© २०२३
वैज्ञानिकहरूका अनुसार सन् १९०६ देखि २००५ को अवधिमा पृथ्वीको औसत तापक्रम ०.७४ सेल्सियस बढेको छ । पछिल्लो सय वर्षमा पृथ्वीको तापक्रम, मौसम–चक्र र हावापानीमा निकै हेरफेर भैरहेको छ । कृषि तथा खाद्यान्न, जलस्रोत, वनजङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार लगायतका हरेक क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव पर्न थालेको छ । अन्य क्षेत्रमा जलवायु परिवर्तनका असरहरूको बारेमा निकै चर्चा हुने गरेपनि देशको सामाजिक विकासको मेरुदण्ड बनेको विद्यालय शिक्षाको बारेमा विरलै चर्चा हुने गरेको छ । यस लेखमा जलवायु परिवर्तनबाट विद्यालय क्षेत्रमा परेको यस्तै असरको बारेमा चर्चा गरिएको छ ।
नेपालमा जलवायु परिवर्तन र मानविय क्षति
नेपालले न्यून मात्रामा हरितगृह ग्याँस उत्सर्जन गरेपनि वायुमण्डलीय तापक्रम बृद्धिका् कारण प्रभावित हुँदै गएको छ । सन् १९७४–२०१४ मा नेपालको तापक्रम औसत ०.५६ डिग्री सेल्सियसले बढेको देखिन्छ । प्रक्षेपणहरूले देखाए अनुसार भविष्यमा औसत तापक्रम पनि सन् २०१६–२०४५ मा ०.९२–१.०७ र सन् २०३६–२०६५ मा १.३–१.८२ डिग्री सेल्सियसले बढ्ने अनुमान छ । अध्ययन अनुसार शताब्दीको अन्त्यसम्ममा बर्षा औसत ११–२३ प्रतिशत र औसत तापक्रम १.७२–३.५८ डिग्री सेल्सियसले बृद्धि हुने अनुमान गरिएको छ । तापक्रम वृद्धिको असर मौसमचक्रमा परेको देखिदै गएको छ । यसको कारण बाढी, पहिरो, सुख्खापन र आगलागीका घटनाहरूमा तीव्रता आउनुको साथै नेपालमा वार्षिक वर्षा–चक्रमा हेरफेर, लामो समयसम्म खडेरी पर्ने तथा तीव्र वर्षा हुने गरेको छ । पूर्वानुमान गर्न नसकिने गरि दोहोरिने बाढी पहिरो, शितलहर, लू जस्ता विपदबाट वर्षेनी ठूलो मात्रामा धनजनको क्षति भैरहेको छ । २०७६ बैशाख १ देखि २०८० चैत्र मसान्तसम्म बाढी पहिरो, शितलहर, लू जस्ता विपत्तिका ४७२३ घट्नामा १००३ जनाको मृत्यु भएको थियो । २०८१ बैशाख १ यताका ९५ दिनमा मात्र बाढी, पहिरो र भारि वर्षा जस्ता विपदका घट्नाबाट ११० जनाको मृत्यु र ११९ जना घाईते भएका छन् भने ५० जना अझै बेपत्ता छन् । दुई तिहाई मनसुन अवधि अझै बाँकी रहेकोले यो वर्ष अझै तिन गुणा क्षति हुनसक्ने अनुमान गर्न सकिन्छ ।
जलवायु परिवर्तनको असरः
जलवायु परिवर्तनले गर्दा विश्वभर विद्यालय शिक्षामा प्रतिकूल असर पर्दै गएको छ । युनिसेफका अनुसार जलवायु परिवर्तनले गर्दा हरेक वर्ष ४ करोड भन्दा बढी बालबालिकाहरू विद्यालय छोड्न बाध्य भैरहेका हुन्छन् । जलवायु परिवर्तनका असर बहुआयामिक हुन्छन् । सतही रूपबाट हेर्दा जलवायु परिवर्तनले विद्यालय शिक्षामा असर पारेजस्तो देखिदैन तर यसबाट उत्पन्न हुने हरेक विपदले विद्यालय शिक्षामा असर पुगिरहेको हुन्छ । बेमौसमी वर्षा, खडेरी, अत्यधिक वर्षा, शितलहर, अत्यधिक गर्मी जस्ता जलवायु परिवर्तनजन्य घटनाहरूले उत्पन्न गर्ने विपदहरूले गरिबी वृद्धि, रोग र किराको प्रकोप, सरसफाईमा समस्या, विद्यालय र विद्यार्थी सम्बन्धित भौतिक संरचनामा क्षति जस्ता समस्याहरू जन्माउँछन् । जसले गर्दा बालबालिकाहरूको विद्यालयमा उपस्थित हुने र पढ्ने कार्यमा अवरोध सिर्जना हुन्छ र समग्रमा विद्यालय शिक्षा कमजोर हुदै जान्छ ।
१. विद्यालय छोड्ने दरमा वृद्धि
बाढी, पहिरो जस्ता विपदबाट गरिबहरू बढी समस्यामा पर्ने गर्छन् । यसैपनि गरिब परिवारका बालबालिकाहरू विद्यालयबाट बाहिर रहेका हुन्छन् र विद्यालयमा पुगेका बालबालिकाहरू पनि साधन श्रोत जुटाउन नसक्दा विद्यालय छोड्न बाध्य हुने गर्छन् । जलवायुजन्य विपदले गर्दा गरिब परिवारहरू अझ गरिब हुदै जान्छन भने सामान्य परिवार गरिब बन्न पुग्छन् । गरिबी बढ्दै जाँदा आफ्ना सन्तानलाई विद्यालयमा पठाउन र उनीहरूको लागि शैक्षिक र अन्य साधन श्रोत जुटाउन असमर्थ हुन्छन् । विपद सिर्जित गरिबीले गर्दा बालबालिकाहरू बालबालिकाहरू विद्यालय छोडेर हातमुख जोर्नको लागि कमाउन तर्फ लाग्छन, जसले गर्दा विद्यालय छोड्ने दर बढ्दै जान्छ ।
२. भौतिक संरचनामा क्षति
नेपालका अधिकांश विद्यालयहरू परम्परागत शैली र स्थानीय सामाग्रीहरू प्रयोग गरेर बनाईएका छन् । अधिकांश ठाउँमा मानव बसोबास र खेतीपातीको लागि उपयुक्त नहुने नदी किनारा, पहाडको टाकुरा र भिरालो भुभाग जस्ता स्थानमा समुदायले विद्यालय बनाउने गरेका छन् । यि विद्यालयहरू विपदको दृष्टिले निकै जोखिमपूर्ण हुन्छन् र यस्ता विद्यालयलाई विपदबाट जोगाउनको लागि यथेष्ट साबधानी पनि अपनाईएको हुदैन । यहि कारणले गर्दा जलवायु परिवर्तनजन्य विपदबाट विद्यालयहरूमा छिटो र बढी क्षति हुने गर्छ । विद्यालय भत्कने, बगाउने, कक्षा संचालनको लागि अनुपयुक्त हुने जस्ता अवस्थामा विद्यालयहरू तत्कालै र नियमित संचालन हुन् सक्दैनन्, जसको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा पर्छ ।
३. प्रतिकूल मौसम परिवर्तनको असरः
भौतिक संरचनाहरू तत्कालिन वातावरणीय अवस्था (बर्षा, तापक्रम) लाई हेरेर बनाईएको हुन्छ । मौसम तथा जलवायु चक्रमा अनपेक्षित परिवर्तन आउँदा त्यो परिवर्तनलाई विद्यालय भवनले समायोजन गर्न सक्दैनन् । ग्रामिण क्षेत्रका अधिकांश विद्यालय भवनहरू जस्तापाताले छाएका छन् । पहाडी क्षेत्रमा चिसोलाई ख्याल गरेर कम झ्याल र मोटो भित्ता राखेर बनाएको देखिन्छ । जलवायु परिवर्तनले गर्दा अत्यधिक तातो र चिसो दुवै किसिमका दिनहरूको संख्या बढिरहेका छन् । अत्यधिक गर्मि र चिसो हुँदा विगतमा बनाईएका भवनमा बसेर विद्यार्थीहरूले पढ्न सक्दैनन् । ठूलो वर्षा, लू र शितलहर चल्दा विद्यालयमा पठनपाठन गराउन सकिदैन । यहि कारण २ दशक अघिको तुलनामा अचेल मौसमी कारणले विद्यालयहरू बन्द रहने दिनहरूको संख्या बढ्दै गएको देखिन्छ ।
४. विद्यार्थीमा शारीरिक र मानसिक असरः
कलिलो मस्तिष्कका बालबालिकामा विपदले गहिरो असर पार्ने गर्छ । विपदमा परिवारका सदस्यहरू गुमाएका बालबालिकाहरूमा मानसिक आघात पर्ने गर्छ र यिनीहरू पूर्ववत अवस्थामा फर्किन धेरै समय लाग्छ । आफैले विपद भोगेका, घाईते र अंगभंग भएका बालबालिकाहरू लामो समयसम्म पनि सामान्य वर्षा हुँदा, आकाश गड्याङगुडुङ गर्दा, हुरी चल्दा, अँध्यारो हुँदा तर्सने, आत्तिने, चिच्याउने गर्छन् । उनीहरू विद्यालय जान डराउँछन् र घरमा पनि एकाग्रताका साथ बस्न, अध्ययन गर्न सक्दैनन् । मौसमजन्य विपदका घटनाहरू बाढी, पहिरोले बालबालिकाहरू घाईते समेत भएका हुन्छन, यस्ता विद्यार्थीहरू लामो यात्रा गरेर टाढाका विद्यालयहरूमा पुग्न सक्दैनन्, जसले गर्दा उनीहरू पढाई पूरा नगरी विद्यालय छोड्न बाध्य हुन्छन् ।
५. आवागमनमा वाधाः
ग्रामिण क्षेत्रका विद्यार्थीहरूले लामो दूरी हिडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । बाटोघाटोको राम्रो व्यवस्था नभएको, खोला नदीमा पुल नभएको जस्ता कारणले विद्यार्थीहरूको आवागमन कष्टकर हुने गरेको देखिन्छ । भिरमा चिप्लेटी खेल्दै, तुईनमा झुन्डिएर्, कपडा खोलेर नदी तरेर विद्यालय जानुपर्ने बाध्यता अझैपनि धेरै ठाउँमा छ । विपदका संख्यामा वृद्धि हुँदा बाढी र पहिरो जस्ता कारण बाटो अवरुद्ध हुने, खोलामा पानीको बहाव बढेर खोला तर्न नसकिने, बाटो आंशिक वा पूर्ण क्षतिग्रस्त हुने जस्ता समस्याहरू समेत बढ्ने गर्छन् । यस्ता घटनाले विद्यालयमा अनुपस्थिति दर वृद्धि हुनुको साथै विद्यार्थीहरूलाई लामो दुरी पार गरेर विद्यालय जानुपर्ने र विद्यालय छोड्नुपर्ने बाध्यता समेत सिर्जना हुन्छ ।
६. खानेपानी/कृषिमा बढी समय खर्चः
जलवायु परिवर्तनले गर्दा देखिएका तापक्रम वृद्धि, जलचक्रमा अनियमितता, खडेरी, शितलहर, किरा फट्यांग्राको वृद्धि जस्ता कारणले गर्दा कृषि उत्पादनमा नकारात्मक असर परिरहेको छ । ग्रामिण क्षेत्रको अर्थतन्त्र कृषिमा आधारित छ । कृषि उत्पादन घट्ने बित्तिकै आम्दानीको श्रोत घट्ने भएकोले त्यसको प्रत्यक्ष असर बालबालिकामा पर्ने गरेको छ । गाउँघरमा वयस्क जनशक्ति घटिरहेको अवस्थामा कृषि कार्यलाई नियमित गर्न र बढी उत्पादन लिनको लागि बालबालिकाहरूले नै बढी श्रम गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । कृषि र पशुपालन जति कठिन हुदै जान्छ उति नै ग्रामिण क्षेत्रका बालबालिकाहरू विद्यालयमा भन्दा खेतबारी र वनजंगलमा देखिन थाल्छन, जसले गर्दा विद्यालयमा विद्यार्थीहरू अनियमित हुने र विद्यालय छोड्ने दर वृद्धि हुन्छ ।
जलवायु परिवर्तनको कारण जमिन सुख्खा हुने, पानीका मुहानहरू सुक्ने क्रम विगतमा भन्दा अहिले बढेको छ । सुख्खा र खडेरी वृद्धि हुँदा पहाडी क्षेत्रमा पानीका मुलहरू सुक्दै जान्छन, जसले गर्दा पानीको जोहो गर्नको लागि बालबालिकाहरू बढी खटिनुपर्ने हुन्छ । विद्यालयमा पानीको उपलब्धता कम हुदा विद्यार्थीहरूको पढाई प्रभावित हुन्छ । महिनावारी भएका छात्रा र शौचालय प्रयोग गर्नुपर्ने विद्यार्थीहरू पानीको कमीले गर्दा विद्यालयमा अनुपस्थित रहन र कक्षा छोड्न बाध्य हुन्छन् । पानीको कमीले गर्दा विद्यार्थीहरूको व्यक्तिगत सरसफाईमा समेत नकारात्मक असर गर्दा जसले गर्दा विद्यार्थीहरू विद्यालयदेखि टाढिदै जान थाल्छन् ।
६. बसाईसराई वृद्धिमा जलवायु परिवर्तनः
नेपालको पहाडी क्षेत्रबाट र ठूला नदी तटीय क्षेत्रबाट बसाई सरेर अन्य पालिका वा जिल्लामा बसाई सर्ने दर अन्य क्षेत्रको भन्दा बढी देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बसाई सराइ गर्नेहरूमध्ये ०.७ प्रतिशत अर्थात बसाईसराई प्राकृतिक प्रकोपको कारणले हुने गरेको देखिन्छ । जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा विपदको संख्या पनि बढ्दै जाँदा साधन श्रोतको विनास र गरिबी वृद्धिले गर्दा मानिसहरू बसाई सरेर अन्त्यत्र जान बाध्य हुन्छन र उनीहरूसंगे बालबालिकाहरू पनि बसाई सर्न बाध्य हुन्छन् । बसाईसराईले बालबालिकाको पढाई खलबलिने मात्र हुदैन, विद्यालयमा विद्यार्थीहरू नभएर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था समेत सिर्जना हुन्छ ।
हिड्नुपर्ने बाटोः
कमजोर भौगोलिक संरचना, मौसमी र जलश्रोतमा आधारित कृषि, कृषिमा आश्रित जीविकोपार्जन र कमजोर भौतिक संरचनाहरूको कारण नेपालमा जलवायु परिवर्तनजन्य विपदको संख्या वर्षेनी बढ्दैछन् र यसको चपेटामा नेपालको विद्यालय शिक्षा समेत परिरहेको छ । विद्यार्थीहरूले भोग्नुपरिरहेको गरिबी, कृषि उत्पादनमा ह्रास, खानेपानी अभाव, प्राकृतिक विपदमा वृद्धि जस्ता समस्याहरू राष्ट्रिय मुद्दा हुन् र यिनीहरूलाई छुट्टै न्यूनीकरण गर्नुपर्छ । विद्यालयहरू वातावरणमैत्री नहुनु, विद्यालय भवनले जलवायु परिवर्तनको असरलाई थेग्न नसक्नु, विद्यालय टाढा हुँदा विपदको समयमा जान नसक्नु, खानेपानीको अभावको कारण बालबालिकाहरू स्कूल जान नखोज्नु जस्ता समस्याहरू विद्यालय शिक्षासँग सोझो सम्बन्ध राख्ने मुद्दाहरू हुन् । पुराना भवनहरूको पुनर्संरचना गरेर र नयाँ बन्ने भवनलाई जलवायु परिवर्तन अनुकूल हुनेगरी बनाउन सकेमा र विद्यालयमा खानेपानीको दिगो व्यवस्था गर्न सकेमा विद्यालयमा विद्यार्थीहरूलाई सहज र सुरक्षित महसुस हुन्छ । विद्यालय क्षेत्रमा हरियाली प्रवद्र्धन, विद्यालयमा बाढी पहिरोको असर कम गर्न सुरक्षात्मक उपायहरूको अवलम्बन र पुर्व तयारि, विद्यालय पहुँचमार्गको स्तरीकरण र पुल पुलेसा निर्माण जस्ता कामहरू स्थानीय,प्रदेश र संघीय समयमै गर्न सकेमा सम्पूर्ण विद्यालयहरू जलवायु अनुकूलित विद्यालय बन्न सक्छन् । जलवायु परिवर्तनको कारण न्यूनीकरण गर्न र जलवायु परिवर्तन अनुकूलित जीवन ज्युन सिकाउन सकेमा विद्यालय र विद्यार्थीलाई विपदबाट सुरक्षित राख्न सकिन्छ ।