© २०२३
श्रृङ्खलाबद्ध बैठकहरू सूचीकृत भए । प्रारम्भ भए । अवरुद्ध भए । पुनः प्रारम्भ भए । फेरि स्थगित भए । सम्पन्न भए ।
मानिसको रगत पसिनाले जम्मा भएको राष्ट्रिय ढुकुटीबाट पारिश्रमिक, सुविधा र भत्ता इत्यादिका नाममा राष्ट्रिय आयको ठूलो हिस्सा निर्वाध अविरल रूपमा बगिरहे ।
अनेक छलफल भए । वादविवाद र तर्कवितर्क भए । भनाभन, बाझाबाझ र आरोपप्रत्यारोप भए । छलछाम, घुमघाम र भाषण भए । आख्यान भए । प्रवचन र गोष्ठी भए । योजना, आयोजना र प्रायोजनहरूको लामो श्रृंखला निर्माण भए ।
जे जति हुनुपर्ने थियो, सब भए । जे गर्नु पर्ने थियो, सब गरियो ।
तर जे नहुनु पर्ने थियो, त्यो पनि भयो । त्यो ‘हुनु’ भनेको ‘आउटपुट’ केही नहुनु भयो । समय सीमामा कुनै काम भएनन् । वायुमण्डलमा निर्माणााधीन सडकको धुलो मात्रै उडेन, राजनीतिको दुरभिसन्धियुक्त विषाक्त धुवाँ पनि उडिरह्यो ।
इतिहासबाटै सतीले सरापेको भनिने एकादेशमा विडम्वनाका अनेकन श्रृंखलाहरू जोडिदै गए ।
कुनै पनि काम समयमा नभएपछि ठूलो खलबल भयो । ‘भ्याकुम’ क्रिएट भयो । भ्याकुममा ‘स्पेस’ लिन दृष्य–अदृष्य तत्वहरूले शकुनि षडयन्त्र गर्न थाले । आशङ्काका कालो बादल सघन भयो । जनता जनार्दन निराशाको गर्तमा डुबे । केही गर्दागर्दै असफल भइकन निराश हुनु पर्ने एउटा कुरा हो, कुनै काम गर्नै नपाइकन निरास हुनु पर्ने अवस्था आउनु अर्को कुरा हो । काम गर्नै नपाइने दुःखद अवस्थाले आम मान्छे दुःखी हुनु पर्ने अवस्था भयावह अवस्था हो ।
आम मानिस त्यही भयावह अवस्थाबाट गुज्रिन बाध्य भए ।
छानबिन आयोगमाथि आयोग बनिरहे । आयोग बनाउने सन्दर्भमा रेकर्ड कायम गरेको एकादेशमा काम कारवाही हुन नसक्नु र सामाजिक न्यायको सम्पादन अलपत्र पर्नुको कारण पत्ता लगाउन पहिलोपल्ट जनताले पनि जनताकै सहभागितामा एक उच्चस्तरीय छानबिन आयोग गठन गरे ।
आयोगका सदस्यहरूले सुक्ष्म अनुसान्धान थाले । त्यस क्रममा ती राजनीतिको मूल ढोकाबाट भित्र छिरे । ती राजनीतिको केन्द्रमा पुग्न चाहन्थे । भित्र छिर्नेबित्तिकै ह्वास्स दुर्गन्ध आयो । त्यो एक कुहीगन्धे दुर्गन्ध थियो । जति ती भित्र पस्दै गए, त्यति नै त्यो दुर्गन्ध अरू असह्य हुँदै गयो ।
खासमा त्यो दुर्गन्ध रगत, लास, अहम्, बारुद, भ्रष्टाचार, सत्ता षडयन्त्र, अहंकार, हठ र कुण्ठा सिर्जित तत्वहरूको सम्मिश्रणको अनौठो रसायनको कुहीगन्ध थियो । जब ती सत्ता राजनीतिको केन्द्रमा पुगे, तिनले त्यहाँ एउटा अग्लो पहाड देखे ।
त्यो पहाड करोडौं मानिसहरूका सपनाको लासको पहाड थियो । तिनै जनताको इच्छाहरूको लास थियो । लासहरूको त्यो पहाडमा औंसाहरू सल्बलाइरहेका थिए । वीभत्स त्यो दृश्यमा पहाडको शिखरमा भीमकाय सत्तास्वार्थ काखी च्यापेर एकदमै डरलाग्दो र घिनलाग्दो जनावर उभिएको थियो ।
त्यो कुन जनावर थियो ?
अन्ततः आयोगले सपनाहरूको बधशाला बनेको राजनीतिको त्यो केन्द्रमा घनिभूत रूपमा व्याप्त दुर्गन्धले राजनीतिबाजहरूको मस्तिष्कलाई जनहीतका बारेमा सोच्न पूर्णतः असमर्थ बनाएकाले कुनै पनि काम समय सीमामा हुन नसकेको भन्ने निष्कर्ष निकाल्यो ।
तर नमर्ने रहेछन् सपनाहरू । कुहिएर गए पनि सपनाहरूको पुनर्जन्म भइरहँदो रहेछ । मानिसमा उज्जवल भविष्यको सपनाको पुनर्जन्म फेरि पनि तीब्र गतिमा भयो । ती उच्च आकाङ्क्षा र स्वर्णीम सपना लिएर आफै पसे राजनीतिको केन्द्रमा । तिनले मक्किएको सत्ताको जीर्ण सिंहासनलाई भाँचभुँच पारे । सफा गरे सारा दुर्गन्धको जड । तिनले बनाए युगीन संविधान, नयाँ कानुन । तिनले बसाले नयाँ थिति ।
त्यसपछि सपनाहरूको लासको पहाडको शिखरमा भीमकाय सत्तास्वार्थ काखी च्यापेर उभिने डरलाग्दो, घिनलाग्दो र अति हिंस्रक जनावर त्यो देशबाट सदाका लागि पलायन भयो ।