© २०२३
रोल्पा,४ कार्तिक । नेपाली कांग्रेसबाट भावी मुख्यमन्त्रीको दावेदार कांग्रेसका अमरसिंह पुनलाई सत्ता गठबन्धनकै मुख्य घटक माओवादी केन्द्रका बागी उम्मेदवार दिपेन्द्र पुन टाउको दुखाई बनेका छन् । प्रदेश सभा सदस्य समेत भइसकेका पुन जिल्लामा माओवादीभित्र प्रभावशाली मानिन्छन् । यदि उनले आफ्नो उम्मेदवारी निष्कृय गराएनन् भने कांग्रेसका पुनको मुख्यमन्त्री बन्ने आशामा तुषारापात पनि हुन सक्छ ।
रोल्पामा पानी बाराबारको अवस्थामा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र पहिलो पटक गठवन्धन गरेर अघि बढेका छन । देशका अन्य जिल्लामा यस अघिका निर्वाचनमा यी दुई दल वीच गठवन्धनको अभ्यास भएपनि रोल्पामा भने यस पटकको निर्वाचनमा हुने गठवन्धन नै पहिलो अभ्यास हो ।
पहिलो पटक गठवन्धन गरेका उनीहरु मंसिर ४ को निर्वाचनमा हुने मतदानका विषयमा एकापसमा शंका उपशंकाको घेरामा रहेका छन । सत्ता गठवन्धनले प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रतिनिधि सभा र प्रदेश सभा १ नेकपा माओवादी केन्द्र र प्रदेश सभा ख नेपाली काँग्रेसलाई छुट्याएको छ । केन्द्रीय गठवन्धनको निर्णय अनुसार नै प्रतिनिधि सभामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिस्पर्धा गर्दैछन । प्रदेश सभा १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखवहादुर महरा र प्रदेश सभा २ मा नेपाली काँग्रेसका लुम्विनी प्रदेश सभापति अमरसिंह पुन चुनावी मैदानमा उत्रिएका छन ।
प्रतिनिधि सभा र प्रदेश सभा १ नेकपा माओवादीलाई सहज भएपनि प्रदेश सभा २ भने नेपाली काँग्रेसले माओवादी केन्द्रको भर पर्नु पर्ने भएको छ । रोल्पामा यस अघिका प्रतिनिधि सभा र प्रदेश सभाका सवै निर्वाचन नेकपा माओवादी केन्द्रले जितेको थियो ।
रोल्पा प्रदेश सभा २ मा पाँच दलिय गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका अमरसिंह पुन,नेकपा एमालेका प्रेमवहादुर घर्ती, माओवादी नेता दीपेन्द्र पुनले बागी उम्मेदवारी दर्ता गराएका छन । सो क्षेत्रवाट राप्रपाका सेते दमाई र राप्रपा नेपालका केशरवहादुर पुनको पनि उम्मेदवारी दर्ता भएको छ ।
रोल्पा प्रदेश सभा २ मा रुन्टीगढी गाउँपालिकाको वडा नं. ५,६,७,८ र ९, त्रिवेणी गाउँपालिका, माडी गाउँपालिका,गंगादेव गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिकाको १,२ र ३ तथा रोल्पा नगरपालिकाको ६,७ र ८ नम्वर वडा सहित जिल्लाका कुल ७२ मध्ये ३७ वडा पर्दछन ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा रोल्पा प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रले १९ हजार ४८२, नेपाली काँग्रेसले ११ हजार ७७७, नेकपा एमालेले १० हजार ६३८, नेकपा एकीकृत समाजवादीले ९२२ र स्वतन्त्रले २ हजार २३६ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा राप्रपा र राष्ट्रिय जनमोर्चाको मत ७२ मात्रै थियो ।
स्थानीय तह निर्वाचनमा दलहरुले पाएको वडागत मतका आधारमा हेर्दा नेकपा माओवादी केन्द्र पहिलो दल देखिए पनि नेपाली काँग्रेस र नेकपा एमालेले पनि सम्मानजनक मत पाएका थिए । रोल्पा प्रदेश सभा २ मा तिन वटै दलको सांगठनिक अवस्था राम्रो मानिन्छ ।
गठवन्धनको सवै मत काँग्रेस उम्मेदवार पुनले पाए उनको सहज जित हुने देखिन्छ । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको मत जोड्दा ३१ हजार २५९ हुन्छ । सो क्षेत्रमा नेकपा एमालेको मत १० हजार ६३८ मात्रै हुन्छ ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रोल्पा प्रदेश सभा (ख) भित्र पर्ने ३७ वडा मध्ये नेपाली काँग्रेसले ८, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २२ र नेकपा एकीकृत समाजवादीले १ वडा जितेका थिए ।
अमरसिंह पुन लुम्विनी प्रदेशको मुख्यमन्त्रीको वलियो आकांक्षी देखिन्छन । नेपाली काँग्रेसको प्रभावशाली नेता पुनको प्रदेश सभा यात्रामा स्वतन्त्र उम्मेदवार दीपेन्द्र वाधक नबने मुख्यमन्त्रीमा पुनको संभावना बलियो देखिन्छ ।
नेकपा माओवादीमा लामो समय विताएका र २०७४ सालको प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रवाट निर्वाचित भएका दिपेन्द्र पुन नै स्वतन्त्र उम्मेदवार भएकाले माओवादी मतदाताको भोट गठवन्धनमा नगए अमरसिंह पुनलाई जित निकाल्न निकै सकस देखिन्छ । यस्तो अवस्थामा सत्ता गठवन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
यता सत्ता गठवन्धमा रहेमा दलहरुले स्वतन्त्र उम्मेदवारी निस्कृय वनाउने प्रकृया अघि बढेको दावि गरिहेका छन । माओवादी केन्द्रका नेता दीपेन्द्र पुनको उम्मेदवारी निस्कृय पार्ने प्रकृया अघि बढेकाले केही दिनमै रोल्पामा सत्तागठवन्धन वीच एकताको सन्देश दिने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । काँग्रेस रोल्पाका सभापति किशोर आचार्यले गठबन्धनलाई माओवादीले कार्यन्वयन गर्नुपर्ने बताउंछन् ।