© २०२३
शहर र तराई तथा मधेशमा बढ्दो बसाईसराईले पहाडको अवस्था विकराल बन्दै गएको छ । पहाडका बस्ती रित्तिदै गएका छन । घरमा तालाचापी लगाएर मुग्लान पसे सरह पहाडका वस्ती सुनसान बन्दैछन् । यो एकदमै विकराल र गंभीर अवस्था हो । अर्को बिडम्वना के छ भने एउटा छिमेकी बसाई सरेपछि नजिकको अर्को घरको परिवार पनि बाध्यताबस बसाईसराई गर्न बाध्य हुन्छ । किनभने पहाडको भौगोलिक संरचना नै त्यस्तै छ । त्यसै त सुनसान बन्दै गएका पहाडका बस्ती बसाईसराईको ठूलो जोखिममा छ । पहाडमा अझैपनि अर्मपर्म चल्छ । आपसी सहयोग, मर्दापर्दा, साह्रोगाह्रो पर्दा छिमेकीको सहयोग ठूलो कुरा हो तर शहर र तराईमा त्यो दिवा स्वप्नामात्रै हो । तरपनि मानिस पहाड छोड्न बाध्य छ । त्यसका पछि धेरै कारण छन । सुखद भविष्यको सपना एउटा होला । आफ्ना छोराछोरीको भविष्यको कुरा होला । पहाडमा रोजगारीको अवसर नै छैन भन्दा हुन्छ । धेरै सपना बोकेर पहाड खाली गर्दै मानिस तल झर्दैछन् । राष्ट्रिय तथ्याँकले पनि यही दारुण अवस्था देखाएको छ । यही बुटवलको छिमेकी पाल्पाको निस्दी गाउँपालिकाको मित्यालको अवस्था बसाईसराईका कारण भयावह छ । त्यहाँका बासिन्दा पहाडको थात थलो सबै छाडेर तराई झरेका छन । पाल्पा जिल्लाको कर्णाली भनेर चिनिने निस्दी गाउँपालिकाको मित्याल, ज्यामिरे, अर्चले जस्ता गाउँ बस्तीबाट भावी सन्ततीको रोजगारीको अवसरसगैं शिक्षा र स्वास्थ्यको सहज पहुँच खोज्दै तराई झर्नेहरुको संख्या बढिरहेको छ । बसाईसराईको मूख्य कारण आफ्ना सन्तानको सुखद भविष्यको खोजी पनि एक हो । पाल्पाको यी क्षेत्रमा सुबिधा भन्ने कुन चराको नाम हो भन्ने नै छैन । जीवनयापनका लागि न्यूनतम आवश्यकता सडक, बिजुली, पानी, स्वास्थ्यको पूर्वाधार नै छैन । अनि मानिस कसरी र कतिञ्जेल अनकन्टार जीवन बाँच्न सक्छ ?
श्रीमान् वैदेशिक रोजगारीकोक्रममा मलेसिया पगेर कमाउदै रमाउदै गर्न थाले पछि पुरानो गाउँ बस्ती सबै बिक्री गरेर देवदह नगरपालिकाको खैरेनी बसाई सराई गरेकी बिष्णु राना पछिल्लो बसाईसराईको एक उदाहरण पात्र हुन । उनीहरुको भनाईमा गाउँमा अवसरसँगै संभावना नै छैन । त्यसैले अवसरको खोजीसँगै आफ्ना बाल बच्चाको भविष्य सुनिश्चितताका लागि शहर झरेर सानो तिनो व्यवसाय गर्नु बाध्यतामात्र होइन परिवन्द पनि हो । विडम्वना नै भन्नुपर्दछ– मुलुकमा २०४६ सालको आन्दोलनसंगै नेपालमा राजनैतिक व्यवस्था फेरियो । त्यसपछि लोकतन्त्र हुँदै मुलुकमा गणतन्त्रमय बन्यो तर अहिलेसम्म पहाडका गाउँको विकासमा कसैको चासो भएन । सरकारले पनि पहाडी क्षेत्रमा पूर्वाधारको कुनै पहुँच पु¥याएन । राजनैतिक दलहरुले पाँच पाँच वर्षमा आउने निर्वाचनमा बिकाससंगै रोजगारीको मुल फुटाउने आश्वासन मात्र दिने प्रवृतिका कारण गाउँबाट अधिकाँश मानिस बसाई सराई गरेर तराई झर्ने क्रम बढेको स्थानीय उदाहरण नै बनेका छन ।
एकातिर पहाडको स्थिति शून्य बन्दै छ भने शहर तथा तराई बढ्दो जनसंख्याका कारण थप चापमा छ । बढ्दो बस्तीका कारण रहेको सुविधामा कमी आउने अवस्था देखिएको छ । यद्यपि अवसर भएको स्थानमा बसाइँसराई संसारभरकै प्रवृत्ति हो । अझ आन्तरिक बसाइँसराइ नेपालजस्ता विकासोन्मुख राष्ट्रका निम्ति प्रमुख समस्याका रूपमा रहँदै आएको छ । विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न उपलब्धताजस्ता अन्य न्यूनतम सुविधाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रबाट सुविधासम्पन्न सहरी क्षेत्रमा बसाइँसराइ तीव्र गतिले वृद्धि भइरहेको तीतो यथार्थलाई अव मनन गर्नु जरुरी छ । बसाइँसराइको यही क्रमसँगै पहाडी जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक देखिनु चुनौतिको विषय हो । पहाडलाई खाली र रित्तो वनाउन नदिनेतर्फ अवको पहल जरुरी छ ।