय त नेपालीले नै नेपालीलाई ठगी गर्ने, बिक्री गर्ने गरेको बिडम्वनाजन्य खबर सुन्नु परिरहेको छ । यो गंभीर चिन्ताको कुरा हो । हरेक प्रकारको मानव वेचविखन अझ विशेषगरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्न सरकारले पहल गर्दै आएको छ तर समस्या ज्यूँका त्यूँ छ । सरकारले यस प्रकारका घटना नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ तर समाधानमा टसमसको अवस्था भएको छैन । नेपालमा आजको दिन विभिन्न कार्यक्रम, जनचेतनामूलक ¥याली र सभाहरूमार्फत मानव वेचविखन नियन्त्रणको पहल गरिदै आएको छ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नहुँदा महिला बेचबिखनविरुद्धको अभियान पूर्णरूपमा सफल हुन सकेको छैन् ।
मानव बेचबिखन र ओसारपसारकै कुरा गर्दा पुरुषभन्दा महिलाहरू बेचिने समस्या बढी देखिएको छ । महिलाहरू बेचबिखन तथा ओसारपसारका घटनामा धेरै पीडित बन्दै आएको अवस्था छ । खासगरी विदेशमा ओासारपसारका घटना बढेका छन् । नेपालका विभिन्न शहरवाट राम्रो तलब तथा काम लगाईदिने नाममा बेचिने घटना बढ्दै गएको देखिएको छ । यो दिवसकै सन्दर्भमा यसतर्फको सचेतना अवको आवश्यकता हो । मानव बेचबिखनको जोखिम, न्यूनीकरणका लागि गरिएका पहल, बेचबिखनमा पर्ने कारणहरू, उद्धार, पुनस्र्थापना, पैरवी, कानुनी ब्यवस्था, नीति तथा कार्यक्रम कस्ता छन भन्ने विषयमा अब बहस जरुरी छ ।
यो दिवस त्यसैपनि औपचारिकतामै सीमित हुने गरेको छ । अझैपनि पश्चिम तराईमा शारीरिक श्रमका नाममा बेचबिखन हुँदै आएको छ । कमैया, हलिया जस्ता नाममा अझैपनि एकै वर्षका लागि श्रमिकलाई निश्चित रकममा बन्धक वनाउने काम रोकिएको छैन । मुक्तिको कुरा गरेपनि पश्चिम तराईमा यही नाममा श्रम शोषणका घटनामा बृद्धि भएको छ । कमैयाहरू अझैपनि साहुको घरमा हली भएर बस्न बाध्य भैरहेका छन् । यसतर्फ सम्वन्धित निकायको ध्यान पुगेको छैन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वमा झन्डै दुई करोड ५० लाख मानिस बाध्यकारी श्रम गर्न बाध्य छन् । नेपालकै सन्दर्भमा कुरा गर्दा अहिलेसम्म कूल ५० हजार महिला र बालबालिका बेचबिखनमा परेका छन् । वास्तवमा मानव ओसारपसारको डरलाग्दो अवस्था विद्यमान छ । जसको नियन्त्रण सरकारको ठोस र प्रभावकारी नियन्त्रणले मात्र संभव छ । दिवसको अवसरमा खासगरी महिला अधिकारवादी नेतृहरूले मानव वेचविखन तथा ओसारपसार विरुद्ध सवै जनसमुदायलाई एकजुट बनाउन आह्वान गरेका छन । मानव बेचविखन तथा ओसारपसार जघन्य अपराध हो ।
२१ औं शताब्दीमा पनि यस्ता अपराध हुनु मानवजातिको लागि एक कलंक हो । तसर्थ यस प्रकारको कलंक अन्त्य गर्नेतर्फ हामी सवैको पहल आवश्यक छ । कुनै एक व्यक्ति वा संस्थाले गरेरमात्र रोकथाम संभव नभएकोले यसमा हामी सवै नेपालीको ऐक्यवद्धता आवश्यक छ ।