© २०२३
डा. धवल शमसेर राणा
प्रमुख, नेपालगञ्ज उप–महानगरपालिका, बाँके
२०५४ सालमा डा. धवल शमसेर राणालाई नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखका रूपमा यहाँका मतदाताले बिजयी बनाए । त्यसको एक दशकपछि २०७४ सालमा सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा पनि यहाँका मतदाताले राणालाई नै बिश्वास गरेर उपमहानगरमा स्तोरोन्नती भएको नेपालगन्जको भविष्य सम्हाल्नका लागि मत दिए । पहिलो कार्यकालमा उनले मतदाता सामु विकास गर्ने इच्छाशक्ति भएको जनप्रतिनिधिका रूपमा परिचित गराउन सफल भएका थिए । दोस्रो कार्यकालमा राणाका लागि आकारमा बढेको नेपालगन्ज र यसको विकास प्रति यहाँका जनताको आकांक्षा पुरा गरेर थप प्रमाणित गर्ने चुनौती र अवसर छ । प्रस्तुत छ, डा. धवल समशेर राणासँग उनको योजना र जनताको अपेक्षाको बिषयमा गरिएको कुराकानी ः
प्रमुखमा निर्वाचित भएपछिको अवधिलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
निर्वाचनपछिको एक वर्षको कार्यकाल सन्तोषजनक छ । देशको परिस्थिति, चुनावहरूको माहोल, बिभिन्न अन्यौलताका बीचमा पनि तिब्र गतिमा अगाडी बढ्न सकेका छौं । नेपालगन्ज उपमहानगरपालिका बाटोघाटो, पार्कहरूको निर्माण हुँदैछन् । निर्वाचनबाट कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त भएको छैन । म मेयर राप्रपाको, उपमेयर काँग्रेसको,पाँचवटा पार्टीको करिब करिव बराबर सदस्य देखिएपछि उपमहानगरपालिकाको बोर्ड पनि कसरी सुचारु होला ? भन्ने कुरामा शंका लागेको थियो । जे होस् एक वर्षको कार्यकालमा सबैले सहयोग गर्नुभएको छ र नगरको विकासको काम तिब्र गतिले बढेको छ ।
यस अवधिमा सम्झनलायक कामहरू के के हुन् ?
एक वर्षमा हामीले पूर्वाधार निर्माणमै जोड दिएका थियौं । नगरका अधिकांस बाटोहरू बनिरहेका छन् । राणाकालिन समयको डेढ सय वर्ष पुरानो सदरलाईन बिस्तार गर्न सकिएको थिएन । तर यसपाली निकै ठुलो मेहेनत गरेर त्यसलाई फराकिलो बनाउन सकिएको छ । फराकिलो सदरलाईन बनेको छ । यस्तै अरू पूर्वाधार निर्माणका काम भएको छ ।
तपाईंले गर्ने योजना बनाएको तर गर्न नसकेको कुनै काम ?
मैलै तुरुन्त रानीतलाउलाई चलाईहाल्छु भनेको थिएँ । मलाई त्यस्तो लागेको थियो । तर ठेकेदार पक्ष र हाम्रा आफ्नै नियम कानुनले पनि तुरुन्तै गर्न सम्भव भएन । अब केही दिनमै रानी तलाउ सन्चालन गर्ने गरी काम हुन्छ । तीन महिनामै काम गर्छु भन्ने लागेको कुरा गर्न एक वर्ष लागेको छ ।
अघिल्लो कार्यकालय र अहिले नेपालगन्जका नागरिकहरूको विकास प्रतिको आंकाक्षा कस्तो पाउनु भयो ?
विकास त पहिलेका जनताले पनि खोज्नुहुन्थ्यो र अहिलेका जनताले पनि खोज्नुहुन्छ नै । अहिले र त्यसबेला अभिव्यक्त गर्ने तौरतरिकामा भिन्नता आएको छ । मिडिया र सोसल मिडियाको विकासले गर्दा त्यस मार्फत आमनगारिकहरूले बिभिन्न आकाक्षाहरू राखेको पाईन्छ । यो अत्यन्तै शक्तिशाली छ । यि माध्यमबाट कतिले सकारात्मक क्रिया प्रतिक्रिया दिनुहुन्छ त कतिले अस्वस्थ्य प्रतिक्रियाहरू जनाउनु पनि हुन्छ । तर नेपालगन्ज उपमहानगरको विकास र प्रगतिका लागि हुने क्रिया र प्रतिक्रिया शिरोधार्य गर्नुपर्छ । तर कहिलेकाँही हामी ज्यादै नकारात्मक पनि भईदिन्छम् । उदाहरणका लागि डुबानकै समस्यालाई लिउ । पानी परेपछि पानी जम्छ । ठाउँ बिशेषमा पानी पर्दासम्म पानी जम्छ अनि त्यसपछि पानी हराउँछ । तर पानी परेका बेलाको फोटो राखेर बर्बाद भयो, खत्तम भनिन्छ । जहाँ पनि नकारात्मक कुरालाई मात्र प्राथमिकता दिने काम भएको छ । म भन्छु अब पानी परेपनि अब नेपालगन्जमा डुबान हुँदैन । चारैतिरबाट हामीले पानीको निकास निकालेका छौं । नगरपालिकाभित्र पानी छिर्न सक्ने अवस्था छैन । तर पानी परेको बेला त जहाँ खाल्डो छ, चारैतिरबाट त्यही पानी जान्छ । पानी भरिन्छ । अब त्यो अवस्था पनि आउन दिने कामहरू गर्छौ । यसमा तपाई हामी सबै मिलेर काम गर्ने हो । राम्रा काम पनि भएका छन् । त्यसलाई पनि हेरौं । नराम्रा भएका छन् भने आलोचना पनि गरौं ।
अहिले शासकिय स्वरूपमा निकै परिवर्तन आयो ? यो परिवर्तनमा काम गर्दा कस्तो महसुस भएको छ ?
फरक के छ भने बिभिन्न लाईन एजेन्सी (सरकारी कार्यालय) हामी कहाँ आयो । शिक्षा, स्वास्थ्य, कृषि, पशु जस्ता कार्यालय आए । हामी सिक्दैछौं । व्यस्तता बढेको छ । समस्या पनि छन् । समस्या भन्दा पनि नगरपालिकासँग त्यसलाई चलाउने बिज्ञता छैन । लाईन एजेन्सीको बिज्ञ त हामी होइनन् । बिज्ञ नपठाउने, तल्लो तहको कर्मचारी पठाउने अनि जिम्मेवारी पठाउने ।
कसरी काम हुन्छ ?
उपमहानगरमा कसैको स्पष्ट बहुमत छैन केन्द्र र प्रदेश सरकार आफू अनुकुल पनि छैन । यस्ता कुराहरूले कामकाज गर्न कुनै अप्ठ्यारो छ ?
त्यति ठूलो असर परेको छैन यहाँ । तर मेरो पार्टीको बहुमत भएको भए कामको गतिमा तिब्रता हुन्थ्यो जस्तो लाग्छ । तर नेपालगन्जको विकास गर्ने सवालमा अंक गणितले असर गर्ला जस्तो लाग्दैन । अहिलेसम्म त्यस्तो भएको छैन ।
तर महाशाखा गठन गर्ने बिषयमा उपमेयर सहित नेपाली काँग्रेसबाट बिजयी हुनुभएका वडा अध्यक्षहरूले आपत्ती जनाउनु भयो । उपसचिवले नेतृत्व गर्ने महाशाखा गठन नगर्ने निर्णय नेपालगन्जलाई विकासमा पछाडी धकेल्ने निर्णयकारूपमा उहाँले अथ्र्याउनुभएको छ ?
हेर्नुहोस् हरेक निर्णय गर्दा एउटा सानो समिति बनाउने चलन छ । त्यो समितिमा हामी सबै छौं । समितिमा छलफल हुँदा तत्कालको परिस्थिती हेरेर उपसचिव नराख्ने भन्ने समझदारी भएको हो । तर एक्कासी काँग्रेसका मित्रहरूले उपसचिव चाहिन्छ । महाशाखा चाहिन्छ भन्नुभयो । किन भन्नुभयो थाहा भएन । अवस्था अल्पमत बहुमत हुनेसम्म पुग्यो । धेरै निर्णय सहमतिबाट भयो कसैलाई वास्ता भएन । तर एउटा निर्णय अल्पमत बहुमतबाट भयो सबैको चासो त्यसमा छ । कुनै पनि कुरामा मतान्तर हुनसक्छ । नेतृत्वले त्यसलाई सकेसम्म मिलाउनुपर्छ । तर मिलेन भने एउटा बिधि त अपनाउनै प¥यो ।
पछिल्लो समय असन्तुष्टिका स्वर सुन्न थालिएको छ । काममा अलमल भएको हो ?
हाम्रा थुप्रै योजना र आकांक्षाहरू छन् । तर ती सबै आजको भोली नै पुरा हुन सक्दैन् । सरकारले हरेक नियमहरू हामीले मान्नुपर्छ । बिधि र प्रक्रियालाई मानेरै अगाडि बढ्नुपर्छ । सबैको सहमति जुटाउनुपर्छ । त्यसका लागि समय लाग्छ । जस्तो बसपार्क निर्माणकै कुरा गरौ । त्यसको ठेक्काको समय बढाउनुप¥यो । ठेकेदारका पनि आफ्नै कारण होला तर काम गर्दैनन् । प्रक्रियामा जादै महिनौं लाग्छ । काम गरेन भने ठेक्का रद्द गरौं अर्को महिनौं कुर्नुपर्छ । अर्को महेन्द्रपार्कमा पुरानो रुखहरू काटौं भन्यो त्यो गर्नै तीन महिना लाग्छ । वनको प्रक्रिया पुरा गर्ननै त्यति समय लाग्छ । यि सबै कुरा गर्न समय लाग्छ ।
नगरप्रमुखको कार्यकालबाट बिदा हुँदा नेपालगन्ज शहर कस्तो बनाएर जान्छु जस्तो लागेको छ ?
यसमा म कुनै दुबिधामा छैन । एउटा शुन्दर, सफा,विकसित र सुरक्षित नेपालगन्ज बनाउछौं । यसका लागि प्रविधिको उच्चतम् प्रयोग हुन्छ । बिभिन्न एप्स् बन्दै छ । पूर्वाधार निर्माणको काम धमाधम भइरहेका छन् । कार्यकाल सकिँदा हामीले सोंचेका काम पुरा हुन्छन् । अझ म त भन्छु आगामी वर्षमै धेरै कुराको रिजल्ट देख्न पाईन्छ । धैर्य गर्नुहोस् कार्यकाल सकिँदा विकसित नेपालगन्ज बनाएर बिदा हुन्छु ।
यहाँ अहिले राप्रपाको शिर्ष नेता हुनुहुन्छ । प्रदेश ५ का अहिलेका मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोखरेल प्रमुख अतिथी रहनुभएको एउटा कार्यक्रममा यहाँ सहभागी हुँदा तपाईका बिषयमा धेरै अड्कलबाजी भए । यस्ता अड्कलबाजीको कुनै अर्थ छ ?
बिभिन्न परिस्थिती हेरेर मानिसहरूले अड्कलबाजी गरेका होलान् । राप्रपा पार्टी तीन खेमामा बिभाजित छ । राष्ट्रिय पार्टी नै रहेनौं । भविष्य के हुने भन्ने कुरालाई लिएर मानिसले अड्कल काटेका होलान् पनि । तर मलाई त्यस्तो केही छैन । म राप्रपाको एजेण्डा लिएर निर्वाचित भए । मैले तीनवटै पार्टीलाई एक बनाउनका लागि ठूलो भूमिका खेल्नुपर्छ र खेलेको पनि छु । सकेसम्म यही पार्टीलाई एक बनाएर यही राजनीतिक एजेण्डाका साथ राजनीतिमा अगाडी बढ्ने मेरो योजना हो । अहिल्यै त्यस्तो सोंचेको छैन । तत्कालै आश्चर्यजनक हुने निर्णय लिने पक्षमा म छैन ।
प्रस्तुती : कमल डाँगी/बाँके