© २०२३
दुई महिनाअघि नेपालका मौसमबीदहरूले यो बर्षको हिउँदमा विगतमा भन्दा बढी बर्षा हुने प्रक्षेपण गरे । नेपालको मौसम विभागले विज्ञप्ती नै जारी गरेर यो बर्ष हिउँदमा विगतमा भन्दा धेरै पानी पर्ने भन्दै मौसमको पूर्वानुमान ग¥यो । तर, मौसमबीदहरूलाई नै आश्चर्यचकित बनाउँदै मौसम पूर्वानुमान गलत सावित भयो । मौसमबीदहरू समेत अहिले गहिरो समीक्षामा जुटेका छन ।
मौसममा आकस्मिक फेरबदल र परिवर्तन अहिलेमात्र होइन, केही बर्षयतादेखि निरन्तर भैरहेको छ । जसका कारण उत्पादनमा भारी कटौती भैरहेको छ । मौसम परिवर्तनले तापमान बृद्धिमा असर परेको छ । गत बर्ष सन. २०२३ अहिलेसम्मकै सवैभन्दा गर्मी बर्ष घोषणा भयो भने नयाँ बर्ष सन २०२४ मा पनि गर्मी अत्याधिक बढ्ने आँकलन बैज्ञानिकहरूले गरेका छन । यी सवैका पछि मौसममा आएको परिवर्तन र त्यसको असर हो । नेपालकै सन्दर्भमा दुई बर्षअघि पाथीभरा मन्दिर क्षेत्रमा जाडो महिनामै लागेको आगो बल्लबल्ल नियन्त्रणमा आएको थियो । यस्तै मुक्तिनाथ मन्दिरको वरिपरी र मनाङमा लागेको आगो पनि मुस्किलले नियन्त्रणमा आएको घटना हामीमाझ ताजै छ । माईनस १२ डिग्री सेल्सियसको तापमानमा पनि आगो नियन्त्रण गर्न हम्मेहम्मे परेको मनाङको हालको अवस्थाले गर्मी मौसममा उत्पन्न हुनसक्ने प्राकृतिक भयावहता केवल अनुमान मात्रै गर्न सकिन्छ । नेपालमा आगलागीकै कारण करोडौं जीबजन्तु मरेका छन । नेपालमा अहिले एकातिर शितलहर चलेको छ । अर्कोतर्फ जाडो मौसममा पनि देशका विभिन्न स्थानमा आगलागीका घटनाले प्रकृति अनियन्त्रित वन्दै गएको पुष्टी हुँदैछ । तराईमा जारी शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवनमा गंभीर असर पुगेको छ । प्रकृतिमाथि अनेक प्रकारले भैरहेको दोहनकै परिणाम अहिले बाताबरणमा परेको हो भन्ने बाताबरणबीदहरूको अनुमान छ । निश्चितरूपमा अहिले प्रकृति मानवले चाहे अनुसारको नियन्त्रणमा छैन । गर्मीमा गर्मी र जाडोमा जाडो नियमित प्रकृया हो तर जाडोमा आगलागीसम्मको भयावह अवस्था सिर्जना यही प्रकृतिले गरिरहेको छ ।
मौसमविदहरू समेत यो वर्षको मौसमी प्रकृयाबाट आश्चर्यचकित छन । प्रकृति कसैको नियन्त्रणमा छैन र विस्तारै अनियन्त्रित बन्दै गएको हो कि भन्ने आशंका पनि बढेको छ । यो अवस्थालाई बाताबरणीय सन्तुलनको अव्यवस्थाका कारण सिर्जना भएको समस्या ठानिएको छ । प्रकृति उल्टो दिशामा बढिरहेको हो कि भन्ने आभाष पनि गर्नुपर्ने अवस्था देखिदैछ । एउटा राष्ट्रिय गीत छ– पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले रोक्नुपर्छ । बर्षौ अघि रचना गरिएको यो गीत अहिलेको सन्दर्भमा मेल नखाने जस्तो लागिसक्यो । पहाडमा अहिले घाम लागेर न्यानो छ । हिमालमा चिसो छ तर घामले जाडो विर्सने अवस्था छ तर तराईमा जाडोको कहरले निथु्रक्क पारेको छ । यसले के देखाउँछ भने अव प्रकृतिले आफ्नो नियमित पद्धतीको अनुसरण होइन फरक धार लिन थालिसक्यो । यो गंभीर विषय हो । हाम्रा प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने समय आएको छ । अहिलेसम्म लापरवाही गरिएपनि अव भने सोच्ने बेला आएको छ । यो कुनै भविष्यवाणी होइन तर घटनाक्रमहरूले पुष्टी गर्दै जानेछन् । प्रकृतिको बरदान पाउन सहज छैन । प्रकृति र प्रकृतिजन्य यावत क्षेत्रको संरक्षणमा अव सरकारको ध्यानाकर्षण हुनैपर्दछ । मौसमबीदहरू पछिल्लोपटकको प्रक्षेपण गलत सावित भएपछि गंभीर समीक्षामा जुटेका छन । उनीहरूको पनि त्यही निष्कर्ष आउँछ– प्रकृतिमाथिको दोहन । सम्पदामाथिको हस्तक्षेप र अतिक्रमण । कार्बन उत्सर्जनको परिणाम आदी आदी । निश्चितरूपमा नेपालले पनि मौसम परिवर्तनबाट भैरहेको अनपेक्षित गतिविधि र परिणामप्रति चासो दिएन भने ठूलो क्षति बेहार्नुपर्ने हुनसक्छ । तसर्थ अहिले सानो समस्या भनेर पञ्छिन मिल्दैन । हिउँदमा पानी नपर्नु आश्चर्यमात्र होइन, यो गंभीर बिषयलाई मौसमबीदहरूको काँधमा थोपर्ने मात्र होइन, नेपाल सरकारले समेत यो बिषयमा गंभीर ढंगले समीक्षा गर्नु जरुरी छ । पानी नपरेकै कारण उत्पादनमा भारी कमीमात्र होइन, यसले निम्त्याउने दुष्परिणामको लेखाजोखा गर्न ढिलाई नगरौं ।