© २०२३
गाउँघरमा फालिएका कवाड बस्तु बटुलेर रूपन्देहीको कञ्चन गाउँपालिका–३ रुद्रपुरमा १९ वर्षीय सुविन विश्वकर्मा (सुनार) ले मानिस जस्तै बोल्ने रोबर्ट बनाएका छन् । ‘रोबोट’ नाम दिएका उनले गाउँघरमा फालिएका काठका टुक्रा, प्लाष्टिक, तार, ब्याट्री र मोटरको प्रयोग गरि रोबोट बनाएका हुन् । रोबोटले आवाज अनुसार मुख खोल्ने, आँखा झिम्काउने साथै सामान उठाउने, राख्ने गर्दछ । त्यसैगरी रोबोटले ढोका खोल्ने र बन्द समेत गर्ने गर्दछ । आर्थिक अभावका कारण रोबोटमा सेन्सर प्रविधि जडान गर्न नसकेका विश्वकर्माले तारको सहायताले मोटरबाट यी सबै काम रोबोटलाई निर्देशन गर्दछन् । १९ बर्षका विश्वकर्माले सानै देखि नै विभिन्न किसिमका सामग्रीहरू बनाउने गर्दथे । कक्षा ९ मा पढ्दा देखि नै विभिन्न सामानहरू जुटाउन सुरु गरेका विश्वकर्माले करिब एक बर्ष सम्म भारतमा गएर मजदुरी समेत गरेर फर्किएका हुन् । सरस्वती माध्यमिक विद्यालय बर्गदवा बाट २०७२ सालमा एसएलसी दिएका उनले आर्थिक अभावका कारण माथिल्लो कक्षामा भर्ना हुन सकेका छैनन् । उनी भन्छन्–‘उच्च शिक्षा पढ्ने धोको थियो, अहिले पनि छ तर के गर्ने पढ्नका लागि पैसा छैन ।’ उच्च शिक्षा पढ्नको लागि रकम जम्मा गर्न भारत गएका उनले एक बर्ष सम्म मजदुरी गरेको बताउँछन् । तर मजदुरी गरेर ल्याएको रकमले घरमा आमा बुबालाई पालनपोषणका साथै अन्य ऋण तिर्दा सकिएको कारण उच्च शिक्षाको लागि भर्ना हुन नसकेको बताउँछन् । उनी भन्छन्–‘केही रकम जोहो गएर ल्याएको थिएँ, तर यहाँ ऋण, एंैचोपंैचो तिर्दा तिर्दै सकियो, पढ्न पाइनँ ।’ यदि कुनै पनि दाताले सहयोगको हात अगाडि बढाएमा खासगरी ईलेक्ट्रिोनिक्स, मेकानिकल ईन्जिनियरिङ्ग तर्फको पढाइमा लाग्ने उनको सोँच रहेको छ । उनले उक्त मोटरसाईकलमा एउटा ईन्जीन बाहेकका अन्य सबै सामानहरू आफै आरनमा कुटेर, बनाएर जोडेका छन् । करिव १ बर्ष सम्म मिहिनेत लगाएर उक्त रोबोर्ट र मोटरसाईकल बनाएको उनको भनाइ छ । १३ जनाको संयुक्त परिवार रहेका उनका ४ जना दाजुभाई र ७ जना दिदीबहिनी छन् । बुबा हरिलाल सुनारले मजदुरी गर्दै आएका छन् । रोबर्ट बनाउने सुविन परिवारको साईलो छोरा हुन् । अन्य दाजुहरूले पनि आफ्नो लगावलाई सम्बोधन गर्न नसकेको उनको गुनासो रहेको छ । आफैले बनाएको मोटरसाईकलमा एक बोतल पेट्रोल हालेर उनी दिनको एक पटक गाउँमा फन्को मार्दछन् । उनी भन्छन्–‘यदि कुनै पनि दाता भेटिएमा मैले रोबर्टलाई अझ परिमार्जन गरी सेन्सर जडान गरेर अत्याधुनिक बनाउन सक्छु । ’सुविनका बुबा हरिलाल सुनारले छोरोलाई आर्थिक अभावको कारण अझै राम्रो गरी पढाउन र अगाडी बढाउन नसकिएको कारण मनकारी दाताको खोजीमा रहेको बताउँछन् । उनी भन्छन्–‘छोराको लगाव, ईच्छा हुँदा हुँदै पनि आर्थिक अभावकै कारण माथि पढाउन सकिनँ, भारतबाट ल्याएको पैसा पनि ऋण तिरतार गर्दा सकियो, कसैले सहयोग गरेमा यस्तै काममा लगाउने गरी पढाउने थिएँ ।’ उनीहरूको सबै परिबार अन्य व्यक्तिहरूको अँधिया लगाउने त्यहिबाट आएको जीन्सी वा नगदबाट जिविका चलाउँदै आएका छन् । यता, रूपन्देहीको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आफ्नो गाउँपालिकामा यस्तो प्रकृतिको आविस्कार गर्ने व्यक्ति जन्मनु खुसीको कुरा भएको भन्दै उनको आविस्कारमा के कस्तो सहयोग गर्न सकिन्छ आफू तत्पर रहेको बताउँछन् । उनी भन्छन्–‘स्थानीय सरकार आएपछिको फाईदा भनेको यहि हो, हामी गयांै, उनको आविस्कार हे¥यौं, अहिलेलाई ३० हजार रूपैयाँ गाउँपालिकाबाट प्रदान गर्ने निर्णय गरेका छौं ।’ रोबर्ट बनाउनको लागि विश्वकर्माले करिब ३० हजार रूपैयाँ खर्च भएको बताएका थिए । सोही अनुरूप नै उनलाई रकम प्रदान गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष क्षेत्रीको भनाइ छ ।