© २०२३
यतिबेला गाउँघरमा बेग्लै रौनक हुनुपर्ने हो । देश परदेशबाट दशैं मान्न स्वदेश फर्किएकाहरूको चहलपहल पनि बढ्नुपर्ने हो तर यो बर्ष विगतको बर्षहरूमा जस्तो उल्लास छैन । सवैतिर उही निरासा छ । विदेशबाट फर्किएकाहरू पनि आर्थिक अभाव र तनावकै कुरा गर्छन । सायद महंगी बढेकोले हुनसक्छ बजारमा खरिददारीको रौनक पनि छैन । मुलुकको आर्थिक विकास र सम्मृद्धिको आधारमाथि तुषारापात भैरहेको छ । देश आर्थिक हिसावले जर्जर छ । त्यसो त आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासको पहिलो सर्त हो– राजनीतिक स्थीरता । दैनिक शासन सञ्चालन गर्ने प्रशासन होस् या शासनका अन्य पात्र राजनीतिबाटै प्रत्यक्ष अप्रत्यक्ष रूपमा निर्देशित हुने गर्छन् । देशको प्रशासनलाई क्रियाशील, सिर्जनशील र नतिजा उन्मुख बनाउनेदेखि निजी क्षेत्रलाई वस्तु तथा सेवाको उत्पादन र वितरणमा अनुशासित बनाउनेसम्मका कार्यमा राजनीतिको प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । देश विकासको खाका कोर्ने र सोलाई व्यवहारमा रूपान्तरण गरी मुलुकलाई समृद्धिपथमा लैजाने मूल जिम्मेवारी राजनीतिको हो । तर यही राजनीति अहिले धमिलो बनेको छ । धमिलो पानीमा माछा मार्ने तत्वहरू सलबलाएका छन । जसका कारण मुलुकमा दशैं आएपनि दशैंको रौनक छैन । यो बर्षको दशैं उजाड उजाड हुने हो कि भन्ने चिन्ता छ । दशैंलाई रौनकमय बनाउन आवश्यक आर्थिक पाटो कमजोर हुँदा त्यसको असर सम्पूर्ण क्षेत्रमा परिरहेको छ ।
नेपालमा अथाह प्राकृतिक र साँस्कृतिक सम्पदा छन । पर्याप्त सम्भावना हुँदाहुँदै पनि दीर्घकालीन सोचसहितको राजनीतिक नेतृत्वको अभाव, परिवर्तन भइरहने शासन व्यवस्था, नीतिगत अस्थिरताका कारण हामी विश्वसामु गरिब मुलुकका रूपमा चिनिन बाध्य भैरहेका छौँ । २०४६ सालको जनआन्दोलनपश्चात् नेपालमा स्थापित बहुदलीय शासन व्यवस्थाले ठूलो आर्थिक क्रान्ति ल्याउने सपना बुनिएको थियो । देशमा आर्थिक पुनर्जागरणको युग सुरु भएको हो कि भन्ने भान परेको थियो तर ती सवै रसातलमा बिलीन भए । अर्कोतर्फ राजनीतिक अस्थिरतासँगै फेरबदल हुने सरकारको नेतृत्वले सरकारको नीति तथा कार्यक्रममा मात्र प्रभाव नपारी यसले हाम्रो समग्र आर्थिक, सामाजिक तथा अन्तर्राष्ट्रिय नीतिहरूमा प्रभाव परेको छ । अस्थिरताकै कारण सरकारको स्थायी संयन्त्र कर्मचारीतन्त्र समेत अहिले अन्यमनस्कमा छ । निजामति ऐनका बिषयमा भैरहेको बहस अन्तिम किनारसम्म पुगेको छैन । शैक्षिक क्षेत्र पनि त्यस्तै अन्यौलग्रस्त छ । अझ भनौँ राजनीतिक अस्थिरताका कारण देश दिशाविहीन बन्न पुगेको छ । जसले मुलुकको समग्र विकास प्रक्रिया तथा सेवा प्रवाहलाई जनमुखी, मितव्ययी र प्रभावकारी बनाउने विषयमा चुनौती थपेको छ । आखिर किन नेपालमा यस प्रकारको बिसंगति उत्पन्न भैरहेको छ ? सोचनीय बिषय छ । एउटा कारण आर्थिक तथा सामाजिक दुवै हिसाबले पछाडि पर्नुको एउटा प्रमुख कारण छोटो समयमा सरकार परिवर्तनको श्रृंखला बढ्नु पनि हो । सत्ता र शक्तिका लागि मुलुकलाई अस्थिरतामा धकेलिरहने हाम्रो वर्षौंदेखिको राजनीतिक परम्पराले नागरिकको राजनीतिप्रतिको विश्वास टुटाउँदै लगेको छ ।
मुलुकप्रतिको निष्ठा र नैतिकतालाई ओझेलमा राखेर गरिने यस प्रकारका क्रियाकलापले मुलुक उन्नतीको शिखर चढ्न सक्दैन । जसका कारण मुलुकमा सांस्कृतिक बिचलनको अवस्था आउने गरेको अहिलेको दशंैको अवस्थाले चरितार्थ गरिदिएको छ । राजनीतिलाई आर्थिक या अन्य कुनै फाइदा आर्जन गर्ने व्यवसाय हैन, समाजसेवामा समर्पित हुने अभियानका रूपमा जबसम्म बुझ्न र लिन सक्दैनौँ तबसम्म सत्ता र शक्ति वरिपरि राजनीति घुमिरहने निश्चित छ । त्यसैले नेताहरूले पनि अव आफैबाट परिवर्तन सुरु गर्नु जरुरी छ । जनतामा ब्याप्त निरासा र कुण्ठाको अन्त्यका लागि अवको भरमग्दुर प्रयास बाञ्छनीय छ । यो दशैंमा उत्साह जागृत हुन नसक्नुका पछि धेरै कारण होलान, त्यसमध्ये प्रमुख कारण यो पनि हो । तसर्थ यो दशैंलाई उल्लासमय बनाएर रौनक सिर्जना गर्ने वातावरण तयार गर्दै आगामी नयाँ नेपालको समुन्नत रूपरेखा कोर्नेतर्फ हामी सवै लागौं ।