© २०२३
आईतबार र सोमबार लगातार भएका जीप दुर्घटनामा १२ जना निर्दोष नागरिकको ज्यान गएको छ । सोमबार बिहान बागलुङको जैमिनी नगरपालिका –७ हर्देवामा भएको जिप दुर्घटनामा परेर ५ जनाको मृत्यु भयो । मृत्यु हुनेहरू एउटै गाउँका छन् । दुर्घटनापछि गाउँमा शोकको अवस्था उत्पन्न भएको छ । त्यसको एक दिन अघि आईतबार मात्रै कालीकोटमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १३ जना घाइते भएका छन् । त्यसो त दुर्घटनाका खबर आम सञ्चार माध्यममा दैनिकजसो सुन्नु परिरहेको छ । यस्तो लाग्छ– नेपालमा दुर्घटना नभएर कुनैपनि मानवीय क्षति नभएको दिन नै छैन् । हरेक दिनको दुर्घटनाका खबरले आम जनमानसलाई बिक्षिप्त वनाएको छ । दुर्घटनाको देश भनेर नेपालको परिचय दिनुपर्ने अवस्था आउनु दुर्भाग्यको बिषय हो । त्यसअघि प्राकृतिक प्रकोपमा सवारीका साधन परेर यो बर्ष दुईसय बढीले ज्यान गुमाएका छन् । धादिङको झ्याप्लेखोला दुर्घटनाको पीडा अझै थामिएको छैन् । त्यसअघि मुग्लिङ नारायणगढ सडक खण्डको सिमलतालमा दुईवस पहिरोमा परेर नारायणीमा बेपत्ता भएको घटनाले नेपालको सडक यातायातको अवस्था र प्रकोपका जोखिम कति छ भन्ने कुरा छर्लङ्ग बनाउँछ । त्यसअघि तनहुँको आबुखैरेनीमा भएको दुर्घटनामा भारत महाराष्ट्रका २७ भारतीय पर्यटकको मृत्यु भएको घटना नेपालीजनको मानसपटलमा ताजै छ । दुर्घटनाको यो सिलसिला सडकमा मात्र रहेन । गत साउन ९ गते सौर्य एयरलायन्सको विमान त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त हुँदा विमानचालकबाहेक सबै १८ जनाको मृत्यु भयो । गएको साउन २३ गते मात्र एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटनाग्रस्त भेटियो, जसमा नेपाली चालक र चार चिनियाँ नागरिकले ज्यान गुमाए । दुर्घटनाका यी श्रृंखला कहिल्यै नसकिने पीडा बनेर बसेका छन् । दुर्घटनाका पछि धेरै पक्ष गैर जिम्मेवार देखिएका छन । सडकको अवस्थामा सुधार नगर्ने सरकार दोषी छ । चालकले लापरवाहीपूर्वक चलाउँदा दुर्घटना बढेका छन् । त्यसमा चालक दोषी छन् । ट्राफिक प्रहरीले नजरानाका आधारमा सवारी साधन चेकजाँच नगर्नुका पछि उनीहरू दोषी छन् । यात्रुले समेत सवारी साधनको अवस्था नबुझिकन यात्रा गर्नुमा उनीहरू पनि दोषी छन् । सवैभन्दा बढी दोषी सरकार छ । सडक होस् या आकास, नेपाली भूमिमा भएका शृंखलाबद्ध यी दुर्घटनाले देशभित्र र बाहिर कस्तो सन्देश गइरहेको छ भन्ने बिषयमा खासै छलफल र बहस नहुनु चिन्ताको कुरा हो । कुरा के हो भने नेपालमा भैरहने यस प्रकारका श्रृंखलाबद्ध दुर्घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बिग्रने अवस्था आएको छ । जसका कारण विदेशी पर्यटक आगमनमा भारी कमी आउने निश्चित छ । दुर्घटनाको बढ्दो सिलसिलाले देशभित्रकै नागरिकमा पनि यात्रा भनेकै जोखिमको पर्याय बनिरहेको छ भन्ने महसुस हुन थालेको छ ।
बढ्दो दुर्घटना नियन्त्रणका लागि पहल नहुनुका पछि राजनीतिक दल, तिनका नेता, प्रशासनतन्त्र बढी जिम्मेवार छन् । नेपाललाई असफल राष्ट्र बनाउने प्रयास दल र नेताहरूबाटै भैरहेको छ । दुर्घटना नियन्त्रणको सवालमा न त राज्य पक्ष कहिल्यै जिम्मेवार बन्यो न त राजनैतिक दलहरूले सरकारलाई दवाव दिए । विदेशमा सामान्य दुर्घटना हुँदा राजीनामा दिनुपर्ने अवस्था आउने गर्दछ तर नेपालमा दुर्घटनाको भागिदार कोही हुनुपर्दैन् । चिन्ताजनक बिषय के छ भने नेपालमा हुने बस दुर्घटनामा ठूलो मानवीय क्षति भएपनि सरकारले छानविन समिति समेत गठन गर्दैन् । जहाज दुर्घटना भएमात्रै जाँचबुझ समिति गठन गर्ने र त्यो पनि औपचारिकताका लागि मात्रै हुने गर्दछ । समितिले दिने प्रतिवेदन कहिले लागू हुँदैन । बढ्दो दुर्घटनाको यो अवस्थाले नेपालको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने निश्चित छ । तसर्थ नेपाललाई असुरक्षित देश बनाईरहने कि सुरक्षित ? राजनैतिक दल र सरकार गंभीर बन्नु जरुरी छ ।