© २०२३
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलवार विहान भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । गुटेरेसको लुम्बिनी भ्रमणले पर्यटन क्षेत्रमा उत्साह बढेको छ । संयुक्त राष्ट्रसंघका महासचिवको बेलाबेलामा हुँदै आएको लुम्बिनी भ्रमणले लुम्बिनीको विकास र पर्यटन क्षेत्रको सम्वद्र्धनमा महत्वपूर्ण सहयोग पुग्दै आएको छ । यसपटक लामो समयपछि भएको संयुक्त राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनीका पर्यटन व्यवसायी समेत उत्साहित भएका छन । गुटरेसको भ्रमणले लुम्बिनीको प्रचार प्रसारमात्र होइन लुम्बिनीको अन्तर्राष्ट्रिय विकासमा पनि ठूलो सहयोग पुग्ने कुरामा दुईमत छैन । त्यसै त मुलुकको आर्थिक अवस्था संकटकै अवस्थामा रहेको बेला पर्यटन क्षेत्रले अर्थतन्त्रलाई सुदृढ गर्न भूमिका खेल्ने छ । निश्चित रूपमा नेपालको पर्यटन वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो । पर्यटन उद्योग तथा व्यवसाय फस्टाउँदा बहुमूल्य वैदेशिक मुद्रा आर्जनको बाटो खुल्छ । पर्यटनले वैदेशिक मुद्राको बाटो मात्र खोल्दैन, अर्थतन्त्रका आयामहरूलाई चलायमान बनाउँछ । मुलुकभित्रै रोजगारी सिर्जना गर्छ । स्थानीय उत्पादनले बजार पाउँछ भने मौलिक कला र संस्कृति संरक्षणमा समेत ठूलो सघाउँ पु–याउँछ । तसर्थ मंगलबार भएको गुटरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको पर्यटन क्षेत्रमा आशामात्र होइन, मुलुककै अर्थतन्त्र सबल बनाउन सहयोग पुग्नेछ भन्ने विश्वास गरिएको छ ।
त्यसै त विगतको कोरोना संकटका कारण नेपालको पर्यटन क्षेत्र अहिलेपनि पुरानै अवस्थाामा फर्किन सकेको छैन । त्यसमाथि बेला बेलामा हुने आर्थिक संकटले पर्यटन क्षेत्र संकटमा पर्दै आएको छ । महासचिव गुटेरेसको भ्रमणकै पूर्व सन्ध्यामा दशैंको सेरोफेरोमा पर्यटन क्षेत्र लयमा आउने केही आधार देखिएका छन । आन्तरिक पर्यटनको संभावना उजागर भैरहेको छ । मुलुकका केही महत्वपूर्ण पर्यटकीय क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ । त्यसले केही उत्साह सिर्जना गरिरहेको बेला मंगलवारको संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले स्थानीय पर्यटन व्यवसायीमा उत्साह बढ्नु महत्वपूर्ण कुरा हो । त्यसो त पर्यटन उद्योग, व्यवसायको प्रवद्र्धनमा नेपाल सरकारको उच्च प्राथमिकता रहेको छ । विगत तीन वर्षयता कोरोना (कोभिड–१९) महामारीका कारण नेपाललगायत समग्रमा विश्व पर्यटन व्यवसाय नै निकै नाजुक अवस्थामा पुग्यो । पर्यटनको पुनरुत्थानका निम्ति केही महत्वपूर्ण प्रयास अति आवश्यक भइसकेको सबैले महसुस गरेकै विषय हो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार दशमलव तीन प्रतिशत रहेको थियोे ।
पछिल्लोसमय केही गिरावट आएको छ र अव यसमा आशातीत सुधार मात्रै होइन यो तथ्याँकमा रेकर्ड ब्रेक हुने आशा गरिएको छ । नेपालमा दस लाखभन्दा बढी मानिस प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा पर्यटन उद्योगमा आश्रित छन् । कोरोना महामारीसँगै नेपाली अर्थतन्त्रका हरेक हिस्सामा पर्यटन उद्योगको योगदान घट्दै गएको देखिनु राम्रो होइन । पछिल्लोसमय सरकारले समेत पर्यटन उद्योगलाई गति दिन सात बुँदे कार्ययोजना जारी गरेको हो । नयाँ कार्य योजना अनुरूप सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रूपमा मनाउन थालिएको छ । यसले पनि मुर्झाएको पर्यटनलाई ब्युँताउने प्रयास गर्नेछ भन्दा अत्युक्ति हुँदैन । नेपाल भ्रमण दशक मनाउने कार्ययोजना आफैँमा सकारात्मक एवं महत्वपूर्ण छ । यो कार्यक्रम सफल बनाउँदा नेपालको पर्यटनले व्यापक गति लिनेछ । यद्यपि सफल भ्रमण दशक त्यसै पूरा हुँदैन । त्यसका निम्ति पर्यटनका आयाम विस्तार गर्नुपर्ने हुन्छ । गुटेरेसको लुम्बिनी भ्रमण त्यसको एक कडी बन्न सक्छ ।