© २०२३
बुधवार विहान धनगढीबाट काठमाडौका लागि उडेको श्री एयरलाईन्सको जहाज अवतरण हुन नसकी आकासमै दुई घण्टा फन्को लगाएर भैरहवामा अवतरण भयो । जहाजमा यात्रा गरिरहेका ७७ यात्रुको रुवाबासी भयो । सोही दिन विभिन्न मुलुकबाट आएका अन्तर्राष्ट्रिय जहाज काठमाण्डौंमा समयमा अवतरण हुन सकेनन् । कारण थियो मौसम । काठमाण्डौंको मौसममा पछिल्लोसमय आउँदै गरेको आकस्मिक परिवर्तनले हवाई उडान जोखिममा रहेको देखिएको छ । त्यसैगरी विहिवार राती कतारको दोहा उडेको नेपाल एयरलाईन्सको जहाज ४० मिनेटपछि पुनः काठमाण्डौंमा अवतरण ग¥यो । यसको कारण थियो – इन्जिनमा खराबी । यी पछिल्ला उदाहरण हुन । यी घटनाले एकातिर नेपाली आकास मौसमकै कारण असुरक्षित बन्दै गएको देखिएको छ भने अर्कोतिर पुराना जहाजका कारण नेपालको हवाई उडान भरपर्दो नरहेको संकेत देखिएको छ । काठमाण्डौं बाहेक खासगरी पहाडी विमानस्थल मौसमका कारणले धेरै दुर्घटनामा पर्ने गरेको देखिएको छ । कमजोर भिजिविलिटी र हावाको चापका कारण रनवेबाट बाहिरिएको विमान दुर्घटना भएको घटना धेरै सुन्नमा आउने गरेको छ । मौसमका कारणले पहाडी भू–भागमा हवाई दुर्घटना धेरैपटक भएको छ । यसअघि लुक्ला, जोमसोम, विमानस्थल र अन्यत्र पनि दर्जनौ पटक साना–ठूला दुर्घटना भएका उदाहरण छन् । लुक्ला आन्तरिक हवाई उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको व्यस्त विमानस्थल हो । यससँगै मुलुकका अति जोखिम र जटिल भू–बनोट भएको विमानस्थलको सूचीमा लुक्ला रहेको छ ।
हवाई दुर्घटना बढ्नुमा मौसमी सूचनामा फेरबदल प्रमुख कारण मानिन्छ । बुधबार धनगढीबाट विहान उड्दा काठमाण्डौंको मौसम ठिक थियो तर बाटो जाँदै गर्दा एकाएक खराबी आयो जसका कारण विमान आकासमै फन्को लगाउँदै भैरहवा अवतरण हुन बाध्य भयो । यद्यपि नेपालको जल तथा मौसम महाशाखाले आम सर्वसाधारणसहित हवाई उडान हुने राष्ट्रिय अन्तर्राष्ट्रिय मार्ग र गन्तव्यमा हुन सक्ने सम्भावित मौसम गडबडीको सूचना अग्रिमरूपमा सम्प्रेषण गर्दै आएको छ । हवाई भिजिविलिटी, हावाको बेगमा आउन सक्ने उतारचढाव, वर्षाजस्ता कुराको पूर्वानुमान, पूर्वसूचना र तथ्यांक सार्वजनिक गरिदै आएपनि अचानक आउने मौसमको फेरबदलले जोखिम बढाउँदै गएको छ । अन्तर्राष्ट्रिय हवाई उडानका लागि अत्यावश्यक मौसमी सूचना र तथ्यांक प्रदान गर्ने उद्देश्यका साथ नेपालमा सन् १९६६ मा तत्कालीन जलस्रोत विभागअन्तर्गत मौसम शाखा स्थापना भएको थियो । त्यसअघि भारतीय मौसम विभागले भारतको कोलकाता हुँदै नेपाल आउने विमानका लागि मौसमको पूर्वानुमान बताउने गथ्र्यो । १९६६ मा नेपाल विश्व मौसम संगठनको सदस्य बनेपछि भने स्वदेशबाटै हवाई उडानको मौसमी सूचना सम्प्रेषणको अभ्यास शुरु भएको थियो । विदेशबाट झिकाइएका प्राविधिकहरूको सहयोगमा सन् १९७० देखि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालले विधिवतरूपमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक मौसमी सूचना सम्प्रेषण गर्न थालेको भएपनि मौसममा आउने परिवर्तनले समस्या उत्पनन गर्दै आएको छ । त्यो बेलादेखि नै अन्तर्राष्ट्रिय उडानका लागि तयार गरिने सूचना आन्तरिक हवाई कम्पनीका लागि पनि उपयोगी मानिएपनि आन्तरिक कम्पनीका चालक र प्राविधिकहरू महाशाखाको नियमित सम्पर्कमा नआउने मौसमविद्हरूको दाबी छ ।
त्यसो त, हवाई दुर्घटना विमानको प्राविधिक गडबढी र विमानस्थलको जटिल भू–बनोटले पनि हुने गरेकोले सवै दुर्घटना मौसमकै कारण भएको भन्नु गलत हुनेछ । तर, हवाई उडानका लागि महाशाखाले हरेक घण्टा अद्यावधिक गर्ने ‘मेटार’ सूचनालाई गम्भीरतापूर्वक अनुशरण गर्ने हो भने धेरै हदसम्म हवाई दुर्घटना घटाउन सकिन्छ । दुर्घटना भएपछि छानविन समिति गठन गर्ने, छानविन समितिले चालकलाई दोष दिने र समितिले गरेका सिफारिसको कार्यान्वयन नहुने अवस्थाले समस्या झनै बढाउने हुँदा हवाई उडान सुरक्षित गर्न अव भने सरकारले आवश्यक कदम चाल्नैपर्ने छ । त्यसमा ढिलाई नगरौं । नेपालको आकास सुरक्षित गर्नेतर्फ सरकार र नीजि बायु सेवा कम्पनीले प्रयास गर्नैपर्दछ ।