© २०२३
आज राष्ट्रिय कृषक दिवस । वि.सं. २०७० सालदेखि कृषक सेवा समितिले हरेक बर्ष जेठ २७ गते राष्ट्रिय कृषक दिवस मनाउँदै आएको छ । कृषक दिवस मनाउँदै गर्दा आज कृषकहरू अपहेलित भएर बाँच्न विवस छन । कृषकको उचित सम्मान छैन । कृषक भन्नासाथ पिछडिएको, गरिव र विपन्न भनेर बुझ्ने गरिएको छ । कृषकहरूका लागि प्रोत्साहनको नीति सरकारले ल्याउन सकेको छैन । अर्को बिडम्वना के छ भने नेपाललाई अहिलेपनि कृषि प्रधान देश भनेर विश्वमै चिन्ने गरिएको छ तर आज त्यही देशका कृषक अपहेलित, अभाव र पीडामा बाँच्नु परेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि अनेक नारा लिएर आउँछ तर त्यसले वास्तविक कृषकको माग सम्बोधन गर्नै सकेको छैन । कृषकलाई सम्मान गरौं नेपालको विकासमा सहयोग गरौँ भन्ने नारा यो बर्षको कृषक दिवसको छ । तर, दिवसको नारा एकातिर छ काम अर्कोतिर छ । कृषकलाई सम्मान गर्ने कुरा छँदैछैन । यद्यपि कृषि पेशाको प्रवद्र्धन गर्दै निर्वाहमुखी कृषिबाट आत्मनिर्भर बन्नेतर्फ अवको प्रयास जरुरी छ । आज हाम्रो देशबाट झन्डै ५०–६० लाखको हाराहारीमा युवाहरू विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । तिनैले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ । देशमा भएका कैयांै उद्योगधन्दाहरू बन्द अवस्थामा छन् भने कैयौं उद्योगधन्दा दिन–प्रतिदिन घाटामा चलिरहेका छन । यस्तो अवस्थामा हाम्रो देशका युवा जनशक्ति भने विदेशिन बाध्य भइरहेका छन् । युवालाई कृषिमा जोड्ने कुरा कहिँकतै सुनिएको छैन । सरकार कृषि क्षेत्रको विकासमा जति ध्यान दिनुपर्ने हो, दिन नसकेको अवस्थता छ । आफ्ना खेतबारी बाँझो राखेर विदेशीको भूमिममा जानुपर्ने बाध्यता युवाका लागि रहर होइन । आफ्नै खेतबारीमा मौसमी फलफूल, तरकारी, अन्नबाली, पशुपालन, जडीबुटी आदिको व्यवसाय गरेर पनि अब हामी सक्षम बन्न सक्ने भैसकेका छौं । तर, यसमा सरकारको प्रोत्साहनको आवश्यकता छ ।
नेपालका असंख्य कृषि उत्पादन नियार्त गर्ने संभावना छ तर ती संभावनाका बिषयमा सरकार कहिल्यै सकारात्मक भएन । न त त्यो सोच्ने फुर्सद सरकारलाई कहिल्यै भयो । आफ्नै मुलुकमा कुखुरा पालन, गाईभैंसीपालन, बंगुर पालनदेखि माछा पालन व्यवसायले अहिले ठूलो फड्को मारिसकेको छ । यसले व्यावसायिक रूप लिइसकेको छ । तर, युवाहरूलाई ब्यावसायीक कृषिमा जोड्ने कुरामा हामी चुकिरहेका छौं । व्यावसायिक खेती गरी मनग्गे मुनाफा कमाउन सकिने अवस्था आफ्नै देशमा भैसकेको छ । सानो खेतबारीमा पनि धेरै उब्जनी हुने बीउ बिजन र मलखादहरू अब हाम्रो देशमा पनि भित्रिइसकेको छ । यस अवस्थामा कृषि पेसामा हामीले फड्को मार्नुपर्ने भएको छ । कैयौं जग्गा बाँझो राखेर हामी किन विदेशीको भूमिमा पसिना बगाउन जाने ? युवावर्गले बेलैमा सोच्नुपर्ने भैसकेको छ । विदेशी भूमिमा सिकेको सीप र प्रविधि युवावर्गले स्वदेशमा भित्राउनुपर्छ । अनि आफ्नै देशमा श्रम र पसिना बगाई मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ । यसका लागि युवावर्गमा इच्छाशक्ति र तत्परता हुनु जरुरी छ । सरकारले त्यसमा प्रोत्साहनको नीति ल्याउनुपर्ने खाँचो छ । राष्ट्रिय कृषक दिवसको अवसरमा सरकारले कृषिको पुनरुत्थानको बिषयमा ध्यान दिने काम गरोस् । अवको दिनमा युवा वर्गलाई आफ्नै माटोमा उद्यमी र पौरखी बनाउन सरकारले ठोस योजना बनाउनुपर्छ । युवा वर्गलाई स्वदेशमै रोक्ने वातावरण तयार गर्न ढिला भैसकेको छ । राष्ट्रिय कृषक दिवसले सरकारलाई त्यो सदबुद्धि प्रदान गरोस् ।