© २०२३
नेपालको स्वास्थ्य क्षेत्रमा कति बेथिती छ भन्ने कुरा हालै सार्वजनिक भएका दुईवटा उदाहरण काफी छन् । विरामीले खाने औषधीदेखि चिकित्सकले दिने सेवा र अस्पतालदेखि एम्बुलेन्सको सेवामा पनि माफियाको जगजगी रहेको कुरा सुन्दा पत्यार नलाग्न सक्छ तर नेपालको स्वास्थ्य क्षेत्रले बर्षौदेखि यस्तै प्रकारको बेथिती बोकिरहेको छ । पीडित विरामीमाथि झनै पीडा थोपर्ने काम भैरहेको छ । विरामीले लिने सामान्य सेवादेखि अपरेशन गर्दासम्म पनि कमिसनको चक्कर स्वास्थ्य क्षेत्रमा व्यापक छ । नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको बर्चस्व कति छ भन्ने कुरा यो उदाहरण हो । सरकारबाट राजश्व छुट प्राप्त गरी सञ्चालनमा आएका एम्बुलेन्सहरू नै भाडामा लगाउनु गैरकानुनी काम हो । यस प्रकारको काम अपराध नै हो । सामाजिक सेवाभावले स्थापना भएको एम्बुलेन्सले नै बदमासी गर्छन भने अरू क्षेत्रको अवस्था के होला ? निश्चित रूपमा यो बिषय गंभीर छ । यसलाई सामान्य घटनाको रूपमा लिनुभन्दा सम्वन्धित निकायले यस प्रकारको बेथिती नियन्त्रणमा पहलकदमी गरोस् ।
एम्बुलेन्स नै भाडामा लगाएर नाफा कमाउने काम नेपालको स्वास्थ्य क्षेत्रको यो एउटा उदाहरण हो र यस प्रकारका बेथिती कति हो कति छन । अर्को चिन्ताको कुरा के छ भने कतिपय एम्बुलेन्स बिक्री समेत भएको पाइएको छ । ‘सेवा नै धर्म हो’ नारा लेखिएका एम्बुलेन्सहरू विक्री गरेर नाफा कमाउने धन्धा कुनैपनि मानेमा स्वीकार्य हुँदैन । यो गैरकानुनी काममा संलग्नमाथि कारवाही गर्ने बिषयमा सम्बद्ध निकायले खुट्टा नकमाओस् । मुलुकको स्वास्थ्य क्षेत्रमा माफियाको रजगजले यो क्षेत्रलाई बदनाम त गराएको छ नै, विरामीले उपचारमै सास्ती पाउने अवस्था अझै बढ्दै गएको छ । कसैका लागि यो बिषय सामान्य लाग्न सक्छ तर यो गंभीर बिषयलाई नजरअन्दाज गर्ने काम कतैबाट नहोस् । विरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले यात्रु बोकेको कुरा त यसअघि सार्वजनिक भैसकेको बिषय हो । अर्कोतर्फ एम्बुलेन्समा आएका बिरामीलाई कमिसनको चक्करमा अन्तै पु¥याउने काम समेत हुँदै आएको छ । ६ महिनाअघि अर्घाखाँचीबाट उपचारका लागि आएका विरामीलाई कमिसनको चक्करमा एम्बुलेन्स चालकले गलत स्थानमा पु¥याएको घटना स्वास्थ्य क्षेत्रका लागि गंभीर चिन्ताको बिषय हो । यस बिषयमा अव सरकारले नै पहलकदमी नगरेसम्म स्वास्थ्य क्षेत्रले कमाएको बदनामी छिटो सञ्चो हुने अवस्था छैन् ।
मानविय सेवा गर्ने उद्देश्यले एम्बुलेन्स भित्राएको संस्थाले नै पैसाको चलखेलमा बिक्री गरिएको सुन्दा नेपालमा स्वास्थ्य क्षेत्रमा कतिसम्म बेथिती रहेछ भन्ने छर्लङ्ग हुन्छ । यो सानो उदाहरण मात्र हो । कुनैपनि नीजि क्लिनकमा विरामी लगिदिएपनि कसिमन आउँछ भन्ने सुन्दा पत्यारै लाग्दैन । बाहिरबाट हेर्दा सवै ठिकठाक छ तर भित्रभित्रै नेपालको स्वास्थ्य क्षेत्र माफियाको जालोले ध्वस्त बन्दैछ । यस प्रकारका बेथिती समयमै रोक्नेतर्फ पहल नगरिए स्थिति बिकराल बन्ने निश्चित छ । सामाजिक सेवाभावले संचालन गरिएका एम्बुलेन्स नै विक्री गर्न हिम्मत गर्नु चानचुने कुरा होइन । यसले यो क्षेत्रमा माफियाको रजगज छ भन्ने पुष्टी गर्दछ । स्वास्थ्य क्षेत्रको अर्को बेथिती औषधीमा पनि छ । पाल्पा जिल्ला अस्पतालले बिमा बापत सहुलियतमा बिरामीहरूलाई उपलब्ध गराउँदै आएको औषधी एउटा सप्लासर्यसँग सम्झौता गरी अर्को सप्लायर्ससंग खरिद गरेको कुरा सार्वजनिक भएको छ । स्वास्थ्य क्षेत्रमा यो भन्दा ठूलो बेथिती अरू केही हुन सक्छ ? यो भ्रष्टाचारको चरम नमूना हो । सार्वजनिक खरिद ऐन बमोजिम पहिला नै सम्झौता गरिएको कुनैपनि सप्लासर्यले नियमित रूपमा उपलब्ध गराउन नसकेमा वा विशेष जटिल अवस्थामा मात्रै अन्य स्थानबाट खरिद गरी प्रयोग गर्नुपर्ने नियम भएपनि अस्पताल आफैले पुरानो सम्झौता गरिएको सप्लायर्सबाट कमिसन नपाउने भएपछि अर्को नयाँ सप्लायर्सबाट खरिद गर्नु भ्रष्टाचारको चरम नमूना हो । नेपालको स्वास्थ्य क्षेत्रमा भैरहेको यो मनपरीतन्त्र र बेथितीको चरम नमूना हो । यो बिषयमा सरकारको गंभीर ध्यानाकर्षण होस् । पाल्पा जिल्ला अस्पतालले मात्रै होइन, स्थानीय तहका अस्पताल तथा प्रदेश र संघीय अस्पतालमा पनि यही दर्दनाक अवस्था देखिएको छ । यो चिन्ताको बिषय हो । स्वास्थ्य क्षेत्रको यस प्रकारको बेथिती रोक्ने कहिले हो ? सम्वन्धित निकायको ध्यान जाओस् ।