© २०२३
उम्मेदवारहरु यतिबेला भोट माग्न जनताका घरदैलोमा जानेक्रम सुरु भएको छ । घरदैलो गर्दैगर्दा जनतालाई उम्मेदवारहरुले नानाथरी आश्वासन दिने गरेका छन । त्यसमा विकासको एजेण्डा प्राथमिकताका साथ उठ्ने गर्दछ । सडक र स्वास्थ्यलाई उम्मेदवारहरुले प्राथमिकतामा राख्दै आएका छन । दलका नेता र उम्मेदवारहरुले चुनावी नारामा जनतालाई आश्वस्त पारिरहेका बेला लुम्विनी प्रदेशका पहाडी जिल्ला रोल्पाका दुर्गम क्षेत्रमा बस्ने महिलाहरु प्रसव पीडामा छटपटाउँदै गर्दापनि स्वास्थ्य सेवा पाउँदैनन् । उम्मेदवारहरु घरघरमा सडक पु¥याउने प्रतिवद्धता जनाउँछन तर महिलाहरु विरामी हुँदा डोकोमा बोकिएर स्वास्थ्य चौकी जान विवस छन् । स्वास्थ्यको पहुँच रोल्पाली महिलाका लागि आकासको फल आँखातरी मर जस्तै भएको छ । एकातिर रोल्पामा नेताहरु घरदैला गर्दैछन अर्कोतिर एम्बुलेन्सको अभावमा गर्भवती महिलाहरु प्रसव पीडामा छटपटिदै डोकोमा स्वास्थ्य चौकी पुग्न विवस छन । धेरै गर्भवती स्वास्थ्य चौकी जाँदैगर्दा जंगलमै सुत्केरी हुन विवस छन । पर्याप्त स्वास्थ्य उपचारको अभावमा धेरै गर्भवती महिलाहरु सुत्केरी हुँदैगर्दा बढी रक्तश्राबका कारण ज्यानै गुमाउन विवस छन । उदाहरणकै लागि रोल्पाको थवाङ गाउँपालिका ४ उवाकी इलासी रोका मगरलाई हेरे पुग्छ । परिवार र आफन्तको सहयोगमा दिनभरीको पैदलयात्रा पछि थवाङ पु¥याइएकी उनलाई जलजला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ भर्ना भईन । बिडम्वना हाम्रो देशका शहरमा त भरपर्दो स्वास्थ्य सुविधा छैन । दुर्गमको रोल्पा त्यो पनि ग्रामिण क्षेत्रको अवस्था झनै कस्तो होला ? त्यहाँ उनको उपचार हुन सकेन । थप उपचारका लागि सदरमुकाम लिवाङ आउँदै गर्दा उनी बाटैमा सुत्केरी भईन । नेपालका पहाडी जिल्लाका धेरै सुत्केरीहरुको बाटोमै सुत्केरी हुनुपर्ने बाध्यताको पछिल्लो उदाहरण हुन इलासी रोका मगर । यस्ता धेरै घटना छन– लुम्विनी प्रदेशकै पहाडी जिल्लामा । विडम्वना हरेक चुनावमा यो समस्या चुनावी नारा बन्छ तर चुनाव जितेपछि यो नारा अर्को चुनावका लागि अर्को नारा बन्दै आएको छ । नारामाथि नारा पहाडी जिल्लाको यथार्थ हो । नारा पूरा हुने कहिले ? गर्भवतीले कहिले पाउने सुलभ प्रसुती सेवा ? वास्तवमै पहाडी जिल्लाका महिलाहरुले कहालीलाग्दो पीडा सहनु परिरहेको छ ।
नेपालमा पटकपटक राजनीतिक परिवर्तन हुने तर विकास हुन सकिरहेको छैन किन ? नेपालको सन्दर्भमा यो गम्भीर चिन्ताको विषय बनेको छ । समाज विकासको सामान्य नियम के हो भने प्रचलित शासन प्रणालीअन्तर्गत समाजमा देखिएका समस्याहरूको समाधान नहुँदा राजनीतिक परिवर्तनको बाटो खोजिन्छ । नेपालले यस्तो बाटो धेरैपटक खोजिसकेको छ । तर समस्या उस्तै छ । राजनीतिक परिवर्तन, विकास र सुशासनबीच विरोधाभास पछाडिको मूल कारण राजनीतिक नेतृत्वको प्रवृत्ति र संस्कारमा देखिएको गम्भीर विचलन हो । शासन सत्तामा पुगेपछि विगतकै पद्धतिबाट नै आफ्नो निहित स्वार्थ पूरा गर्नतर्फ लागेर नयाँ सुधारका लागि नेताहरुमा इमानदार प्रयास नै भएन । त्यसैले हाम्रो मुख्य चुनौती नै राजनीतिक परिवर्तन र विकास एवं सुशासनबीचको विरोधाभासपूर्ण अवस्थालाई कसरी सुल्झाउने भन्ने नै हो । राजनीतिको नयाँ प्रणालीमा देश अघि बढे पनि विकास र सुशासनको पाटो रूपान्तरणको दिशामा अघि बढिरहेको छैन । बरु उल्टो राजनीतिक नेतृत्वमा पुरानै भ्रष्ट र कर्मकाण्डी कर्मचारीतन्त्रको आड लिने र जनताको चाहना र आवश्यकतालाई तिरस्कार गर्ने पुरानै प्रवृत्ति दोहोरिइरहेकोे छ । कस्तो विडम्वना १ नेता र उम्मेदवारहरु फूलमाला लगाएर जनताको घर घरमा पुगेर विकासको नारा लगाउँदै भाषण गर्दै भोट मागिरहेछन । जनता भने स्वास्थ्यको आधारभूत आवश्यकताबाटै बञ्चित भैरहेका छन । नेपालको संविधानले नै ग्यारेन्टी गरेको स्वास्थ्य सेवा पाउने अधिकारबाटै बञ्चित भैरहेका छन । रोल्पाकी इलासी रोका मगरको नियति अरु गर्भवती महिलाहरुले भोग्नु नपरोस् । सरकार आँखा खोल् ।