© २०२३
नवलपुर, २३ साउन ।
पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवास बजार क्षेत्रमा अहिले खानेपानीको समस्या भएको छ । भरपर्दो खानेपानी आयोजना नहँुदा र विद्युत भोल्टेज कम हुँदा ओभरहेड टङ्कीमा मोटरले पानी नतान्दा र चापाकलको पानी सुक्नाले अहिले दुम्कीवास क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीले बताएका छन् ।
बजार क्षेत्रका अधिकांश घरहरूमा ओभरहेड टङ्की मार्फत खानेपानी वितरण गरिँदै आएकोमा अहिले विद्युत् अनियमित हुने र कम भोल्टेजको विद्युत् आउने कारणले पानी वितरणमा समस्या भएको छ । कतिपय घरमा चापाकलको भरमा खानेपानी व्यवस्थापन गर्दै आएका स्थानीय सुख्खायाममा पानी नआउने र वर्षातमा धमिलो पानी आउँदा पानीको समस्या हुने गरेको स्थानीय अजित थापाले बताए ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ को राजमार्गदेखि दक्षिणतर्फ ओभरहेड टङ्की मार्फत खानेपानीको सहज व्यवस्था भए पनि राजमार्गदेखि उत्तरतर्फको क्षेत्र र वडा नम्बर २ को ज्यामिरे क्षेत्रमा खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् ।
दुम्कीवास बजार क्षेत्रमा अहिले देखिएको खानेपानीको समस्या विद्युतकै कारणले भएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । डिप बोरिङ मार्फत ओभरहेड टङ्की मार्फत खानेपानी वितरण गर्ने गरिएकोमा विद्युत भोल्टेज कम आउँदा उचाइमा पानी तान्न नसकेको कारणले अहिले अभाव देखिएको अध्यक्ष गिरीले जानकारी दिए ।
विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा विद्युतको कम भोल्टेजका कारणले उत्पन्न भएको समस्या समाधानका लागि सब स्टेसन निर्माण कार्य भइरहेको र विद्युतकै कारणले भएको समस्या यो वर्ष भित्र अन्त्य हुने गरी काम अगाडि बढाइएको अध्यक्ष गिरीले बताए ।
दुम्कीवास बजार क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि तीन वटा खानेपानी आयोजना सञ्चालन गरिए पनि प्रभावकारी रूपमा कुनै पनि आयोजना सञ्चालन हुन नसक्दा खानेपानीको अभाव हुने गरेको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दीपक पौडेलले बताए ।
दुम्कीवास खानेपानी उपभोक्ता समिति १ जोगीकुटी, दुन्चे खोला खानेपानी उपभोक्ता समिति र दुम्कीवास खानेपानी उपभोक्ता समिति १ र २ ज्यामिरे गरी तीनवटा खानेपानी आयोजना यस क्षेत्रमा सञ्चालित रहेका छन् । तीनवटै खानेपानी आयोजनालाई एकीकृत गरी प्रभावकारी रूपबाट खानेपानी आयोजना सञ्चालन गर्ने उद्देश्यले एकीकृत भेला राख्ने प्रयास गरे पनि सफल हुन नसकेको वडा अध्यक्ष पौडेलको भनाइ छ ।
दुन्चे खानेपानी आयोजना अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा वितरण गरिएको दुन्चे खोलाको पानीमा चुनको मात्रा धेरै भएकाले पाइप जाम भइरहने समस्याले गर्दा खानेपानी वितरणमा समस्या हुने गरेको छ । त्यसैगरी यो आयोजनाबाट गुणस्तरीय खानेपानी वितरणको लागि समस्या हुने तथा धमिलो पानी आउने हुँदा उपभोगमा समस्या आइरहने गरेको छ ।