© २०२३
मुलुकको ४५ औं प्रधानमन्त्रीको रूपमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले २०८१ साल असार २९ गते पद तथा गोपनीयताको सपथ लिनु भयो । लगत्तै अन्य दुईजना उपप्रधान मन्त्री र १९ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएपछि पहिले बनेका सरकार भन्दा यो सरकार पृथक देखियो । पृथक के मानेमा भयो भने अरू प्रधानमन्त्रीले सपथ लिएको साता दश दिनसम्म पनि मन्त्रीहरू विहीन अवस्थामा एक्लैले जिम्मेवारी वहन गर्नुपर्दथ्यो । तर यसपटक भने सबै मन्त्रालयले मन्त्री पायो र मन्त्रीहरूले सोही दिनमा पदभर ग्रहण गरेर पद वहालीको हस्ताक्षर गर्नु भएको छ भने सन्ध्याकालमा मन्त्री परिषदको बैठक बसेर केही महत्वपूर्ण निर्याण लिन पुगेको हो । यसमा श्रावण १८ गते तीन जना राज्यमन्त्री थप गरेर अव सरकारले पूर्णता पाएको छ । संविधान अनुसार मन्त्रीको संख्या पूरा भएको छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यसअघि तीनपटक प्रधानमन्त्री भइसक्नु भएको छ । यसअघि २०७२ साल असोज २४ गते संसदबाट निर्वाचित भएर २५ गतेका दिन सपथ लिनुभएको हो । त्यस पटक भारतले अघोषित रूपमा नाकावन्दी गरेर केपी ओलीलाई सास्ती दिएको थियो । अर्थात २०७२ साल माघ ५ गते मन्त्री परिषद गठन भएको सय दिन पुग्दासम्म पनि नाकावन्दी नहटेको अवस्था रह्यो । यसै नाकावन्दीमा दह्रो अडान लिएका कारणले केपी ओलीका अगाडि हाई थपिएको थियो अनि हाई केपी ओली बन्नुभएको थियो । त्यसबखत आम नेपाली नागरिकको साथ र सहयोग रह्यो । ओलीले पनि अभाव खट्किन नदिन भरमग्दुर प्रयत्न गरेको पाइयो । यो सरकारमा माओवादीको समेत सहभागिता थियो तर माओवादी दलले एमालेलाई विचमा धोखा दिएर अविश्वासको प्रस्ताव अगाडि सारेपछि केपी ओलीले २०७३ साल श्रावण ९ गतेका दिन पदबाट राजिनामा दिनुपरेको थियो । यसै क्रममा श्रावण १९ गतेका दिन ने.का.संग गठजोर गरेर ३९ औ प्रधानमन्त्री पदमा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नु भएको थियो । यो समयमा पनि केपी ओलीलाई ठोसरूपमा काम गर्न दिइएन । २०७४ फागुन ३ गतेका दिन नेकपा माओवादी केन्द्रसंग चुनावी मोर्चा बनाएर लडेका वामपन्थीहरूको बहुमत आए पछि केपी शर्मा ओली मुलुकको ४१ औं प्रधानमन्त्री बन्नुभयो । सरकार बनेको केही दिन वितेपछि पुष्पकमल दाहाल प्रचण्डले ओली प्रति छिर्की लगाउन शुरु गर्नुभयो ।
केपी ओलीको लोकप्रियता देखेर माधव नेपाललाई पनि सैह्य भएन अनि त प्रचण्डसंग काँध मिलाएर पार्टीको निर्वाचित अध्यक्ष, संसदीय दलको सर्वसम्मत चयन भएको नेता, मुलुकको प्रधानमन्त्रीका विरुद्धमा गर्न सकेजति हर्कत गर्नुभयो । अन्तमा केपीलाई एक इन्च पनि खस्काउन नसके पछि पार्टी फुटाएर आफ्नै सरकारका विरुद्धमा मत हाल्नुभयो । नेकपा एमाले र माओवादी केन्द्र दुवै दल मिलेको अवस्थामा सबैतिरबाट सहयोग पाएको भए साँच्चिकैको कम्युनिष्टले चलाउने सरकारको प्रतिफल नागरिकका पोल्टामा पर्ने थियो । यसपटक के पी ओलीलाई चारैतिरबाट नाकावन्दी गरेर नपुगेर माइतीघर मण्डलामा प्रचण्ड र माधव नेपलको जमात पुगेर “हामी यहाँ छौ” भनेर धर्ना दिन समेत चुक्नु भएन । संसदीय दलको नेता, पार्टी अध्यक्ष, देशको प्रधानमन्त्री समेत रहेको व्यक्तिलाई प्रचण्ड र माधव नेपलको अगुवाईमा साधारण सदस्यबाट समेत निलम्वन गर्ने सम्मको काम भयो । पार्टी बचाएर राख्नु की कार्यकर्ता बचाएर राख्नु कि देशको दैनिक कामकाजमा ध्यान दिनु कि विकास निर्माणमा ध्यान दिनु । कतैबाट पनि बाटो खुला रहेन । यसरी केपीलाई नाकावन्दी गरेर दुवै नेता र उहाँहरूका आसेपासे त रमाउनु भए होला तर देशको निम्ति यो ठूलो घाटा थियो र भयो त्यही ।
ओलीलाई खस्काउने नाममा प्रचण्ड र माधव नेपालले बहादुरीका साथ चुनावमा नेपाली काँग्रेससंग एकता गर्नुभयो । पाँच दलको एकताका वावजुद पनि एमालेले सानदार जीत हात पारेको कारणले अहिले संसदमा दोस्रो ठूलो दल बन्न पुगेको छ । केपी ओलीको आफ्नै र पार्टीका केही नेता कार्यकर्ता सबैको दूरदर्शीताका कारण वर्तमान गठवन्धनको सरकार बनेको छ । प्रचण्डका हातमा अव हिंजोको जस्तो बज्र (इन्द्रको मुख्य हतियार) पनि छैन । अब त उहाँले मनगढन्ते कुरा गरेर दिन विताउन लाग्नुभएको छ भने माधव नेपाललाई आफ्नै धोती स्याहर्न ठिक्क भइसकेको छ । अव उहाँले आफ्ना कार्यकर्ता कसरी बचाउने भन्ने सुर्ता छोडनु भयो भने केही समयभित्र अहिले समाजवादीको केन्द्रीय कमिटीमा गएका सहित धेरैजसो नेता कार्यकर्ता एमालेमा फर्किसकेका हुनेछन् । यो धोती स्याहार्नु कि एमालेलाई प्रहार गर्नु ? माधव नेपाललाई पार्टी फुटाएको सजाय भोग्न बाँकी छ । यो कुनै दिन भोगेको देख्ने अभिलाषा बोकेका नेता तथा कार्यकर्ता जिउँदै रहनेछन् । पहिलो केपी ओलीलाई उखान टुक्का भन्ने भनेर कसैले निन्दा गर्छन । टुक्का भन्न त सीप चाहिन्छ । सीप भएकाहरूले टुक्का भन्ने गरेमा केही फरक पर्दैन । दोस्रो उनले आँङ भन्दा टाँग ठूलो बनाउँछन् पनि भन्छन् र तेस्रो सपना बाँड्ने नेता पनि भन्छन् । यो सही पनि हो । उनले टाँग ठूलो बनाउँछन र त सुरुङ बनाउने कुरा गर्दछन्, पानी जहाज ल्याउने कुरा गर्छन् । रेल गुडाउने कुरा गर्छन । यसरी सपना नदेखिकन कसरी नयाँ कुरा प्राप्त हुन्छ ? प्रधानमन्त्री भएको १५ दिनमा नयाँ सपना आइसकेका छन् । अव केपी ओली र सरकारको ध्यान भनेको एक दृष्टि (अर्जुन दृष्टि) का साथमा सुसाशन, विकास निर्माणमा लाग्ने हो भने तत्काल उनको कार्यमा कतैबाट कसैले घुन पुत्ला लगाउन सक्ने छैन ।
अब प्रचण्डको फत्फत्को कुुनै तुक छैन । उहाँको कार्यशैलीबाट वाक्क दिक्क भएका नेता कार्यकर्ताको साउतीलेले तल्काल पार्टी भित्र दरार पर्ने चर्चा चल्दैछ । माधव नेपालले आफ्नो धोती खुस्कनबाट बचाउन सक्नु भयो भने ठूलो उपलब्धि त्यही हुने छ । त्यत्रो तामझामका साथ गरिएको अधिवेशनले केन्द्रीय कमिटी तयार गर्न सकेन अनि ३ जना नेताको पोल्टामा हालेर विधान उल्लंघन गरेर भए पनि केन्द्रीय कमिटी तयार भएको छ । जुन पार्टी पाँच दलको गठवन्धन गर्दा पनि राष्ट्रिय पार्टी बन्न सकेन । अव के साँच्चि एक्लै चुनावमा होमिनु भयो भने एक सिट ल्याउन सफल हुनुहोला ? यो कुनै गलत नियतका साथ भनिएको होइन । भर्खरै सम्पन्न दुईवटा उपनिर्वाचनले समाजवादी पार्टीको सक्कली रूप त देखाएको छ त । यो कुरा कुनै पूर्वाग्रही भएर भनिएको होइन । उहाँहरूको चित्र जसले हेर्न चाहे पनि यही देखिने छ ।
यतिवेला केपी ओलीको काँधमा आएको जिम्मेवारी अरूलाई गाली गलौच गरेर पूरा हुनेछैन । नाङ्लो ठटाउनेहरूले ठटाइरहुन, भुक्नेहरू भुकिरहुन त्यसका पछाडि नलागिकन आफ्नो दूरदृष्टि प्रयोग गरिरहनु पर्दछ । यसपटक केही गरेर देखाउन सकिएन भने मिसन चौरासी नारा जति पटक सुनाएपनि केही अर्थ रहने छैन । अर्थ सहित देखाउनका लागि पहिले भने जस्तै वर्तमान सरकारसंग अर्जुनदृष्टि नै चाहिन्छ । जहाँ गोल गर्नुपर्ने हो त्यही मात्र दृष्टिजानु मनासिव हुने छ । चेतना भयो ।