© २०२३
रुपन्देहीको बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले डोजर लगाएको भत्काएको ६ महिना बित्यो । तर घरहरु भत्काएको ६ महिनासम्म ठेकेदार कम्पनीले सडक निर्माणको कामलाई अगाडि बढाउनुको साटो बेपत्ता भयो ।
बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाले पटक पटक ताकेता गरेपछि बल्ल निर्माण कम्पनीले सडकका खाल्डा पुर्ने काम सुरु भएको छ । यो सडक निर्माणको ठेक्का साढे तीन बर्षअघि नै द कञ्चनजंघा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले शुक्रबार पटक पटक आयोजना प्रमुख समेत रहेका डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीलाई टेलिफोन गरेका थिए । तर लामो समय बेपत्ता भएपछि आक्रोशित बनेका मरासिनीले उनको फोन उठाएनन् ।
“बिहीबारदेखि मात्रै ठेकेदार कम्पनीले सडकका खाल्डा पुर्ने काम सुरु गरेको छ, शुक्रबार मलाई पटक पटक फोन आएको थियो, तर मैले उठाइन”–सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेकोमा तीव्र असन्तुष्टि जनाउँदै मरासिनीले बुटवल टुडेसँग भने ।
तर ठेकेदार सुमित श्रेष्ठले भने कोभिडका कारण सडक बिस्तारको काममा ढिलाई हुन पुगेको दावी गरे । “म आफै पनि कोभिडबाट संक्रमित भएँ, त्यसैले लामो समय काम रोकिन पुग्यो, त्यसमाथि जिल्ला प्रशासन कार्यालयले समेत निषेधाज्ञा जारी गरेपछि निर्माणको काम अघि बढ्न सकेन, अव भने सडक बिस्तारको काम निरन्तर अगाडि बढाउँछु”–उनले भने ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम लामो समय रोकिएको थियो । पछिल्लो पटक सडक विस्तार आयोजनाले गत पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घर धनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घर टहरा भत्काइएको थियो ।
पछिल्लो रिट निवेदनमा गत वर्षको असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गत पुस २० गते गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
“हामीले ताकेता दिएर सडक अतिक्रमण गरेर बनाएका घर भत्काउन लगायौं, अटेर गर्ने घरधनीका डोजर लगाएर भत्कायौं, तर जुन रफ्तारमा काम हुनुपथ्र्यो, ठेकेदार सम्पर्कमा नआउँदा ढिलाई हुन पुग्यो”– आयोजना प्रमुख मरासिनीले भने ।
उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा सबै घर भत्काइसकिएको छ ।
सडक क्षेत्रमा पर्ने घरधनीले घर भत्काएपनि सडक विस्तारको ठेक्का लिएको ठेकेदार कम्पनीले काम गरिरहेका छैन् । बुटवलमै ठेकेदार हराएर काममा ढिलाइ भएपछि बुटवलवासीले भने ठेकेदार नभई सरकार नै वेपत्ता भएको भनिरहेका छन् ।
सडक निर्माणको जिम्मा पाएको कन्जनजंघा बिरुवा जेभिले पेश्कीस्वरुप ८ करोड रुपियाँ लगिसकेको छ । उसले ४१ करोड २३ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । आगामी असारसम्म सडक बिस्तारको काम सक्ने गरी निर्माणको कामलाई अगाडि बढाउने ठेकेदार श्रेष्ठले बताए ।