© २०२३
गुल्मी, ३ वैशाख । यूपी–७० नामक मदिरा (टुङकुला) सेवनबाट मानिसहरुको ज्यानै जान थालेको भन्दै गुल्मी जिल्ला भित्र बिक्री वितरण हुँदै आएका मदिराजन्य पदार्थ बिक्री वितरण तथा नियमन सम्बन्धि सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा गरिएको सदरमुकाम तम्घासमा गरिएको अन्तरक्रियामा टुङकुलाको बढी असर पश्चिम गुल्मीका पालिकाहरुमा धेरै बिक्रिवितरण हुने र मानिसहरुको ज्यान समेत जाने गरेको भन्दै यसको नियमन र नियन्त्रणका लागि अन्तरक्रिया गरिएको जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले बताए ।
यस जिल्लामा घट्ने धेरै घटना मदिरा सेवनकै कारण हुने गरेको भन्दै यसको समाधानका लागि ध्यान दिनुपर्ने टड्कारो आवश्यकता देखिएको समन्वय प्रमुख खत्रीको भनाई छ । उनले यहाँका व्यवसायिहरुसँग यसको विक्रिवितरणका लागि पूर्ण निषेध गर्न नसकिए पनि नियमन र नियन्त्रणका लागि सहजीरकण खोज्दै छलफल गरिएको जानकारी दिए ।
मदिरा सेवनकै कारण समाजमा झै–झगडा, कलह, पारिवारिक बेमेल जस्ता घटना स्थानीय तहका न्यायिक समितिमा समेत धेरै आउने गरेको यहाँका जनप्रतिनिधिहरुको निष्कर्ष छ ।
यस्तो अवस्थामा मदिरा सेवनकै कारण समाजमा हत्या, हिंसा जस्ता घटना घटेको भन्दै यसप्रति जनप्रतिनिधिहरु टुलुटुलु हेरेर बस्न नसक्ने इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।
सबैको पहुँचमा सहज रुपमा पुगेको र कम मुल्यमा सहजै उपलब्ध हुने टुङकुला सेवनले मानिसहरुको स्वास्थ्य र समाजमा समेत समस्या निम्ताएकाले यसको नियमन टड्कारो देखिएको अध्यक्ष खड्काले बताए ।
‘मदिराकै कारण सामाजिक विकासमा असर पुगिरहेको छ । न्यायिक समितिमा आउनेमध्ये ९० प्रतिशत मुद्वा मदिरा सेवनले निम्त्याएका आउने गरेका छन् ।’ अध्यक्ष खड्काले भने,–‘ घरमा अभिभावकले मदिरा सेवनकै कारण झैझगडा गर्दा उनीहरुका बालबच्चाहरु भोकै स्कुल जानू पर्ने अवस्था समेत छ ।’ यसको नियन्त्रणका लागि मदिरा सेवन नगर्ने अभिभावकका बालबच्चाहरुलाई प्रोत्साहनका कार्यक्रम गरिएको बताए । यसको समाधानका लागि सामूहिक प्रयासको खाँचो देखिएको बताए ।
रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पनि मदिरा सेवनकै कारण कतिपय परिवारका बालबालिकाहरु सडक बालबालिका रुपमा बेवारिसे जस्ता बन्न पुगेको बताए । यसको नियन्त्रण अत्यन्तै आवश्यक रहेको भन्दै मानव विकासको सूचाङ्क सुधारका लागि पनि यसको नियन्त्रण अतिआवश्यक रहेको बताए ।
मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले पनि मदिरा त्यसमा पनि टुङकुलाको सेवनकै कारण ज्यान जाने गरेको थाहा पाएपछि पालिकामा त्यस्तो मदिरा विक्रिवितरणमा कडाइ गरिएको बताए । यता सत्यवती गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष अर्जुन कनौजेले पनि मदिरा सेवनबाट ग्रसित परिवारलाई स्थानियहरुले आयआर्जनसँग जोड्न सके केही नियन्त्रण गर्न सकिने बताए ।
व्यवसायीहरुले भने मदिरा सेवनको असरका बारेमा जनचेतनामूलक कार्यक्रम गर्न सुझाव दिएका थिए । राज्यलाई ठुलो कर यसैबाट तिर्ने गरिएको भन्दै यसतर्फ पनि बिशेष ध्यान पुराउन आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय तेजेन्द्र सलामी, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा भण्डारी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक राजन भुजेल, लगायतको सहभागी रहेको थियो ।