© २०२३
रुपन्देहीको पत्रकारिता आज जहाँ छ ।
त्यसमा धेरैको हिस्सा छ । यसको अर्थ धेरै अग्रजहरुको समर्पण, त्याग, लगाव, निष्ठा मिश्रित छ ।
रुपन्देहीको पत्रकारिता इतिहास अध्ययनमा नछुट्ने अर्थात छुटाउन नहुने एक पात्र हुन् अर्जुन ज्ञवाली ।
पत्रकारितामा पाँच दशक विताएका रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीले प्रेस स्वतन्त्रता सेनानीको उपाधी पाएको १९ वर्ष भयो । २०५८ सालमा महासंघका तत्कालीन अध्यक्ष सुरेश आचार्य नेतृत्वको केन्द्रीय कार्यसमितिले प्रेस स्वतन्त्रता सेनानीको उपाधि प्रदान गरेका ज्ञवालीको फरक पहिचान छ । पदावी पाएका उनलाई प्रमाण पत्र बाहेक थप केही सेवा सुविधा दिइएको छैन ।
यति मात्र होईन वि.सं..२०७० सालमा नेपाल सरकारले ’बरिष्ठ पत्रकार सम्मान–२०७०’ बाट पनि सम्मानित गरेको थियो । उनले स्वर्गीय गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसकेका छन् । यद्यपि, रुपन्देहीमा अहिले क्रियाशिल रहेका पत्रकार माझ समेत उनको क्रियाशिलता ओझेलमा छ । “प्रेस स्वतन्त्रताको पक्षमा लडेका हामीहरुलाई राज्यबाट केही अपेक्षा छैन, तर प्रेस स्वतन्त्रता व्यवहारमा लागू होस् भन्ने माग छ”–उनी भन्छन् । नेपालका केही ठुला मिडिया हाउसहरुमा प्रकाशन स्वतन्त्रता भएको भएपनि सम्पादकीय स्वतन्त्रता नभएको उनको धारणा छ । नागरिकता अनुसार ७४ बर्षमा लागेका उनी भन्छन् –“प्रेस स्वतन्त्रता भन्दा पनि पत्रकारहरुको रोजीरोटीको ग्यारेन्टी आजको आवश्यकता बनेको छ ।”
अर्घाखाँचीको तत्कालीन चिदिका गाविसको ठूलाखर्कमा जन्मिएका ज्ञवाली २०२४ सालमा रुपन्देही झरेका हुन् । उनले पत्रकारिताको कलम पनि २०२४ सालेखि नै समाएका थिए । त्यतिबेलादेखि समाएको कलम अहिलेसम्म रोकिएको छैन । सँगसँगै उनले शिक्षण पेशा पनि गरे । सुरुमा उनले तत्कालीन अञ्चल पञ्चायतको सरकारी पत्रिका लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक भए र ८ वर्ष काम गरे । उनलाई त्यतिबेला न त पत्रकािरताको बारेमा अध्ययन थियो, न त तालिम नै । २०३२ सालमा उक्त पत्रिका बन्द भएपछि ज्ञवालीले शिक्षण पेशा थाले । तर पनि उनले आफ्नो पत्रकारिताको यात्रालाई विभिन्न समाचार, सम्पादकीय, लेख, टिप्पणीहरुमार्फत जारी राखे । उनको लेखन फिचरमा बढी केन्द्रित भयो । उनले त्यसयता दर्जनौ पत्रिकाको साथै स्मारिकाको पनि सम्पादन गरे ।
शिशाका अक्षर जोडेर सुरु भएको ज्ञवालीको पत्रकारिताको यात्रा अहिले प्रविधिसँग जोडिएको छ । “त्यतिबेला शिशा भन्ने धातुलाई पगालेर अक्षरको आकारमा ढालेर पत्रिकामा वाक्य बनाइन्थ्यो, प्रविधिको विकासले अहिलेको पत्रकारितालाई धेरै सजिलो बनाइदिएको छ”–उनको अनुभव छ ।
उनले २०५६ सालदेखि रेडियो लुम्बिनीको स्थापनासँगै त्यहाँको नेतृत्व गरे र कार्यक्रम पनि चलाए । बिगत र अहिलेको पत्रकारितामा आकाश–जमिनको फरक रहेको ज्ञवाली बताउँछन् । “मुलुकमा बहुदल आइसकेपछि पात्रकारितामा पनि दल पस्यो, यसले धेरै नै ठूलो चुनौती खडा ग¥यो, यो पत्रकारिताभित्रको ठूलो रोग हो”–उनी भन्छन् । अपवादबाहेक सबै पत्रकार पार्टीका कार्यकर्ता बन्ने परिपाटीले स्वतन्त्र र निश्पक्ष पत्रकारितामाथि चुनौती थपिदिएको उनको भनाइ छ ।
पार्टीका अलग अलग पत्रकारका संगठन हुन नहुनेमा उनको जोड छ । नेपाल पत्रकार महासंघ साझा संस्था भइसकेपछि पार्टीका संगठन आवश्यक नभएको उनको तर्क छ । लुम्बिनी प्रदेश सकरारले यसै वर्ष पत्रकारितामार्फत मानवअधिकार र समाजसेवामा विशिष्ट योगदान पु¥याएको भन्दै ज्ञवालीलाई समाजसेवा श्री पदकबाट पनि सम्मान गरेको छ ।