© २०२३
पाल्पा, २५ साउन ।
सानो पानीको पोखरी, त्यसमाथिको खम्बामा दौरा, सुरुवाल, कालो कोट, शिरमा पाल्पाली ढाका टोपीले सजिएर अविछिन्न रुपमा तानसेन नगरपालिकाको हरेक गतिविधिलाई नियालिरहेको तत्कालीन राजा विरेन्द्रको पूर्णकदको शालिक । पानीको वरीपरी सदावहार सुगन्ध छर्ने गुलाफको फुललाई साक्षी राखेर क्यामेरामा तस्विर कैद गरेकी गुल्मीकी मुझुङकी पार्वती गौतमसंग पुरानो तस्वीर जस्ताको तस्तै रहेको छ । उच्च शिक्षा हासिल गर्न २०४४ सालमा तानसेन बहुमखी क्यापसमा अध्ययन गर्ने क्रममा तानसेन नगरपालिका नजिकमा रहेको विरेन्द्र फुलबारीमा बिदा तथा फुर्सदका दिनमा यसरी घुम्न निस्कँदा राजा विरेन्द्र र वरीपरी रहेको ५२ प्रजातीका गुलाफका फुलहरु साक्षी राखेर क्यामेरामा तस्विर कैद गर्नेको संख्या तत्कालीन समयमा भिड नै लाग्ने गरेको थियो । अत्यन्तै मनमोहन वातावरणमा रमणीय स्थानमा शान्त स्वभावका राजा विरेन्द्रको शालिकले आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि आकर्षणको केन्द्रबिन्दु नै बन्न सफल भएको फुलबारी यतिखेर हेर्दाहेर्दै र देख्दादेख्दै उजाडिएको अवस्थामा रहेको उनी बताउँछिन् । गौतम मात्र नभई फुलबारीलाई यतिखेर नजिकबाट हेर्नेहरु भन्छन्–“तानसेन नगरपालिकाले माल पाएर चाल पाएन ।”
मुलुकमा राजनैतिक परिवर्तन हुनु अगाडि विरेन्द्र फुलवारी क्यालेण्डर, पुस्तक तथा कापीका आवरण तस्विरका रुपमा प्रकाशन हुने गरेको थियो । २०४६ सालको राजनैतिक परिवर्तन पछिका समयमा फुलबारीको संरक्षण हुन नसक्दा खण्डहरमा परिणत हुन पुगेको हो । २०३६ सालमा तत्कालीन नगर पञ्चायतका प्रमुख विन्दु प्रसाद नेपालीले राजा विरेन्द्रको ३९ जन्मोत्सवको अवसरमा पूर्णकदको शालिक निर्माण गराउन लगाएका थिए । यति मात्र नभई फुलबारीमा ५२ प्रजातीका गुलाफका फुलहरु लगाएका थिए । तत्कालीन समयमा फुलबारी प्रमुख आकर्षणको केन्द्रबिन्दु नै भएको स्थानीय समाजसेवी बुद्धिप्रसाद शर्मा बताउँछन् ।
राजा विरेन्द्र ३९ वर्ष पुगेको अवसरमा निर्मित विरेन्द्र फुलबारीको २०३७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादु थापाद्वारा उद्घाटन भएको संस्मरण आजसम्म पनि ताजै भएको स्थानीयहरु बताउँछन् ।
मुलुकमा प्रजातन्त्रको पुनर्वहाली पछिका समयमा यसलाई संरक्षण गर्नतर्फ ध्यान पुग्न नसकेको पुराना पुस्ताकी गंगा माया महर्जन बताउँछन् । त्यस समयमा फुलबारीको हेरचार गर्ने माली नै थिए । पछिल्ला वर्षहरुमा नगरपालिकाले निरन्तता दिनेतर्फ भन्दा ध्वस्त बनाउनेतर्फ केन्द्रित हँुदा विगतमा पूmलका बोट भएको ठाउँमा अन्य वनस्पतीले ढाकेको उनी बताउँछन् । स्थानीय सरकारले नै यसको स्वामित्व लिनुपर्ने थियो । तर मुलुकमा बहुदलीय व्यवस्थाको समयमा पञ्चायती फुलबारी भन्ने नकारात्मक मानसिकताको विकासको कारण नगर सरकारले ध्यान नदिनु भनेको माल पाएर चाल नपाएको भएको स्थानीय बताउँछन् । “विकासको लागि हामीलाई जुन व्यवस्था भएपनि हुन्छ र व्यवस्था आफैमा नराम्रो होइन, नराम्रो त हाम्रो सोंच रहेछ । पुराना पुस्ताले साझा अवधारणा राखेर बनाएको कुरा नयाँ पुस्ताले लत्याएको छ”–स्थानीय तथा पुराना पुस्ताका सुर्य बहादुर बोहरा भन्छन्् ।
बहुदलीय व्यवस्थाको पुनः आगमनपछिका समयमा तानसेन सरकारले संरक्षण गर्नुको सट्टामा मेला तथा महोत्सवको आयोजना गर्दै आएको पाल्पा उद्योग वाणिज्य संघको मेला तथा महोत्सवमा टिकट घर बनाउन दिनु नै गलत भएको स्थानीयहरु बताउँछन् ।
माओवादीको सशस्त्र द्वन्द्वको कालमा समेत तानसेनबासीले जोगाएर राखेको शालिक मेला महोत्सवको अवसरमा उपयोग गरे वापत उद्योग वाणिज्य संघले संरक्षण गर्नेतर्फ अग्रसरता त लियो नै । शालिकमा रंग सबै उडेका र उक्किएका थिए । झण्डै सात लाख खर्चिएर रंग रोगन गरेको राजु महर्जन बताउँछन् ।
स्थानीयहरुको तर्फबाट संरक्षणतर्फ पटक पटक दवाब दिन लागेपछि पाल्पा उद्योग वाणिज्य संघसंग हातेमालो गर्ने उद्देश्यले गत फागुन २५ गते सम्झौता भएको छ । अव सम्झदारीमा यसको संरक्षण र विकास हुने नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ बताउँछन् । “यसको संरक्षण गर्नु पर्ने थियो । यसलाई पुर्णरुपले बेवास्ता गरिए पनि अबका दिनहरुमा यसलाई राम्रो संग हाम्रो बनाउन लागिने छ”–प्रमुख श्रेष्ठ भन्छन् । नगर सरकारको आँखा अगाडि नै रहेको फुलबारी यतिखेर डम्पिङ साइट बन्न पुगेको छ । मुख्य गेट तथा प्रवेशद्वारमा नै अस्तव्यस्त रुपमा सार्वजनिक तथा निजी सवारीका साधनले छेकिएर पार्किङ गरिनुले पनि यसको शोभामाथि आँच आउन पुगेको स्थानीयहरु बताउँछन् ।
उद्योग वाणिज्य संघको आम्दानीको मुख्य श्रोत भनेको मेला तथा महोत्सव हो । संघले मेलाको आयोजना नगरेको धेरै भयो । कहिले टुडिखेल संरक्षण, कहिले राजनैतिक पूर्वाग्रहका कारण मेला आयोजना गर्न दिइदैन । पछिल्लो समयमा नगरपालिकाले आफै मेलाको आयोजना ग¥यो जसले गर्दा आम्दानीको बाटो बन्द भएको संघका एक सदस्यले बताए ।
उद्योग संघका अध्यक्ष शैलेन्द्र भट्टराई भने नगरपालिकासंग भएको सम्झौता कार्यान्वयन गरिने दावी गर्छन् । सम्झौता कार्यान्वयन गर्न यसपटक वर्षातका कारण गर्न सकिएन । वर्षात सकिना साथ काम अगाडि बढ्ने छ । यसमा शंका नगर्न उनी आग्रह गर्छन् । फुलबारी भनेको नगरबासीको मात्र नभई मुलुककै गहना हो । केही वर्ष सम्म यसको अवस्था वेवारिसे जस्तै भयो । नगरपालिकाको पनि ध्यान गएन । संघको सामाजिक उत्तरदायित्व अनुरुप रंगरोगन गरियो । २०६२ सालको माघ १८ गते तत्कालीन विद्रोह समूहले हानेका गोलीका डोवहरु थिए शालिकमा । त्यसलाई पुरानो अवस्थामा ल्याउन देखि धेरै काम गरेको उनी बताउँछन् ।
नगरपालिकासंग तलब खाने सरसफाईका क्षेत्रमा काम गर्ने कामदारको कमी छैन । दुई जना कामदारले २ दिनमा सफा त बनाउन सक्थे । सामान्य कुरामा समेत ध्यान नदिनु भनेको फुलबारीप्रति नगरपालिकाको हेपाहा प्रवृत्ति गएको स्थानीयहरु बताउँछन् । यस्ता मसिनो कामबाटै पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने पर्यटन व्यवसायी राजु शाह बताउँछन् ।
ृ