© २०२३
दाङ, १० भदौ ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर –७ का सुन्दर चौधरीको खेतमा रोपेको धान पसाउँदै छ । उनले असार १५ मा कलमी गरेर रोपेको धानका गाँज लोभलाग्दो छ । सोही पालिकाको वडा नम्बर ६ का पुनाराम चौधरीको खेत पनि हराभरा छ । मध्य असारमा कलमी गरेको धान खेतमा पसाउन थालेको छ ।
उनीसँगै गाउँका सबैले आफ्नो खेतमा रोपेको धान पसाउन लागेको छ । बाह्रै महिना सिँचाई सुविधा भएको यो ठाउँका किसानले खेत बाँझो राख्दैनन् । यो पटक पनि उनीहरुको सबै खेत धानका बोटले भरिएको छ । राप्ती गाउँपालिकाको प्रायः सबै वडामा धान खेती हुने गरेको छ । यो पालिकाको अधिकांश वडालाई कृषि पकेट क्षेत्रका रुपमा पनि लिने गरिएको छ ।
देउखुरीको लमही, गढवा, राजपुरका वडामा पनि अहिले धानका बोट फस्टाई सकेको छ । मध्य असारमा रोपेको धानका बोट पसाउने बेला भएर होला धानको विशेषता अनुसार बासना मगमग बसाउने भएको छ ।
केही ठाउँमा रैथाने जातका धान रोपिएका छन् । प्रायः ठाउँमा हाईब्रीड धान रोपिएका छन् । ‘धानलाई यो बेलामा अलि धेरै पानी चाहिन्छ, नदीको पानीको सहज सिँचाई छ, त्यसमा पनि आकाशबाट पानी परेको छ, यसले धानलाई अझ बढी फाईदा भएको छ’ उनले भने, ‘करिव ५० दिनका धानका बोट भइसकेका छन् अब पसाउँदै छ । यो बेला धानको परागको बासनाको सुगन्ध कति मिठो आउँछ ।’
यो बेलामा धानले बाला हाल्न लागेको छ । धानको बोटबाट निस्कने मीठो सुगन्धले धान रोपाइँको सबै दुखकष्ट बिर्साउने काम गरेको उनी बताउँछन् । ‘यो बेलामा मेहनतको फल आँखाको अगाडि भएको भाग हुन्छ, सबै दुखकष्ट बिर्साई दिन्छ, खेतमा धानको परागले दिने मीठो बासनाले मन नै आनन्दित हुन्छ, जताततै धानका बोल पसाउन लागेको छ, सबैतिर मगमग बासनाले वातावरण नै मोहित बनेको छ’ उनले भने ।
देउखुरी क्षेत्रमा करिव साढे १२ हजार हेक्टर क्षेत्रफलमा यो पटक धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले देउखुरी क्षेत्रमा साविककै अवस्थामा धान रोपाइँ भएको बताए । ढिलो गरी पानी परेपनि देउखुरीका अधिकांश जमिनमा सहज सिँचाईको सुविधा भएकाले कृषकले समयमै धान रोपेको उनको भनाई छ ।
दाङ उपत्यकामा भने अधिकांश खेतमा आकाशे पानीको भरमा खेती हुने गरेकाले यो पटक विगत वर्षभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । दाङमा झण्डै ९४ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछानेले बताए । यो पटक ढिलो गरी पानी परेको तथा अरु कारणले पनि जिल्लामा विगत वर्षभन्दा ५ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
जिल्लाका केही ठाउँमा जग्गा प्लटिङ गरिएका छन् । यस्तै, उँचो ठाउँमा केही कृषकले तरकारी खेती गर्न थालेपछि धान रोपिएको छैन । उनले भने, ‘दाङमा यो पटक समयमा राम्रोसँग पानी नपर्नु, केही खेतहरु प्लटिङ हुनु, उँचो जमिन भएको ठाउँमा तरकारी खेती गरिनु जस्ता कारणले पनि यो वर्ष २२ सय ४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएन ।’
ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३५ हजार १ सय ८५ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ । अघिल्लो वर्ष जिल्लामा ३७ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । समग्र क्षेत्रफलमा धान रोपाइँ कम भएपनि रोपिएको ठाउँमा धानको उत्पादन राम्रो हुने देखिएको ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा ६५ हजार ९ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । जस मध्ये ३७ हजार ६ सय हेक्टर जमिनमा धान खेती हुने गरेपनि वर्षेनी धान रोपाइँको क्षेत्रफल घट्दै गएको छ । जिल्लामा ४० प्रतिशत जमिनमा सिंचाई सुविधा पुगेको ज्ञान केन्द्रले जनाएको छ । करिव २२ हजार हेक्टर जमिनमा पूर्णरुपमा सिंचाई सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिंचाईको व्यवस्था छ ।