© २०२३
आज असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँहरूमा समेत विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाइँदै छ । नेपाली साहित्यका एक मुर्धन्य व्यक्ति आचार्यको जन्म जयन्तीको पावन अवसरमा काठमाण्डौं उपत्यकासहित देशका बिभिन्न क्षेत्रमा भानुको सम्झनामा माल्यार्पण तथा कवितासहितका रचना वाचन गरिदै छ । देशको शैक्षिक, प्राज्ञिक एवम् साहित्यिक जगत्मा भानु जयन्तीको बिशेष महत्व छ । भारतका दार्जिलिङ, सिक्किम, भुटान, बर्मा लगायतका देशहरूमा पनि आज भानु जयन्ती मनाइन्छ । तनहँुको चुँदी रम्घामा जन्मिएका आचार्यले नेपाली भाषा साहित्यमा मौलिकता थपे । संस्कृत भाषामा लेखिएको लोकप्रिय ग्रन्थ रामायणलाई नेपाली लोकलयमा उतारे, आम नेपालीको जनजिव्रोमा पुराउने महत्वपूर्ण काम गरे । सरल नेपाली भाषमा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको रामायण प्रस्तुत गरेर भानुभक्तले आम नेपाली जन्तालाई बिर्सनै नसक्ने सबैभन्दा ठुलो गुन लगाएका छन् ।
नेपाली साहित्यको जग बसाउने अर्थात प्राथमिक कालका विशिष्ट क्षमता र प्रतिभा भएका तिनै भानुभक्त आचार्यको जन्म वि.स. १८७१ असार २९ गते आईतवारका दिन हालको गण्डकी प्रदेश अन्र्तगत तनहँु जिल्लाको रमाइलो गाँउ चुँदी रम्घामा पिता धनन्जय आचार्य र माता धर्मावतीदेवीको कोखबाट भएको थियो । पिता धनञ्जयको जागिरे भएकोले भानुभक्तको हेरचार र शिक्षा उनकै बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । जसरी नेपाल एकीकरणको सन्र्दभमा पृथ्वी नारायण शाहले बाइसे र चोबिसे राज्यमा बिभाजन भएको नेपाललाई एकीकरण गरेर विशाल राष्टको निर्माण गरे त्यसरी नै आदिकवि भानुभक्त आचार्यले छरिएर रहेको नेपाली भाषालाई एकीकरण गरे । नेपाली साहित्यका माध्यमबाट लोकहित गर्दै सहज रूपमा समाज सुधारका सुरिलो स्वर सुसेल्दै आप्mना मनका भावना आज लाखौ नेपाली माझ पस्किएका छन् । नेपाली भाषाप्रति अगाध माया अपूर्व सेवा गरेवाफत नेपाली भाषा साहित्य संसारले उनलाई कहिल्यै विर्सन सक्दैन् । किनभने आधुनिक नेपाली भाषाको जति विकास भएको भए पनि सुरुमा नेपाली अक्षर चिनाउने र नेपाली भाषाको बाणीमा पहिलो प्राण भर्ने गुरु भानुभक्त आचार्यको क्रणबाट नेपाल र नेपाली कहिल्यै मुक्त हुन सक्दैन् । बाजे श्रीकृष्ण आचार्यका प्रभावमा साधारण शिक्षा हासिल गरेका कवि भानुभक्तलाई नेपाली वाल्मिक पनि भन्ने गरिन्छ । उनका हजुरबुवा जुम्ला जिल्लाको सिन्जा उपत्यकावाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए र बचपनमा हजुरबुवावाट राम्रो शिक्षा पाएका थिए । उनका बुवा धनञ्जय राणा शासन कालमा सरकारी जागिरमा काम गर्थे ।
नेपाली भाषाको प्रथम कवि यिनै भानुभक्त आचार्य नै हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शव्दको मानचित्रमा अभिव्यक्त गरेका छन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । हामीलाई स्कुले जिवनमा लाग्थ्यो, किन होला ? भानुभक्तलाई आदिकवि भनेर जिज्ञासा राख्ने गरिन्थ्यो । सायद कविता लेख्दा लेख्दै आधा मात्रै कविता लेख्थे होला । त्यही भएर नै आदिकवि भनिएको होला भन्ने मनमा उत्पटयाङ आउथ्यो । अहिले पढ्दै बुझदै जाँदा भानभक्तको कृति पढेर तिर्सना मेटिदैन् । जति पढयो उति रसिलो नेपाली साहित्य लेखेर हामीलाई सुम्पिएका छन् । प्राचिन कालमा कविताहरू र औपचारिक साहित्यहरू संस्कृत भाषा बुभःन र बुझाउन सक्ने ब्राहमणहरूको आबश्यकता र महत्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आफै साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाहृो हुन्थ्यो । भानुभक्तले उति बेला नै सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपाली भाषामा लिपिबद्ध गरिदिए ।
‘हुने विरुवाको चिल्लो पात भनेझै’ भानुभक्त आचार्य सानैदेखि घरमै बसेर कविता पढ्ने काममा लागिरहन्थे । भनिन्छ, उनले घाँसीवाट अर्ति पाए । घाँस काटिरहेको घासीसँग भानुभक्तले सोधे– तिमी यो घाँस लगेर के गर्छौ ? घाँसीले जवाफ दियो–“यो घाँस वेची यसबाट पाएको पैसाले म गाँउमा एउटा कुवा खनाउनेछु । म मरेर गए पनि मैले गरेको परोपकारलाई त अरूहरूले पछिसम्म सम्झेलान नि ।” घाँसीको यो कुराले भानुभक्तको दिल छोयो र असाध्यै चित्त पनि बुझ्यो । आफू बाहुनको छोरो भएरपनि केही काम समाजको लागि गर्न नसक्दा हिनताबोधको महसुस गरे । त्यसपछि घाँसीले जस्तै उनले पनि अरूको भलाई हुने केही काम गरेर आफ्नै नाम अमर राख्ने सङकल्प गरे । पिताको मृत्युपछि उनलाई लागेको सरकारी वाँकी तिराउनको लागि भानुभक्तलाई थुनामा राखियो । थुनामा बस्दा उनले अध्यात्म रामायणको बालकाण्ड उल्था गरेका थिए । थुनावाट निस्केपछि उनले रामायणको ठूलो किताव पुरै नेपालीमा लेखी तयार पारे ।
“एक दिन नारद सत्यलोक पुगिगया लोकको गँरु हित भनी ।
ब्रहमा ताहिं थिया पर्या चरणमा खुशी गराया पनी ।
क्या सोध्छौ तिमी सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै ।”
जस्ता कालजयी श्लोकहरू सबै नेपालीहरूले रमाइलो मानीमानी भाका मिलाई मिलाई गाउन थाले । त्यतिवेला संस्कृत पढ्नेले मात्र रामकथा जान्दथे । उनले नेपालीमा रामायण लेखेपछि घर घरमा रामायणको पवित्र कथा र श्लोकहरू फैलियो । यसले गर्दा ृनको नाम चारैतिर सुनिन थाल्यो । सायद उनले रामायण लेख्नु भन्दा अगाडी नेपाली भाषमा कुनै पनि प्रख्यात ग्रन्थ नै लेखिएको थिएन् । तर, भानुभक्तका शब्द र अभिव्यक्तिले कथेका काव्यहरू अझैपनि नेपालीका घर घरमा सुरक्षित राखेको पाइन्छ । रामायणभित्र रहेका बाल काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ ।
भानुभक्तले रामायणका अतिरिक्त अन्य थुप्रै कृति सिर्जना गरेतापनि उनी रामायणकै नाममा अमर र परिचित छन् । रामायणभित्र रहेको बाल काण्ड, अरन्यकाण्ड, सुन्दर काण्ड, युद्ध काण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा पदान गरेको छ । रुचि भएका तमाम पाठकहरूले रामायणका श्लोकहरू याद गर्नु अहिलेपनि नेपाली समाजमा रोचक नै मानिन्छ । यहाँ उल्लेख गरिएको कविता पनि कम मर्मस्पर्षी छैन् । यो कविता विशेषगरी एउटा घाँसीवाट शिक्षा र प्रेरणा पाएपछि कोरिएको कविता हो ।
भर्जन्म घाँसतिर मन् दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
म भानुभक्त धनी भैकन किन यस्तो ।।
मेरो इनार न त सत्तल पाटिकै छन् ।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति ।
धिक्कार हो मकन बस्नु नराखि किर्ति ।।
हुन त इतिहास शिरोमणि बाबुराम आचार्यले यो कविता स्वयम् भानुभक्त आचार्यले लेखेका होइनन् । भानुभक्तको जीवन चरित्र र संघर्षलाई आम नेपालीहरू समक्ष पु¥याउनको लागि मोतीराम भट्टले नै लेखेका हुन् भनेर दावी गरेका छन् । जेहोस् भानुभक्त आचार्य सानो क्षमता भएको व्यक्तित्व भने थिएनन् । उनमा बिलक्षण प्रतिभा थियो । किनभने १० बर्षकै सानो उमेरदेखि नै कविता लेखनको शुभारम्भ गरिसकेका थिए । सरस बनाउनको लागि भानुभक्तको कवितात्मक लय अरू भन्दा फरक प्रकारको छ । उनकै सिको गरेर अहिलेका आधुनिक धारका कविहरू पनि भानुभक्तकै शैली र लय प्रयोग गरेर आफ्ना कविताहरू बाचन गरेको पाईन्छ । मलाई लाग्छ– भानुभक्त आचार्य कविमात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपालीको मन मनमा भानुभक्तको लय अझै जीवितै छ ।
हामीले आदिकवि भानुभक्त आचार्यको जीवनी र उनका कृतिबारे थप अध्ययन र खोज गर्न जरुरी छ । भानुभक्तको चर्चा र व्याख्या गर्दा मोतीराम भट्टको नाम पनि सँगै जोडिएर आउँछ । किनकी मोतिराम भट्टले भानुभक्तका रचनाहरू प्रकाशन गरि ठूलो गुन लगाएका थिए । यदि मोतिराम भट्टले त्यो काम नगरेको भए सायद दुई चारजना वाहेक कसैले पनि चिन्दैनथे होला भानुभक्त आचार्यलाई । भारतमा अध्ययन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुँदाहुँदै पनि नेपाली भाषा र विशेषत भानुभक्तका कृतिहरूप्रतिको समर्पणले नेपाली भाषाको फराकिलो दायरा र नेपालीपन उद्घोष गर्दछ । त्यसैलै भानुजयन्तीमा मोतीराम भट्टको पनि छुटाउनै नहुने नाम हो । मोतीरामले वि.स. १९४१ सालतिर लामो समय भानुभक्तको बारेमा गहन अन्वेषण र सोध गरी छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयामीक रचनाहरू अझ जनमानसका सामु छाएको कुरा सबैलाई सर्बविदितै छ । भानुभक्तले आफ््नो ५४ वर्षको जीवनावधिमा रामायण, भक्तमाला, प्रश्नोत्तर, बधुशिक्षा, रामगीता र झण्डै ३ दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाउने काम गरे ।
भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका एक बलिया खम्बा र धरोहर हुन् । उनले नेपाली साहित्य र भाषालाई उर्वर र समृद्ध बनाएका छन् । सायद मोतीराम भट्टका अनुसार कविताको मर्म बुझेर त्यस अनुसारका कविता सिर्जना गर्ने यसअघि अरू कवि नभएकाले मात्र भानुभक्तलाई त्यस अर्थमा आदिकवि भनेको हो भन्ने बुझिन्छ । तत्कालिन समाजको जनचेतना अनुसार नै भानुभक्तका कविता, काव्यहरू संरक्षित छन् । भानुभक्त आध्यात्मिक मानवतावादका पक्षमा रहेकोले उनको लोककल्याणको पक्ष धार्मिक, आध्यात्मिक एवम् नैतिक धरातलबाट नै प्रतिबिम्वित भएको छ । रामायण भानुभक्त आचार्यले नेपाली भाषामा अनुवाद गरेको सरल र रसिलो कृति हो । जुन कृति बाल्मिक ऋषिद्वारा संस्कृतमा लेखिएको एक हिन्दु महाकाव्य हो । यसमा २४ हजार श्लोकहरू रहेका छन् । यसमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा रामको गाथा लेखिएको छ । ‘भक्तमाला’ र ‘बधुशिक्षा’ भानुभक्त आचार्यका नितान्त मौलिक कृति हुन् । रामभक्तिलाई मुख्य विषय बनाई शिखरिणी छन्दमा संरचित यस काव्यमा भानुभक्तले साँसारिक मोहमा फसेर जीवन बर्बाद नपारौं भन्दै मानिसले बल्लबल्ल पाएको जिन्दगीको चोलालाई सार्थक पार्न भगवान भक्ति गरौं भन्ने सन्देश दिएका छन् । त्यसैगरी बधुशिक्षा भानुभक्त आचार्यको बहुचर्चित मौलिक कृति हो । यस काव्यमा बुहारीहरूलाई असल बनुन् भनेर उपदेश दिइएको छ ।
बिशेषगरी उनका कवितामा धार्मिक, आध्यात्मिक एवम् सामाजिक जनचेतनाको आवाज बुलन्द गरिएको छ । यीमध्ये कतिपय कवितामा तिखो प्रहार र कडा व्यङ्ग्य पनि रहेका छन् । तत्कालिन अड्डा, अदालत र न्याय प्रणालीमा हुने गरेको ढिलासुस्ती, भ्रष्टाचार र अव्यवस्थाका बारेमा व्यङ्ग्य गरिएको तलको यो कविता आजको नेपाली समाजमा पनि समय सन्दर्भ छ ।
बिन्ती डिट्ठा बिचारीसित कति म गरुँ चुप रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल गया झै अनिपछि दिनदिन् भन्दछन् भोलि–भोलि ।
की ता सत्तीनँ भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यि भोलि
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।
यहाँ भानुभक्त आचार्यका मर्मस्पर्शी कविताहरू सबै उल्लेख गरेर सम्भब छैन् । नेपाली साहित्यको क्षेत्रमा भानुभक्तको योगदान संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा काव्यात्मक शैलीमा अनुवाद गर्नुमा मात्र छैन् । भानुभक्तले नेपाली भाषा साहित्यको विकास र समृद्धिमा अत्यन्त धेरै योगदान पुराएका छन् । नेपाली भाषा, साहित्य, धर्म, संस्कृति, परम्परा र देशभक्ति लगायतका विषयमा उनको साहित्यले आदर्शवादी दृष्टिकोण अनुरूप योगदान पुराएको छ । त्यही योगदानको उच्च सम्मान गर्दै भानुभक्त आचार्यलाई नेपाल सरकारले राष्ट्रिय बिभूतिका रूपमा सम्मान प्रदान गरेको छ ।
भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकोले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि वेला वेलामा कतिपयको उठ्ने गर्छ । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान र नजिकवाट खोज गरिरहेका त्रिभुवन विश्वविधालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकोले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । मोतिरामपछि आजसम्म पनि आदिकविका बारेमा अध्ययन अनुसन्धानहरू चलिरहेकै छन् । भानुभक्तका कृतिहरू र उनको योगदानलाई जनसमक्ष ल्याउन बिभिन्न साहित्यिक व्यक्तित्वहरूको योगदान पनि भुल्नु हुदैन् । आजका मितिसम्म आईपुग्दा भानुभक्त आचार्य दिवंगत भएको पनि डेढ सय बर्षभन्दा धेरै भईसक्यो । बिरामी परेर थला परेका आचार्य बि.स. १९२५ असोज ६ गते सधैका लागि यस धर्तिवाट अस्थाए । हरेक बर्ष आउने असार २९ मा मात्रै भानुभक्तको गन्थन गरिनुभन्दा तनहँुमा रहेको घाँसी कुवाको अबस्था जीर्णोद्धारमा छ । सडक विस्तारको क्रममा भानुभक्त र घाँसीको सालिक पनि अफठेरो अबस्थामा छन् । घाँसीले खनाएको भनिने कुवा संरक्षणको अभावमा छ । यसमा राज्य र स्थानीय सरकार मौन बसेको राम्रो हुँदैन् । चुँदी रम्घामा रहेको भानुगृहको व्यवस्थापन पनि राम्रो छैन् । अब कमसेकम राज्यले भानुभक्तको जन्मभूमिलाई साहित्यिक पर्यटन क्षेत्रको रूपमा विकास गर्नु पर्छ भन्ने कार्ययोजना ल्याउन जरुरी छ ।