© २०२३
आज जैविक विविधता दिवस । हरेक वर्षको मई २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने गरिन्छ । ‘योजनाको हिस्सा बन्नुहोस्’ भन्ने नाराका साथ यो बर्षको जैविक विविधता दिवस मनाईदैछ । सन् १९९२ मा ब्राजिलको राजधानी रियो द जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय वातावरण र विकाससम्बन्धी पृथ्वी सम्मेलनले वातावरण संरक्षण र दिगो विकासका लागि जैविक विविधता महासन्धिको रूपरेखा तयार पारेको थियो । हरितयुद्धको शुभारम्भ मानिएको यस सम्मेलनमा विश्वका १७८ राष्ट्रले भाग लिएका थिए र सम्मेलनकै समयमा नेपाललगायत १५२ राष्ट्रले यस महासन्धिमा हस्ताक्षर गरेका थिए । त्यसपछि मई २२ लाई विश्व जैविक विविधता दिवसको रूपमा मनाउन थालिएको हो । जैविक विविधताको संरक्षण, विकास र यसको दिगो उपयोगिताका लागि विभिन्न प्रयासहरू भैरहेका छन । आज विश्व जैविक विविधताको संरक्षण गर्नेतर्फ अग्रसर नहुँदा अनेकखाले वातावरणीय विकृति र विसंगतिको जन्म भएको छ । राष्ट्रसंघका सदस्य राष्ट्रहरूले पनि यो दिनका अवसरमा विशेषगरी आफ्नो मुलुकमा भएका जैविक विविधताको संरक्षणमा जोड दिइरहेका छन् । सन्धि अनुसार सदस्य राष्ट्रले वा सन्धिका पक्ष राष्ट्रहरूले आफ्नो मुलुकमा कायम रहेको जैविक विविधता संरक्षण गर्ने र यसको दिगो विकास र विस्तार गर्ने तथा यसको प्रयोगबाट हुने लाभको बाँडफाँडलाई न्यायोचित वितरण गर्ने कुरा स्पष्ट गरिएको छ ।
जैविक विविधतामा नेपाल धनी छ तर जैविक विविधताको संरक्षण र यसको उपयोगमा लाभ लिन नसक्दा असंख्य सम्पदा लोपोन्मुख हुँदै गएका छन । मुलुकको भौगोलिक बनावट र जलवायुका कारण जैविक विविधतामा नेपाल विश्वमा सबैभन्दा धनी मुलुकको रूपमा रहेको छ । विश्वको ०.१ प्रतिशत मात्र भू–भाग नेपालको भएपनि नेपाल धेरै प्रकारका जैविक विविधताले धनी छ । निश्चित रूपमा नेपालको जैविक विविधता अहिले संकटमा परिरहेको छ । तर त्यसको न्यूनिकरणका लागि फेरिपनि हामी सवै नेपालीले जोड दिनु आवश्यक छ । विश्वभर अनुमान गरिएका ८० लाख जीवजन्तु, वनस्पतिका प्रजातिहरू जैविक विविधता हुन । नेपालमा अहिलेसम्म जनावरका २०८, चराका ८७८, सर्प र भ्यागुताका १४३, माछाका १८५, पुतलीका ६४० र फूल फुल्ने वनस्पतिका पाँच हजार १६० प्रजाति अभिलेख गरिएको छ । मानव अस्तित्व जैविक विविधताामा अडिएको छ । अहिले धान, गहुँ, मकैलगायत खाद्यान्नका २० प्रजातिले विश्वको ९० प्रतिशत खाद्यान्नको आपूर्ति हुने गरेको छ । अहिले एक प्रजातिको जिन अर्को प्रजातिमा प्रत्यारोपण गर्न सक्ने प्रविधिको विकास भएको छ । योसँगै जैविक विविधताको महत्व अझै बढेर गएको छ । नेपालका यी विविधताहरूको संरक्षणमा समेत अव विशेष ध्यान दिनु जरुरी छ । यो बर्षको दिवसको नारा नै योजनाको हिस्सा बन्नुहोस् भन्ने रहेकोले नेपालका सवै सरोकारवाला निकाय र बाताबरणबिदहरूले जैविक विविधताको संरक्षणतर्फ पहल गर्नु जरुरी छ । जैविक विविधताको रूपमा रहेका असंख्या प्राकृतिक श्रोत र सम्पदाको संरक्षणमा ध्यान दिऔं । दिवस मनाउने औपचारिकता पूरा गर्नेमात्र होइन, दिवसको महत्वबोध गर्नेतर्फ पनि चासो र चिन्ता ब्यक्त गर्नु आवश्यक छ । तसर्थ औपचारिकतामा होइन, दिवसको सार्थकता उपलब्धि र नतिजामा खोजौं । अनिमात्र दिवस मनाउनुको तात्पर्य पुष्टी हुन्छ ।