© २०२३
आज बडादशैंको पहिलो दिन । घर घरमा घटनास्थापना गरिएपछि औपचारिकरूपमा नेपालीको घर आँगनमा दशैंको प्रवेश भएको छ । घटस्थापनासंगै दशैं नेपालीहरूको घर आँगनमै भित्रिएको छ । दशैंको रौनक सुरु हुँदैगर्दा भने नेपालीहरू मूल्यबृद्धिको चरम मारमा परेका छन । दिन दुगुना रात चौगुना मूल्य बृद्धि भैरहेको छ । मूल्यबृद्धिको रफ्तार यति तीब्र भएको छ कि उपभोक्ताको क्रयशक्ति कमजोर भैसकेको छ । कमजोर क्रयशक्ति भएको बेला दशैंले नेपालीको माझमा खासै उल्लास नल्याउने चिन्ता बढेको छ । हरेक कुरामा मूल्यबृद्धि हुँदापनि सरकार बेखबर जस्तै छ । यही बेला बजार अनुगमनका नाममा ब्यापारीलाई त्रसित बनाउनेमात्र काम भैरहेको छ । बजार अनुगमनले मूल्य घटाउँदैन । बर्षको एकपटक औपचारिकताका नाममा दशैंमा गरिने बजार अनुगमनले उपभोक्तालाई खासै लाभ दिन सकेको छैन ।
सबैतिर निरासा छ । यही बेला नेपालबाट तेश्रो देश निर्यात निरन्तर ओराली लागिरहेको अवस्था छ । आयात सोही मात्रामा बढ्दै गर्दा नेपालको बजारमा मूल्यबृद्धिको मार उच्चतहमा बृद्धि भएको छ । यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परिरहेको छ । सरकारले आयातलाई नियन्त्रण गर्ने र निर्यात बृद्धि गर्ने भन्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेपनि त्यो प्रभावकारी नहुँदा नेपाली बजार उपभोक्ताको पहुँचभन्दा बाहिर गैरहेको छ । यो गंभीर परिस्थितिमा बाहिरी देशवाट नेपालमा आईरहेको रेमिटान्सले समेत बजारमा मूल्य बढाउन मद्दत गरिरहेको छ । सरकारले बजार मूल्य नियन्त्रणका लागि कुनै कार्यक्रम सार्वजनिक गर्न नसक्दा तल्लो स्तरका जनता तथा उपभोक्ताले ठूलो भार खेप्नु परिरहेको छ । मूल्य नियन्त्रणको उपाय हुँदा पनि नेपाल सरकारले त्यसतर्फ खासै ध्यान दिएको छैन ।
यतिबेला बजारमा दशैंको रौनक सुरु भैसक्नुपर्ने हो । देश विदेशबाट आउने नेपालीहरूको भीडले गाउँ घर शहर बजार सवैतिर चलहपहल बढ्नुपर्ने हो तर बजारमा रौनक छैन । गाउँघर सुनसान छन । सवैतिर उही कुरा छ– महंगीले आकास छोएको छ । बजारमा गएर केही सामान पनि किन्नै सकिदैन । बजारमा मूल्य बृद्धिको अनुगमन र नियन्त्रण गर्ने नेपाल राष्ट्र वैंकले समेत यो वर्ष यस विषयमा खासै ध्यान दिएको छैन । गत दुई वर्षअघि यही परिस्थितिमा राष्ट्र बैंकले बजार हस्तक्षेप गर्ने घोषणा गरेको थियो तर यो वर्ष राष्ट्र बैंकको मौनता आफैमा रहस्यमय बन्दै गएको छ । राष्ट्र वैंकले एक महिनाअघि सार्वजनिक गरेको आर्थिक सुचकांकमा मुलुकको आर्थिक बृद्धि चार प्रतिशतको हाराहारीमा रहने आँकलन गरेको थियो तर आर्थिक बृद्धिमा समेत खासै सुधार आउने संभावना देखिँदैन । अर्कोतर्फ राष्ट्रबैंकले समेत महंगी नियन्त्रणको सवालमा मौनता कायम राखेको छ । अन्ततः नेपाली जनता महंगीको कडा मारमा पर्न विवस भएका छन । वस्तुको मूल्य नियन्त्रण सरकारको दायित्व हो तर सरकारले त्यही रूपमा काम गर्न नसक्दा अहिले हरेक बस्तुको मूल्य नियन्त्रण बाहिर गएको छ ।
मूल्य बृद्धि नियन्त्रण नहुँदा सर्वसाधारण जनता ठूलो मारमा परेका छन् । व्यापारी तथा वस्तु उत्पादक समेत चेपुवामा छन । बैंक ब्याजले उद्योगी व्यवसायी प्रभावित भएका छन । यस गंभीर विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्ने हो तर सरकारको कमजोरीको फाईदा लिनेहरू सल्बलाउने अवस्था आएको छ । यो जनताका लागि दुःखद पक्ष हो । राष्ट्र वैंकले बजार मूल्य नियन्त्रणमा छैन भनिरहँदा समेत सरकारले बजारलाई काबुमा राख्न सकेको छैन । नेपाली जनता महंगीको मारमा पर्दा समेत सरकार रमिते वन्नु दुःखद विषय हो । यो सरकारको लाचारीपन बाहेक केही होइन । अर्को कुरा नेपालीहरूको चाडपर्व सुरु भैसकेको सन्दर्भमा सरकारले कम्तिमा पनि आम उपभोक्तालाई राहत दिने कार्यक्रमको घोषणा गर्नु जरुरी छ ।