© २०२३
गर्मीयाम सुरु भएसँगै तराईका जिल्लाहरूमा डेंगु सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत लागेसँगै देशका विभिन्न जिल्लामा डेंगुका बिरामी फेला पर्न थालेका हुन् । त्यसो त नेपालमा हरेक बर्ष यसरी नै डेंगुको प्रकोप बढ्दै गएको छ । अहिले कोरोनाका कारण डेंगुको प्रभाव कम देखिएतापनि डेंगुले आफ्नो प्रभाव फैलाउने समय आईसकेको छ । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ । तराईका चितवन, रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला डेंगु रोगको संभावित जोखिमयुक्त जिल्ला हुन । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । होइन भने यसको संजालभित्र अव गरिवमात्र होइन सम्भ्रान्त धनी वर्गका मानिसपनि पर्नुपर्ने निश्चित छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत २२ गते बिहीबारसम्म १३ जिल्लामा एघार हजार ३ सय ३३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ४९९ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो । डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न, सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरू कम्तीमा हप्तामा एक पटक सरसफाई गर्न, घरको वरपर पानी जम्न नदिने, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेँगुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
गएका वर्षहरूमा डेंगुको संक्रमण फैलिन नदिनकालागि लामखुट्टे खोज र नष्ट गर अभियान नगरपालिकाहरूले सञ्चालन गर्दै आएका थिए । तर अव यत्तिले मात्र नपुग्ने अवस्था आएको छ । यसमा सिंगो सरकार र नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । स्वयं व्यक्तिको भूमिका अझै धेरै हुन्छ । त्यसमा पनि आफू बस्ने वातावरण वरपरको सरसफाईमा ध्यान दिने आफैले हो । डेंगुको संक्रमणबाट बच्नका लागि होसियार बन्न जनस्वास्थ्य कार्यालयले आग्रह गर्दै आएको छ । तर उसले गरेको आग्रहलाई पनि वेवास्ता गर्ने काम भएको छ । डेंगु भनेको लामखुट्टेले टोकेर हुने भयावह रोग हो । यसको संक्रमण त्यहाँ हुन्छ जहाँ घर वरपरका गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डव्वा, अलकत्राका ड्रमहरूमा फोहोरो पानी जम्मा भएको हुन्छ । यिनै स्थानमा लामखुट्टेले फूलपार्ने सम्भावना बढी हुन्छ । जसवाट लामखुट्टेको लार्भा उत्पन्न भएर त्यहीवाट डेंगुको संक्रमण बढ्न सक्छ । यो भनिरहँदा रोग लाग्नु भन्दा लाग्न नदिनु नै उत्तम उपाय हो । डेंगुले मानिसको ज्यान समेत लिन सक्ने भएकाले यो विषयमा सवै नागरिकको ध्यान जानुपर्दछ । गएका बर्षहरूमा जस्तै यो बर्षपनि डेंगुविरुद्ध खोज र नष्ट गर अभियान सञ्चालनमा ढिलाई गरिनुहुँदैन । किनभने डेंगुको संक्रमण विस्तार हुन थालेकोले डेंगुबाट बच्नु नै सर्बोत्तम उपाय हो । यस बिषयमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण जरुरी छ । संघ सरकारले नै डेंगु नियन्त्रणमा चासो दिएर मातहतका प्रदेश र पालिकाहरूलाई अभियान सञ्चालन गर्नमा तत्परता देखाउन निर्देश गरोस् ।