© २०२३
प्युठान, १७ भदौ ।
विदेशी भूमिका साढे एक दशक ड्राइभर भएर फर्केका रोल्पाको सुनिलस्मृति गाउँपालिका–१ का महेश सुनार मादल बनाउने काममा व्यस्त छन् । प्युठानको स्वर्गद्वारी नगरपालिका–३ किमिचौर स्थित दोमईमा मादल बनाउने उद्यम गर्दै आएका छन् । उनले पुख्र्यौली सीपलाई उद्यममा रूपान्तरण गर्दै राम्रो आम्दानी हुन थालेपछि ‘विदेशका ड्राइभर, स्वेदशका सफल उद्यमी’ का रूपमा चिनिन सफल भएका छन् ।
सुनारका पूर्खादेखि मादल बनाउने पेशा रही आएको थियो । तर पछिल्लो समयमा युवा पुस्तामा पुस्तान्तरण नहुने समस्यालाई उनले चिरेका छन् । मादल बनाउने व्यवसायबाट गत वर्ष ६ लाख आम्दानी गरेको सुनारले जानकारी दिए । आर्थिक आयको माध्यमसंगै पूख्र्यौली पेशालाई व्यवसायीकरण गरी सञ्चालन गर्न पाउँदा सुनार खुशी छन् । ‘उद्यमबाट यस वर्ष गत वर्षको भन्दा पनि बढि नाफा गर्ने लक्ष्य छ’ सुनारले भने,‘परिवारसंगै बसेर सीप बेच्न पाउँदा हर्षित छु ।’ सिजनमा मादलको माग पूर्ति गर्न हम्मे हम्मे पर्ने गरेको सुनारले बताए ।
मादल बनाउने सीप भएका प्युठान नगरपालिका–३ ओखरबोटका ४५ वर्षीय जोख बहादुर सुनारलाई पनि मादल बनाउन भ्याइनभ्याइ छ । मादल विक्री, मर्मतबाट वार्षिक दुई लाख आम्दानी हुँदा विदेशिनु परेको छैन । जेठ देखि कार्तिकसम्मको सिजनमा राम्रो कमाई हुँदा अन्य सिजनमा खेतीपातीको काम गर्न पाइने हुँदा उद्यममा सन्तुष्ट छन् । ‘व्यवसायलाई वृद्धिको लक्ष्य राखेको छु’ सुनारले भने,‘समयमै माग अनुसारको मादल उपलब्ध गराई, नाफा वृद्धि गर्ने लक्ष्य राखेको छु ।’
जोखबहादुर र महेशजस्तै मादल बनाउने व्यवसाय गर्नेहरूको लागि यो सवैभन्दा राम्रो सिजन हो । तीज, दशै र तिहार जस्ता चाडमा मौलिकबाजाको रूपमा प्रयोग हुने मादलको व्यवसाय राम्रो छ । प्युठानमा बनेका मादलहरू रोल्पा, अर्घाखाँची, दाङ लगायतका जिल्लाहरूमा समेत बिक्री हुँदै आएका छन् । ५ हजार देखि ४० हजारसम्मका मादल पाईने प्युठानमा मादल निर्माताहरूले ठुलो आकारका मादलहरू भने अर्डर आए मात्र बनाउने गरेको बताउँछन् । कच्चा पदार्थको रूपमा प्रयोग हुने छालाको अभाव छ भने मादलमा प्रयोग हुने खरी पिस्नको लागि मेसिन नहुँदा उनीहरूले फलामको ढिक्काले पिस्दै आएका छन् । यसको लागि स्थानीय सरकारले सहयोग गरे थप सहज र व्यवस्थित हुने उद्यमीको भनाइ छ ।