© २०२३
नवलपुर, १५ भदौ ।
पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीको हात्तीखोर आसपासका होटल तथा रेष्टुरेन्टहरुमा अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय र पत्रकारहरुको टोलीले होटल तथा रेष्टुरेन्टहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा हात्तीखोरमा रहेको खोङ्ग खोङ्ग होटल तथा रेष्टुरेन्टबाट अखाद्य रङ प्रयोग गरिएका कुखुरा र बंगुरको ५५ किलो मासु, भारतमा उत्पादित भएर नेपालमा प्रतिबन्ध लगाइएका रेडबुल बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
त्यसैगरी द डेस्टीनी रेष्टुरेन्ट एण्ड कटेजबाट अखाद्य वस्तु रातो रङ मिसाइएको २ किलो कुखुराको मासु र सलिना खाजा घरबाट २५ प्लेट उत्पादित कम्पनीको ट्याग नलगाइएको मःमः नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
उनीहरुलाई एक पटकलाई चेतावनी दिएर अब आइन्दा त्यस्तो नगर्न निर्देशन दिइएर छाडिएको उनको भनाइ छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ ले पकाएर खाने खाद्य पदार्थमा रङ्गको प्रयोग निषेध गरेको छ । खाद्य रङ भन्दै खाने कुरालाई आकर्षक बनाउन निषेधित रङको प्रयोग हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका खाद्य अधिकृत ज्योती आचार्यले बताइन् ।
उनका अनुसार सेन्थेटिक फुड कलर अर्थात कोलटार (कृतिम) रङ खानको लागि तयार पारिएको खाद्य पदार्थमा प्रति किलो दुई सय मिलिग्राम नबढाई प्रयोग गर्न सकिन्छ ।
कोलटार रङ आइसक्रिम, चीज, फूलबाट बनेका परिकार, बिस्कुट लगायत पकाएर खान नपर्ने १० खाद्य पदार्थमा मात्र प्रयोग गर्न पाइन्छ । पकाएर खाने खाद्य पदार्थमा कोलटार रङ्ग निधेष गरिएको आचार्यले बताएकी छन् ।
नवलपुरका डा. विष्णु कँडेलका अनुसार यसरी खानामा प्रयोग गरिएको रंगले शरीरका विभिन्न भागमा असर गर्ने गर्छ ।
केमिकलको प्रकृतिअनुसार शरीरमा यसको असर देखिन्छ, छालामा समस्या देखिन्छ, पेटको आन्द्रा, मृगौलामा समस्या हुन्छ र अन्त्यमा क्यान्सरसम्म भएर मानिसको मृत्यु हुन सक्ने डा . कँडेलको भनाइ छ ।