© २०२३
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस हरेक वर्षको अक्टोबर १ तारिखमा विश्वभर मनाउने गरिएको छ । नेपालमा पनि यो दिवस आईतवार मनाईदैछ । पछिल्लोसमय बृद्धहरूप्रति दुव्र्यवहार बढ्दै गएको छ । आफ्नै परिवारबाट पनि बृद्धहरू तिरस्कृत हुँदै आएका छन । निश्चितरूपमा बृद्धहरू ज्ञानका खानी हुन । उनीहरूको सीप भावी पुस्ताका लागि प्रेरणाको श्रोत हो । उनीहरूप्रतिको सम्मानले नै संस्कारजन्य समाजको निर्माण हुन सक्छ । ज्येष्ठ नागरिक हाम्रा समाजका उपल्लो दर्जाका आदर्श हुन । आजको पुस्ताले बृद्धहरूबाट परम्परागत सीपको संरक्षण र अनुसरण गर्नु आवश्यक छ । हाम्रा पूर्वज असंख्य ज्ञान र सीपका खानी हुन । तिनको ज्ञान र सीप हामी र हामी सन्ततीको जीवन अघि बढाउन महत्वपूर्ण छन ।
नेपालमा राष्ट्रिय जनगणना २०७८ अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको संख्या १२ प्रतिशत अर्थात करिव २५ लाखको हाराहारीमा रहेको अनुमान छ । यसमध्ये ५ प्रतिशत पारिवारिक कलहबाट ग्रसित तथा सहाराविहीन छन् । रोग, भोक र शोकमा डुबेर अनि पारिवारिक बुहार्तन सहेर नै ती बृद्धबृद्धाहरूको देहलीला समाप्त हुने गरेको छ । यो तथ्याँकले समयक्रमसंगै बढ्दो गरिबी र पश्चिमी सभ्यताको प्रभावले नेपाली सामाजिक संस्कारहरूमा क्रमशः विचलन आउंदै गरेको देखाउँदैछ । जसको प्रभावको प्रत्यक्ष असर बृद्ध बृद्धाहरूप्रति गरिने कर्तव्यमा क्रमशः विमुखता हुंदैछ । जेष्ठ नागरिकहरू घरमा सम्मानित भएर होइन, बृद्ध आश्रममा मृत्यु पर्खेर बस्न विवस छन । वृद्धहरू क्रमशः उपेक्षित जीवनयापन गर्नुपर्ने स्थिति पनि देखिंदैछ । नेपाली सामाजिक मूल्य, मान्यता र धार्मिक आस्थामा पनि बृद्धहरूलाई आदर, सम्मान र सेवा गर्नुपर्ने तथ्य प्रचलित छन् तर, आजको हाम्रो समाज र संस्कार बिचलित र उद्वेलित बन्दै गएको छ ।
ज्येष्ठ नागरिक सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट वञ्चित रहेको देखिएको छ । उनीहरू अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा छन । ज्येष्ठ नागरिकको रेखदेख र सहयोग गर्ने व्यक्तिको अभाव घरभित्रै पनि खड्कदो छ भने भएकामा पनि वृद्धावस्था व्यवस्थापनको सीप एवं अनुभवको अभाव छ । गाउँबाट सहर, सहरबाट विदेशमा हुँदै बसाइँसराइ र बढ्दो वैदेशिक रोजगारीका कारण ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणमा चुनौती थपिदै गएको छ । ज्येष्ठ नागरिक उमेरजन्य अपहेलनाको सिकार हुने गरेका छन् । यस्तो अवस्थामा घरपरिवार, छरछिमेक, समाजबाट अपहेलित भई चुपचाप सहनु, एक्लै टोलाउनु, एकान्तमा तपतप आँसु चुहाउनु र चाँडो मृत्युको कामना गर्नुपर्ने स्थिति आउँछ । उमेरजन्य विभेद अन्त्यको यात्राका लागि प्रत्येक अस्पतालमा ज्येष्ठ नागरिकको उपचारको विज्ञ चिकित्सक, उपकरण, वार्ड र बेडको व्यवस्था गर्नुपर्छ । बृद्धहरू अनेकखाले जोखिमबाट प्रभावित छन । उनीहरूलाई जोखिमबाट टाढै राख्न सकियो भने उनीहरूप्रति साँचो सम्मान हुनेछ । इतिहास विर्सने हाम्रो बानी र विगतबाट पाठ नसिक्ने हाम्रो समाजलाई संस्कार दिन अव सरकारको ध्यान जानु जरुरी छ । दिवस मनाएरमात्र जेष्ठ नागरिकप्रतिको कर्तव्य पूरा हुँदैन । उनीहरूलाई माया र सम्मानको उत्तिकै खाँचो छ । सरकारले पनि जेष्ठ नागरिक सम्मानको वातावरण बनाउनु जरुरी छ । राज्यले पनि जेष्ठ नागरिकहरूको सेवामा ध्यान दिनु जरुरी छ । जेष्ठ नागरिकको सम्मान गर्न सकिएन भने भोलीको पुस्ताले समेत आफ्नो दायित्व र कर्तब्य बिर्सने छ । अतः बृद्ध बृद्धाप्रतिको सम्मान प्रत्येक घर परिवारबाट सुरु गरौं ।