© २०२३
केही दिनयताको नेपालको राजनीतिमा विकसित घटनाक्रमले आम नेपाली जनतालाई चिन्तित वनाएको छ । सहकारी ठगीको छानबीन गर्ने नाममा सत्तापक्ष र प्रतिपक्षको आ–आफ्नै अडानले गाईजात्राको रूप लिएको छ । आ–आफ्ना माग पूरा गराउने नाममा सहमति, सहकार्य र एकताको विन्दुमा आउन नसक्ने नेपाली कांग्रेस तथा विपक्षलाई मिलाएर अघि लैजान नसक्ने सरकार दुवै दोषी छन । दुवै पक्षबाट भैरहेको अडान र प्रदर्शनले नेपालको हित गर्दैन । तसर्थ सरकारले विपक्षलाई विश्वासमा लिन सक्नुपर्दछ भने बिपक्षले पनि अधिकारको मुढेबलको दम्भ छोडनुपर्दछ । यद्यपि सहमतिका लागि दिनहुँ बार्ता भैरहेका छन । नेपाली राजनीतिमा नाटक भन्दा पनि नौटंकी बढी हुन्छ । त्यो गाईजात्रा बन्दा मुलुक र जनताले दुःख पाउने अवस्था हुन्छ । अबको विकल्प भनेकै विकृत राजनीतिलाई मिल्काउने नै हो । आज देश कहाँ छ र के भइरहेको छ भन्ने कुरा जिम्मेवार राजनीतिक दल र नेतालाई कुनै चासो छैन । उनीहरू वर्षौंदेखि सत्ताको लुछाचुँडी र सत्ता कब्जाको खेलमा नै रमाएका छन् । आज देशको विकास र समृद्धि भन्ने कुरा कुन चरीको नाम हो भन्ने भैसक्यो । देशमा के भएको छ भन्नु भन्दा पनि अब के भएको छैन भन्ने प्रश्न गर्ने अवस्थामा पुगेको छ । अव देशलाई थप असफलता र अस्थिरतातिर धकेल्ने प्रयास किमार्थ स्वीकार हुँदैन । तसर्थ जसरी हुन्छ सहमतिमा आउनैपर्दछ । जनताका प्रतिनिधिले बहस गर्ने, जनताको समस्या समाधान गर्ने तथा कानुन बनाउने थलो संसदलाई अनिर्णयको बन्दी बनाउने काम कदापी राम्रो होइन ।
निश्चितरूपमा सहकारी ठगी प्रकरण देशको सबैभन्दा ठूलो ज्वलन्त र गंभीर प्रश्न हो । सहकारी ठगीको बिषयमा सरकार सम्बेदनशील बन्नैपर्दछ । दुःखजिलो गरेर एक एक पैसा सहकारीमा जम्मा गरेका ती तमाम पीडितहरूको पैसा सहकारीले फिर्ता गर्नैपर्दछ । सहकारी जसले अपचलन गरेका छन, तीनलाई कानुनी कारवाहीमा ल्याउनैपर्दछ । तर, त्यसका नाममा संसद नै बन्धक राखेर समाधान हुन सक्दैन । त्यसै त अहिलेको नवपुस्ता अब यो देशमा केही हुन्न भन्ने निचोडमा पुगेर धमाधम विदेश पलायन हुँदैछन् । केही वर्ष पहिले स्नातक गरेर विदेश जानेको लाइन थियोे । अहिले हाइस्कुल अर्थात् कक्षा १२ उत्तीर्ण गर्दा बाहिर जानेको घुइँचो छ । सबैको एउटै कुरा छ– यस्तो देशमा बसेर के गर्ने ? देश युवाविहीन हुने अवस्था उत्पन्न भएको छ । देशमा कसैले संभावना देखेको छैन । यही अवस्थामा नेताहरू बाझाबाझ गरेर अवस्थालाई झनै गंभीर बनाउँदैछन् । त्यसो त राजनीति जतिसुकै सम्भावनाको खेल भए पनि न्यूनतम् इमान्दारीता कायम राख्नैपर्दछ । भनिन्छ, नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीति ठीक दिशामा हिँड्ने हो भने अरू नीतिहरू स्वतः सरल रेखामा हिँड्छन् । तर, नेपालको नीतिलाई सही दिशामा हिँडाउने काम भएन । अव नेताहरूले सोच्ने बेला आएको छ । यसको नेतृत्व देशको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीले नै गर्नुपर्दछ । प्रधानमन्त्री प्रचण्डले छलफलका माध्यमबाट नेपाली कांग्रेससहितका विपक्षी दलहरूलाई सहमतिमा ल्याउनैपर्दछ । बिपक्षीहरूले समेत मेरो गोरुको बाह्रै टक्का नभनी न्यूनतम सहमतिमा आउनुपर्दछ । सहमति, सहकार्य र एकताबाटै देशको ठूलोभन्दा ठूलो समस्या समाधान हुनसक्छ । तसर्थ सत्ता पक्ष र प्रतिपक्ष एउटा सहमतिको बिन्दुमा पुग्नेतर्फ गंभीर बन्नु जरुरी छ । संसद संवाद गर्ने थलो हो, बन्धक बनाउने होइन् । संसदको यो अधिवेशन अत्यन्त महत्वपूर्ण छ । संसदबाट प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिने र त्यसपछि बजेट घोषणा समेत हुने भएकोले संसदको गतिरोध फुकाउने काममा ढिलाई नहोस् ।