© २०२३
बर्दघाट, १२ भदौ । नेपाली उखान ‘१२ बर्षमा खोला पनि फर्कीन्छ’ भनेझै नवलपरासीका खेम ढुंगाना पनि १२ बर्ष विदेश कटाएपछि गाउँमा फर्किएका छन् । विदेशको पसिनाको उचित मूल्य नपाएपछि उनी स्वदेशमै पसिना बगाउन तयार भएका हुन् । आफू पनि स्वरोजगार हुने अरूलाई पनि रोजगारी दिने उनले रहर पालेका छन् । त्यही रहरले उनी कृषि कर्ममा जुटेका छन् । पश्चिम नवलपरासीका कृषक खेम ढुंगानाको पछिल्लो दिनचर्या खेतबारी चाहार्दैमा बित्ने गरेको छ ।
कहिले साउदी अरब त कहिले इराकसम्मको बैदेशिक रोजगारीमा युवावस्था बिताएका ढुंगाना पछिल्लो ६ वर्षदेखि भने कृषिकर्ममा निरन्तर सक्रिय छन् । बर्दघाट नगरपालिका वडा नम्बर ५ को नेपालडाँडामा करिब ४ विघा क्षेत्रफलमा फलफूल खेती, कागती खेती र ड्रागन फ्रुटसँगै पशुपालन, कुखुरा पालन र मत्स्यपालन गर्दै आएका छन् । साउदी अर्बमा ८ वर्ष बैदेशिक रोजगारीमा समय बिताएका ढुंगाना नेपाल आएपछि नेपालमै केही गर्ने उद्देश्यले २०६२/०६३ सालतिर भिडियो इडिटिङ्ग स्टुडियो सञ्चालन गरी नेपालमै बस्ने निधो गरेका उनी करिब ३ वर्ष स्टुडियो चलाएर स्टुडियोमा भविष्य नदेखेपछि इराकलाई बैदेशिक रोजगारीको गन्तब्य बनाएर ४ वर्ष उतै बिताए ।
इराकबाट फर्र्किएपछि पुनः ब्यवसाय गर्ने सोँचका साथ काठमाडौंमा होटल संचालन गरेर २ वर्ष बिताए । होटल ब्यवशायमा समेत रम्न नसकेपछि उनी आफ्नै ठाउँमा आएर २०७२ बाट कृषि पेशा अँगालेर निरन्तरता दिइरहेका छन् । सुरुवाती दिनहरूमा लोकल कुखुरा पालन सुरु गरेका ढुँगानाले कुखुरा ब्यवसायबाट सफल हुन सकेनन् तर लगानी भने नडुबेको बताए । उनले भने सुरुवातमा ६ सय लोकल कुखुरा पालन गरेँ तर बिक्री गर्न लायक भएका करिब ४ सय कुखुरा एकैसाथ मरेपछि कुखुरापालनमा मन मर्यो तर हरेश खाइन ।
करिव १ विगाहा आफ्नै जग्गा र ३ विगाहा जग्गा एकै ठाँउमा लिजमा ब्यवस्थापन भएपछि भने उनी फलफूल, कागती खेतीतर्फ आकर्षित भए । अहिले करिव १ विगाहा क्षेत्रफलमा ड्रागन फ्रुट, ६ कठ्ठा क्षेत्रफलमा कागती खेती, करिव १५ कठ्ठा क्षेत्रफलमा माछापालन गरेका छन ।
करिव १५ लाख रूपैयाबाट ब्यवशाय सुरु गरेका ढुँगानाले आगामी १० वर्षको योजना बनाएर ब्यवशाय गरेका छन । ‘अहिले त मैले कुनै खेतीबाट पनि आम्दानी सुरु गरेको छैन, तर १० वर्षे योजना अनुसार अघि बढेको छु ,’उनी भन्छन–‘अहिले कागतीले खर्च धानिरहेको छ, ड्रागन फ्रुटको उत्पादन पनि सुरु भएको छ, अवको सिजनमा माछा समेत उत्पादन हुनेछ ।’
आगामी वर्षदेखि वार्षिक कम्तीमा पनि २० लाख रूपैया आम्दानी हुने आँकलन ढुँगानाले गरेका छन । ड्रागन फ्रुटका करिब २ हजार बोटले निरन्तर ५ वर्ष आम्दानी दिनेछ, यस्तै कागती निरन्तर उत्पादन भएको छ, उनले भने । करिब १० कठ्ठा जमिनमा एभोगाडो र बाह्रमासे कटहर पनि आगामी वर्षदेखि उत्पादन हुने उनले बताए ।
फलफूल सँगै उनी भैसीँपालनको योजना समेत अघि सारेका छन । करिव २० लाख रूपैयामा भैसीँ गोठ तयार पारेर भैँसीको लागि आवश्यक घाँस समेत ब्यवस्थापन गरिसकेका छन । खेर गइरहेको बगरमा विभिन्न प्रजातीका फलफूल लगाएर कृषि क्षेत्रमा केही योगदान गर्ने साँेच राखेपनि सरोकारवाला निकायको सहयोग भने नपाएको उनले गुनासो गरे । किसानले उत्पादन गरेका कृषि उपजमा विचौलियाको राज भएको उनको गुनासो छ । उत्पादित कृषि उपजको बिक्रीको लागि आफैले बजार खोज्नुपर्ने बाध्यता रहेको छ । ‘उत्पादित उपजको मूल्य किसानले गर्न पाउँदैनन, विचौलियाले नै मूल्य निर्धारण गर्ने गरेका छन, सरकारले उत्पादनको मूल्य तोक्नु पर्छ’ उनले भने ।
आफ्नो उत्पादनको मूल्य स्वयं कृषकले तोक्ने वातावरण नबन्दा उत्पादित उपजले लागत मूल्य पनि नपाउने सम्भावना बढेको उनले बताए । ढुंगाना अहिले ड्रागन फ्रुटको बिरुवा उत्पादन समेत गर्दै प्रति गोटा मात्र १० रूपैयामा बिक्री गर्दै आएका छन ।
बर्दघाट नगरपालिकाका नायव कृषि प्राविधिक सहायक खुमकान्त न्यौपानेले प्राविधिक रूपमा सहयोग गरेपनि नयाँ प्रविधिको प्रयोग नभइ परम्परागत कृषि प्रणाली आफूले अँगालेको उनले बताए ।
‘बर्दघाट नगरका विभिन्न वडा र क्षेत्रहरूलाई पकेट क्षेत्रको रूपमा विकास गरिएको छ तर कृषिमा आधुनिकीकरण हुन सकेको छैन, आधुनिकीकरण गरी कम लागतमा अधिकतम उत्पादनतर्फ कृषकहरूलाई आकर्षित गर्नुपर्छ’, न्यौपानेले भने ।
ढुँगानाले आफ्नो जमिनबाट १० वर्षपछि आम्दानी लिने गरी करिब १ विगाहा क्षेत्रफलमा रक्तचन्दन र मलेशियन साल समेत लगाएका छन । एक वर्षिय खेती भन्दा बहुवर्षिय खेती गर्दा लगानी कम हुने र आम्दानी बढि हुने उनले बताए । सरकारी निकायबाट प्राविधिक सहयोग पाए पनि अनुदान भने नपाएको उनको भनाइ थियो । नेपालमा भविष्य छैन भनेर विदेशिने युवा जनशक्तिलाई कृषि, पशुपालन वा मत्स्यपालनमै भविष्य देखाउन उनी सफल हुने हुन वा होइनन् यो भने हर्न बाँकी नै छ ।