© २०२३
प्युठान, १४ भदौ ।
उखानै छ–‘बाह्र वर्षपछि खोला पनि फर्कन्छ ।’ तर झण्डै ३ गुणा बाह्र वर्ष अथार्त ३५ वर्षमा उनी फर्किए । बैंशमा हराएका उनलाई आमाले एकछिन हेरीरहिन, झण्डै चिनिनन् । बुढ्यौली शरिर बोकेर फर्किएका गौमुखी गाउँपालिका–४ खोलावाङका ५७ वर्षीय किर्तिमान सुनार ३५ वर्ष पछि घर भदौ ११ गते मंगलबार नेपाल आइपुगेका छन् ।
२२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका थिए । उनी फेसबुकका माध्यमबाट घर आईपुगेपछि परिवारमा खुसी छाएको छ । एक महिना अघि स्थानीय युवक मोहन सुनारसँग फेसबुकमा भेट भएपछि किर्तिमानको पुनः पारिवारिक पुनर्मिलन भएको हो ।
भेट्ने आशा मारेको छोरा ३५ वर्षपछि सकुसल घर आउँदा खुसी छाएको किर्तिमानकी ८२ वर्र्षीय आमा चिमकली सुनारले बताइन । ‘सम्झना र चिन्ताले आशु बगाउँदा बगाउँदा ३५ वर्ष पुगेछ’ आशु बगाउँदै चिमकलीले भनिन्,‘बेपत्ता छोरो आएपछि खुशीले मर्न पाउने भएँ भन्ने ठानेकी छु ।’ गरिबीले सानै उमेरमा भारतमा रोजगारीका लागि जाने गाउँको बाध्यता थियो । त्यहि बाध्यतालाई स्विकार्दै भारतमा पुगेका किर्तिमान भारत पुगेको चार वर्षसम्म परिवारको सम्पर्कमा थिए ।
गाउँका साथीसंगी नातेदार मार्फत पत्र आदान प्रदान भइरहेको थियो । तर अचानक सम्पर्क बिहिन हुन पुगे । लामो समय सम्पर्क बिहिन भएपछि परिवारले भेटिने आशा मारिसकेको थियो । किर्तिमानको परिवारमा अहिले खुशीयाली छाएको छ ।
किर्तिमानले ठेगाना र बसाई फेरिएपछि सम्पर्कमा आउन नसकेको सुनाए । भारतको दुर्गम मानिने आसाम तेजु गाउँमा गएपछि आफन्त र साथीभाइको सम्पर्क टुटेको बताए । सामाजिक सञ्जालमा जोडिएपछि घर आउन सकेका हुन् । घरमा अहिले किर्तिमानलाई भेट्न र हेर्न आउने आफन्त मात्र होइन, छिमेकी र साथिभाईको समेत लर्को लागेको छ । लामो समयमापछि पारिवारिक पूर्नः मिलनले खुशी लागेको किर्तिमानको भनाइ छ ।