© २०२३
व्यक्तिको परिचय दिन्छ नागरिकताले । परिचयसँगै भविष्यलाई जोड्छ नागरिकताले । अर्को अर्थमा भन्दा नागरिकताले व्यक्ति विशेषको सामाजिक, राजनीतिक, राष्ट्रिय वा मानव संशाधनको अवस्था चिनाउँछ । तर बुटवल उपमहानगर निवासी निर्मला गौडको परिवारसँग त्यही परिचय र अवसरको ढोका खोलिदिने नागरिकता छैन । ४८ बर्ष उमेर बताउने निर्मला गौड बुटवल उपमहानगरपालिका वडा नं. ४ पुल्चोकमा जन्मिएकी व्यक्ति हुन् । पाँच दिदीबहिनी र एक दाजु रहेकी उनको बाबा राम अधारे गौड र आमा इन्द्रावती गौड हुन् । दाजु सूर्यमान गौड अहिलेपनि बुटवल पुल्चोकमै छन् । तर नागरिकता बनाउने पहल नगरिदिँदा निर्मला गौडको परिवार नागरिकता बिहीन छ । बर्षाैंसम्म बुटवलको पुलचोकमा बस्दै आएका उनीहरू दुई बर्षदेखि बुटवल–११ हात्तिसँुढमा भाडामा बस्ने गर्दछन् ।
नागरिकता नहुँदा उनीहरूको नाममा न केही जग्गा जमिन छ, न बैंक खाता छ, न त उनीहरूको नाममा निकालेको मोबाइल सिम नै । साथीको नाममा मोबाइलको सिम निकाली प्रयोग गर्दै आएका उनका दुई छोरा कक्षा १२ उत्तीर्ण भएपनि उच्च शिक्षा अध्ययन र रोजगारी गर्नबाट बन्चित छन् । तिलक गौड कान्ति माविको कक्षा १२ मा विज्ञान समूहका टपर हुन भने विष्णु गौड पनि कक्षा १२ मा व्यवस्थापन समूहतर्फका टपर हुन् ।
नागरिकता नभएकै कारण उनीहरूले न त जागिर पाउन सकेका छन् नत उच्च शिक्षा अध्ययन गर्न नै । कक्षा १ देखि नै कान्ति माविमा पढेका तिलकले गत साल विज्ञान समूहबाट कक्षा १२ उत्तीर्ण गरेपनि नागरिकता नहँुदा विद्यालय भर्ना पाएका छैनन् भने यसबर्ष व्यवस्थापन समूहबाट कक्षा १२ उत्तीर्ण गरेका बिष्णुको अवस्था पनि उस्तै छ । पैसा तिरेर पढ्ने उपाय छैन सरकारी क्याम्पसमा भर्ना हुन र छात्रबृत्ति कोटामा प्रतिस्पर्धा गर्नका लागि उनिहरूसँग नागरिकता छैन ।
नागरिकता नहँुदा पढ्न त पाइनँ पाइनँ, जागिर पनि पाइनँ बुटवल टुडेसँग तिलक गौडले गुनासो गरे । पढ्न जाँदा नि नागरिकता माग्छन्, जागीर खोज्दा नि नागरिकता माग्छन् तिलकले भने नागरिकताले मेरो भविष्य डुबायो । पढ्न नपाएपछि नीजि पसलमा काम गरी परिवार पाल्दै आएका उनले अहिले त्यही जागिर पनि गुमेको बताए । आमा निर्मला गौड, बहिनी सरिता गौड र भाई विष्णु गौडसँग बस्दै आएका २३ बर्षमा टेकेका तिलकलाई परिवारका सबैको लालनपालन गर्ने जिम्मेवारी छ । सामाजिक विज्ञान बिषय लिई उच्च शिक्षा अध्ययन गर्ने सपना बोकेका तिलकलाई अहिले परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।
भर्खरै व्यवस्थापन समूहबाट कक्षा १२ सकेका विष्णु गौड पनि क्याम्पस पढ्ने ढोका बन्द भएपछि चिन्तित छन् । व्यवस्थापन बिषयमा उच्च शिक्षा अध्ययनका लागि मन गरेका उनले नागरिकताको महत्व बल्ल बुझेको बताए । नागरिकताको यति महŒव रैछ तर त्यही नागरिकता हामीसँग छैन बिष्णुले भने सर म कुन देशको नागरिक ?
अन्तरिम संविधान जारी हुनु अघि सरकारले मधेशी दलको आग्रहमा जन्मका आधारमा २१ लाखलाई नागरिकता दिएको थियो । तर त्यतिबेला जानकारी नपाउँदा उनीहरू नागरिकताबाट बन्चित भएका हुन् । केही बर्ष अघि नागरिकताको टोली आएको प्रसंग सुनाउँदै आमा निर्मलाले भनिन्–‘नागरिकताको टोली आएछ, गएछ कतिले बनाएछन तर मैले खबर पाइनँ ।’ आफ्नो जसोतसो जिन्दगी चलेपनि नागरिकता नहँुदा छोरा छोरीको भबिष्य देखेर चिन्ता लागेको निर्मलाले बताइन् ।
निर्मलासँग बुटवलको ज्ञानोदय माविमा २०३६/०३७ सालमा अध्ययन गरेको मार्कसिट सुरक्षित छ । त्यसैगरी उनका सन्तानको रूपमा जन्मिएका छोरा छोरीहरूको बुटवल उपमहानगरपालिकाले प्रदान गरेको जन्मदर्ता प्रमाण पत्र, लुम्बिनी अञ्चल अस्पतालले दिएको जन्म प्रमाण पत्र पनि छ तर उनीहरूको नागरिकता भने बनेको छैन । व्यक्तिगत रूपमा गतसालदेखि छोरा तिलक गौडले नागरिकता बनाउनका लागि प्रयास गरेपनि उनीहरूको नागरिकता बनाइदिनका लागि कहिँ कतैबाट प्रयास भएको देखिँदैन् । जेठो छोरा दिपेन्द्र गौड विवाह गरि छुट्टै बस्दै आएपनि उनको समेत नागरिकता नरहेको निर्मला बताउँछिन् । बुटवलमा व्यापारका लागि आएका र बुटवलकै बासिन्दाको रूपमा बसिरहेका भारतीय मूलका सुवास गौडसँग बिहे गरेकी उनी पाँच बर्षदेखि छुट्टै बस्दै आएकी छन् । पारिवारीक कारणले छुट्टै बसेका सुवासको पनि नागरिकता छैन् ।