© २०२३
काठमाडौं, १४ भदौ ।
रुपन्देही सैनामैना ८ का विनोद श्रेत्रीले दाहिने हातको पाखुरा मा श्रीमतीको टाटु बनाएका छन् । उनले त्यही टाटुलाई नयाँ रुप समेत दिएका छन् त्यसको वरपर अरु आकृति खोपेर । टाटुका सौखिन विनोद वैदेशिक रोजगारीको शिलशिलामा बिगत केही वर्षदेखि इजरायलमा रहेकी श्रीमतीको सम्झनामा उनको चित्र टाटुमा उतारेको बताउँछन् ।
श्रीमान श्रीमतीको माया र सम्बन्ध थप सुमधुर हुने भन्दै उनले टाटु खोपेको सुनाए । उनले भने, ‘टाटु मलाई साह्रै मन पर्छ । श्रीमतीको टाटु बनाएको छु । त्योसँगै पुरै हातभरि अन्य कलाकृतिले भर्दैछु ।’
हातमा टाटु बनाएर आफु युनिक भएको महशुस गर्नुका साथै श्रीमतीको टाटुले माया, विश्वास र सम्बन्ध थप प्रगाढ हुने विश्वास छ । उनले भने, उनले भने, ‘दुरीले टाढा छौं । उनको चित्र शरीरमा उतार्दा आफुसँगै भएको अनुभुति हुन्छ । साँच्चै भन्नुपर्दा श्रीमतीको माया र विश्वास जित्नकै लागि उनको चित्र पाखुरामा उतारेको हो ।’
सुनवलकी अनिता सापकोटाले देब्रे हातको नाडीमा लभको चिन्ह बनाएर फेमिली लेखेकी छन् । साथै उनको नाडीमा ऊँँँँँँँँँँँँ समेत छ । टाटु बनाउनु उनको सौख हो । उनी भन्छिन्, ‘सौख पनि पुरा हुने, परिवारसँगको आत्मियता र सामिप्यता पनि प्रकट हुनुका साथै आध्यात्ममा पनि रुची भएकाले ऊँ को चित्र उतारेको हो ।’ एकपटक खोपेपछि जीवनभरि रहने सजिलै हटाउन नमिल्ने भएकाले पनि धेरै सोचेर टाटु बनाएको उनले बताइन् । ‘टाटु जीवन्त रहने, आफ्नो जीवनको अन्तिम समयसम्म सम्झनाका लागि बनाइने भएकाले बनाउनु अगाडि सोचेर बनाउनुपर्छ’, उनले भनिन् ।
शरीरका विभिन्न भागमा टाटु खोप्ने विश्वब्यापी चलन हो । नेपालमा पनि टाटु खोप्ने चलन बढेसँगै टाटु आर्टको व्यावसायिकता पनि पछिल्लो समय बढेको छ । शरीरको विभिन्न भागको छालामा विभिन्न आकृतीलाई कलात्मक ढंगले उतार्ने कला नै टाटु हो । समय फेसनको छ । बिशेषगरी युवा पुस्ताको फेसन बनेको छ टाटु । उनीहरु टाटुलाई फेसनको रुपमा स्वीकार गरिरहेका छन् । आफुलाई अलि युनिक र स्मार्ट देखाउन साथै केही सम्बन्ध वा वस्तुप्रतिको प्रेम प्रकट गर्न टाटु बनाउने चलन बढेको टाटु आर्टिष्ट बताउँछन् ।
नेपालका थारु समुदायमा शरीरका विभिन्न अंगमा विशेष गरेर फूल, चरा, माछा, मयुर लगायत आकृती खोप्ने चलन धेरै पहिलेदेखि थियो । जसलाई थारु भाषामा ‘गोदना’ गर्ने भनिन्छ । थारु समुदायमा गोदना नगरे बिहे गरेर श्रीमानको घरमा गएपछि पानी नचल्ने भएकाले छोरी अनिवार्य गोदना गर्नुपर्ने चलन छ । यो चलन अहिले भने परिमार्जित र आधुनिक भएर सहरी संस्कृतिका रूपमा युवाले अँगालेको टाटु आर्टिष्ट विशालजंग थापा बताउँछन् । विगत दश वर्षदेखि टाटु आर्टिष्टका रूपमा काम गर्दै आएका उनले टाटु हाम्रो आफ्नै संस्कृती र परम्परा भएको यो आयातित संस्कृती नभएको दाबी समेत गरे ।
उनले भने, ‘कुनै समय टाटु पुरुषले मात्र बनाउने भन्ने चलन थियो, तर अहिले त्यो अवस्था छैन, धेरै परिवर्तन भएको छ । अहिले आमासँगै छोराछोरी टाटु बनाउन आउँछन् । एउटै डिजाईनको टाटु बनाउने भनेर परिवार नै आउँछन् ।’ नेपाल घुम्न आउँदा नेपाली कलालाई नै शरीरमा खोपेर जाने विदेशी पनि धेरै छन् । त्यस्तै बिदामा नेपाल आएका नेपालीले पनि फर्कदा टाटु बनाएर फर्कने गरेका छन् । उनीहरूको रोजाइमा विशेषगरी काल भैरव, भैरवी, गणेश, हनुमान, महाकाली, बुद्ध, लट्टे शिव लगायत आर्ट पर्ने गरेको छ । आफ्नो रुची अनुसार यसलाई प्रयोग गर्न सकिन्छ । टाटु आर्टिष्टले भगवानदेखि खेलाडीसम्म, विभिन्न आकृतीदेखि कला–संस्कृतिसम्मलाई शरीरमा कलात्मक ढंगले प्रस्तुत गर्छन् । आफूलाई मनदेखि नै मन परेका विषयलाई टाटु आर्टिष्टमार्फत शरीरमा प्रतिबिम्बित गर्न पाउँदा टाटुप्रेमीहरू पनि उत्साहित हुन्छन् । कतिपय व्यक्तिले प्रदर्शनकै लागि टाटु खोपाउँछन । उनीहरू आफ्नो टाटु प्रदर्शन गर्दै अरूको ध्यान खिच्न खोज्छन् । कोही सम्झनाका लागि टाटु बनाउँछन । उनीहरू आफ्नो टाटुको प्रदर्शन गर्दैनन्, स्पेशल व्यक्ति अथवा आफैले हेर्नका लागि टाटु बनाउँछन । गोप्य अंग वरिपरी टाटु खोपाउनेहरू पनि उत्तिकै छन् । कतिपयले बढी मात्रामा देखिने शरीरको भागमा टाटु खोपाउने गरेका छन् । मान्छेका भावना, विचार अनि सम्बन्ध जनाउने खालका वस्तु अनि व्यक्तिका आकृतिका टाटु बनाए राम्रो हुने उनको सुझाव छ ।
सामान्य टाटु बनाउँदा २५ सय रुपैयाँदेखि माथि समय, डिजाईन् हेरेर खर्च लाग्ने विशाल बताउँछन् । एउटा हातभरि खोपेको ४० हजारसम्म लिने गरेको बताउँछन् । ‘टाटु बनाउँदा प्रयोग गरिने रङ र निडल ब्यक्ति पिच्छे परिवर्तन गर्नुपर्दछ । ‘एउटालाई प्रयोग गरेको अर्कोलाई गर्नु हँुदैन,’ उनले भने । उनका अनुसार टाटु हानेपछि पानी, घाम, धुलोबाट बचाउनुपर्छ । एक सातासम्म राम्रो हेरचाह गरेपछि खासै समस्या नआउने उनी बताउँछन् । टाटु बनाउँदा कालो, हरियो, रातो, नीलो रङको धेरै प्रयोग गरिने उनी बताउँछन् ।
‘परिवारले अहिलेसम्म राम्रो सहयोग गरेको भएर नै म टाटु आर्टिस भएँ,’ उनले भने, ‘कामप्रति सन्तुष्ट पनि छु ।’ पहिला टाटुलाई नकारात्मक रूपमा हेरिए पनि हिजोआज बिस्तारै सोच परिवर्तन भएको उनको भनाई छ ।
टाटु बिजमा आउने ग्राहकलाई सोचविचार गरी आफूलाई पछि असर नपर्ने खालको आकृृती खोपाउनुपर्ने सुझाव दिन्छन् । टाटु आर्टिष्ट समिर श्रेष्ठ भन्छन्, ‘एक पटक खोपेपछि मेट्न गाह्रो हुने । रेजर गरेर मेट्नुपर्ने भएकाले पछि सम्मलाई सोचेर खोपाउनुपर्छ ।’ पछिल्लो समय खोपाउन आउने धेरैले टाटुको डिजाइन आफै लिएर आउने उनी बताउँछन् । ‘इन्टरनेटको प्रयोगले मनपर्ने डिजाइनको आर्ट सजिलै पाइन्छ, आफै डिजाइन लिएर आउँछन्,’ उनले भने । पहिलाको तुलनामा टाटुको फेसन बढिरहेको छ् । टाटुमा विशेष गरी किशोरकिशोरीको आकर्षण रहेको तर, जुनसुकै उमेर समूहका आउँछन् । उनीहरूले बनाउने टाटु पनि अर्थपूर्ण हुने गरेको छ । ‘आफ्नो जीवनमा अर्थ राख्ने खालका आकृती बनाउने प्रवुत्ती धेरै छ । टाटु त्यस्तै अर्थपूर्ण बनाउनु नै राम्रो हुन्छ,’ उनले भने ।