© २०२३
इतिहासको कालखण्डमा एक ब्राह्मण परिवारका मानिस दक्षिणतिरबाट आएर लमजुङको दुराडाँडाको पाउदी खोलाको किनारको जंगल फडानी गरी बसोबास गर्दछन् । संयोग भनौं त्यस ठाउँमा कोइरालाका रुखहरू प्रशस्त भएकोले त्यहाँका अरू मानिसहरूले उनलाई कोइराला बाजे भन्ने गर्दछन् । परिस्थितिवस केही समयपछि बसाइसराई गरी मकवानपुरमा बस्ने क्रममा दामोदर कोइराला भन्ने कुनै एक सन्तान मकवानपुर राजाका बडाकाजीसम्म हुन्छन् । त्यसै परिवारको एउटा हाँगा छुटिएर सिन्धुलीको दुम्जा भन्ने ठाउँको धरिन डाँडामा बसोबास गर्न थाल्छन् । त्यही सिन्धुलीको दुम्जामा प्रजातान्त्रिक समाजवादका सुत्रधार आन्दोलनका सुरुवाती कृष्णप्रसाद कोइरालाको जन्म हुन्छ । पछि उनी ठूलो भइसकेपछि जुद्ध शमशेरको शासनले मुलुक एउटा बन्दीगृह कारागार जस्तो भएको थियो । त्यसै अवस्थामा कृष्णप्रसाद कोइरालालाइ बेचैन असैह्य हुन्छ । पछि उनी दुम्जाबाट झरेर मधेशको बाटो हुँदै सप्तकोशीको किनारैकिनार पूर्वतिर लाग्छन । मोरङको गोग्राहामा पुगेर त्यहीँ बसोबास गर्छन् ।
गोग्राहलाई उनले विराटनगर नाम दिएर त्यस ठाउँलाई नयाँ नामाकरण गरी त्यहाँका जनतालाई अत्यावश्यक हुने स्कूल, मन्दिर, स्वास्थ्य चौकी निर्माण गरी त्यहाँको विकासमा लागि पर्छन । आफ्नो व्यवसाय पनि अगाडी बढाउँछन् । त्यस सहरलाई नयाँ बनाउन उनी निरन्तर सामाजिक सेवा सुविधाका काम गर्न थाल्दछन् । गल्लाको व्यवसाय पनि उत्तिकै राम्रोसँग अगाडि बढेको हुनाले किसानसँग गल्ला धान, गहुँ, मकै, खरिद गरी बिक्री गर्ने गर्दछन् । एकदिन एउटा अति गरिब किसानको फाटेको र च्यातिएको कपडा देखेर उनले अति भावुक भई उनी एक जोर नयाँ कपडा सिलाएर किसानलाई लगाइदिएर त्यस किसानका कपडा खोलेर पोको पारी श्री ३ महाराजलाई पठाइदिने निधो गर्छन् ।
पत्रमा लेख्छन्– महाराज यो गरिबले लगाएको भोटो कछाड फाटेका कपडा हुन । टाढैबाट हेर्नुहोला । अति फोहोर गनाउने जुम्रा लिखा परेका छन । तपाईंका जनता कस्तो अवस्थामा छन्, जनताको हालत के छ ? यस कुराको जानकारी हजुरलाई थाहा होस भनि यो कोसेली पठाएको छु भनि पत्रमा लेखि पठाइ दिन्छन् । त्यो चिठी चन्द्र शमसेर कहाँ पुगेपछि चन्द्र शमशेरले आफूलाई हिनता लज्जा महसुस गरी रिसाएर कृष्णप्रसाद कोइरालालाई देश निकाला गर्ने हुकुम भयो । उनी भारतको बनारस गएर बस्न बाध्य भए । संयोग कृष्णप्रसाद कोइरालाकि जेठी श्रीमती प्रसुति व्यथाले बितिसकेकी हुन्छिन । यो समस्या आउन सक्ने डरले कान्छी श्रीमति दिव्या कोइरालालाई प्रसव ब्यथा लागेको बेला कृष्णप्रसाद त्यसबेला शल्यक्रियाको लागि हस्पिटल लैजान्छन । त्यतिबेला अप्रेसन अति संवेदनशील, जोखिमपूर्ण र आधुनिक प्रविधि मानिन्थ्यो । बनारसको ईश्वरीय मेदान्त हस्पिटलमा भर्ना गरिन्छ । आजको ११० बर्ष अगाडि १९७१ भाद्र २४ गतेको दिन थियो । त्यसैदिन एक युगान्तकारीका सम्बाहक एक प्रजातान्त्रिक समाजवादी प्रणेता नेपाली जनताका युग पुरुष, प्रजातन्त्रका जन्मदाता विश्वेश्वरप्रसाद कोइरालाको शल्यक्रियाद्वारा जन्म हुन्छ । बीपीले आफ्नोे आत्म बृतान्तमा लेख्नु भएको छ– “म गर्भमा पनि संघर्ष गरेर जन्मे, मेरो जीवन संघर्षमै बित्छ र म संघर्ष गर्दागर्दै मर्नेछु । वीपीको नाम न्वारनमा पण्डितले चुडामणी कोइराला राखिदिनु भएको थियो । मन्दिरका गुरु पण्डितहरूले कृष्णप्रसाद कोइरालालाई सल्लाह दिए अनुसार बनारस विश्वनाथ बाबाको प्रसाद हुन् । उनको नाम विशेश्वरप्रसाद कोइराला राखिदिनुपर्छ भने अनुसार विशेश्वरप्रसाद कोइराला राखिएको हो । किनकि कृष्णप्रसाद कोइराला बनारस विश्वनाथ मन्दिर विश्वनाथ बाबाका भक्त हुनुहुन्थ्यो ।
२००८ सालमा नेपाली कांग्रेस र राणा गठबन्धन सरकार थियो । बीपी गृहमन्त्री हुनुहुन्थ्यो प्रधानमन्त्री मोहन शमशेर हुनुहुन्थ्यो । कुनै सन्दर्भमा त्यतिबेला बादबिबाद हुँदा गोर्खा परिषद गोर्खे दल (जस्तै पहिले पन्चायत अहिलेको राप्रपा) बिपीसँग आई घेराउ गर्दा बादबिबाद सुरु भयो । वीपीलाई सबैले धकेल्ने काम भयो । आक्रमण नै हुन लागेपछि अनि बीपीले बाध्य भएर आफ्नो सुरक्षाको लागि हातमा रिभल्भर हतियार (बीपि क्रान्तिकारी पनि हुनुहुन्थ्यो भन्ने सन्दर्भमा) उठाउनु भएको छ तर सुट गर्नुभएको छैन् । बीपीलाई सुन्दरी जल जेलको एउटा सानो कोठामा राखिएको थियो । एकमुठी दाउरा मुठी चावल दिइन्थ्यो । दाउराले भात पकाउँदा पानी मथ्र्यो, भात पुरा पाक्दैन्थ्यो । कोठाको एउटा कुनामा सानो प्वाल थियो । त्यसैबाट शौच गर्नुपथ्र्यो र नालीमा जान्थ्यो । त्यो प्वाल ढाक्ने दुइटा ईटा थियो । खाना पकाउँदा त्यही इटा उल्टा बनाउनु हुन्थ्यो । भात पकाएपछि चर्पीको प्वाल ढाक्नु हुन्थ्यो । कोठा गनाएर बस्न नसकिने हुन्थ्यो । भात पकाउँदा आगोले इटामा सरेका किटाणु मर्छन भन्नेमा बिश्वस्त हुनुहुन्थ्यो । पछि यस्तै दुःख कष्टबाट वीपी सिकिस्त विरामी भएको हुनाले (त्यसबेला पँचायत सरकार थियो) मर्ने बाँच्ने निधो थिएन । राजा महेन्द्रसँग कुरा पु¥याइयो कि बीपी जीवनको अन्तिम घडिमा छन भनेर ।
राजाले आफन्तलाई खबर गरिदिन हुकुम भयो । बनारसबाट आमा दिव्या कोइराला र श्रीमती सुशीला कोइराला सुन्दरी जल कारागारमा भेट्न आउनु भयो । बीपीको अवस्था एकदमै गम्भीर थियो । पुलिस अफिसरहरू आएर भने– “तपाईंको छोरा लैजानुस, जिम्मा लिनुपर्यो, त्यसैको लागि तपाईंलाई बोलाइएको हो । त्यसबेला आमाले त्यो साहस हिम्मतका साथ जवाफ दिनुभयो– यो लाज नभएको सरकार, यो अमानवीय सरकार, मेरो छोरा बिमारीले ग्रस्त भएर सिकिस्त भएको छ, उपचार गर्न छोडेर मर्न थालेपछि मलाई जिम्मा लिनुस भन्छ । मेरो छोरा मरे देशको लागि मर्छ । मलाई चिन्ता छैन । देशको नाममा मरोस् । यो पन्चे नामर्द सरकारको भन्दा मेरो छोराको इज्जत कैयौं गुणा माथि छ । यो पञ्चायती बेसरम सरकार हो, दिव्या कोइरालाले चुनौती दिदै भन्नुभयो । राजनीतिक र साहित्य दर्शन फरक धारका विषयहरूमा एकैसाथ उत्कृष्टता हासिल गर्न सक्षम ब्यक्तित्व बीपी नै हो जसले नेपालमा लोकतान्त्रिक समाजवादको स्थापनार्थ आफ्नो पूरै जीवन जनताको मुक्तिको लागि संघर्षमै समर्पण गरे । सन्. १९३० मा भारतको स्वतन्त्रता आन्दोलनको क्रममा मोतिहारीमा पक्राउ पर्नुभएको थियो । सन् १९४२ मा भारतको अंग्रेज भारत छोड आन्दोलनमा पक्राउ पर्नुभयो ।
सन् १९४५ मा भारतको हजारीबाग जेलमा तीन वर्ष जेल जीवन बिताउनुभयो । विक्रम संवत् २००३ साल कात्तिक १५ गते स्थापित अखिल भारतीय राष्ट्रिय कांग्रेसको संयोजक बन्नुभयो । विक्रम संवत् २००३ साल माघ १२÷१३ गते कलकत्ताको सम्मेलनबाट गठित नेपाली राष्ट्रिय कांग्रेसको कार्यवाहक सभापति हुनुभयो । २००३ साल फागुनमा मजदुर हड्तालको नेतृत्व गर्नुभएका कोइरालाले २००५ साल पुसमा दोस्रोपटक समातिँदा २९ दिन अनसन मरणासन्न अवस्थामा पुगेपछि रिहा हुनुभयो । २००७ सालपछि गठित (राणा–कांग्रेस) मन्त्री मण्डलमा गृहमन्त्री हुनुभयो । २००९ साल जेठमा जनकपुरमा भएको नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो । २०१४ सालमा पुन नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभयो । २०१६ जेठ ३ गते देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभएको वीपी कोइराला २०१७ साल पुस १ गते सेनाको बलमा राजा महेन्द्रले निरंकुश शासन लादेपछि आठ बर्ष सुन्दरीजलमा जेल जीवन बिताउनु भयो ।
बि.सं. २०२५ साल कार्तिक १३ गते जेलबाट छुटेपछि ८ वर्ष भारत प्रवासबाट प्रजातान्त्रिक आन्दोलनको नेतृत्व प्रदान गर्नुभएको कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फिर्ता हुनुभएको थियो । बीपी २०३६ सालको जनमत संग्रह परिणामलाई स्वीकार गर्दै लोकतन्त्रमा हारपनि स्वीकार गर्न सक्नुपर्ने कुराको सन्देश दिएर २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिस्कार अभियानको नेतृत्व गर्नुभएको थियो । २०३९ साल साउन ६ गते घाँटीको क्यान्सरबाट थला परेर ६९ बर्षको उमेरमा ४२ बर्ष अगाडि आजको दिन अर्थात साउन ६ गते बीपी दिवंगत हुनुभएको थियो । महामानव उनै बीपी कोइरालाप्रति हार्दिक श्रद्धासुमन ।