© २०२३
रोल्पामा हरेक तीन गर्भवती मध्ये एक जनाले घरमै वच्चा जन्माउने गरे पनि लुंग्री गाउँपालिकाले भने घरमा हुने सुत्केरीलाई शून्य वनाउने अभियान थालनी गरेको छ । घरमा हुने सुत्केरीले आमा र नवजात शिशुमा स्वास्थ्य समस्या आउने भन्दै गाउँपालिकाले यस्तो अभियान थालनी गरेको हो ।
वडा नं. १ पाङलाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकेको गाउँपालिकाले चालु आर्थिक वर्ष वडा नं. ४ र ५ लाई पनि घरमा हुने सुत्केरी शुन्य वडा घोषणाको तयारीमा लागेको छ ।
स्वास्थ्यकर्मी, आमा समुह र महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेर यसै वर्ष २ वटा वडा पनि सुत्केरी शून्य वडा वनाउदै छौ गाउँपालिकाका स्वास्थ्य संयोजक लेपेन्द्र वुढाथोकीले भने । समग्र गाउपालिकामा संस्थागत सुत्केरीको अवस्था कस्तो छ भनेर घरधुरी सर्वेक्षण गरि केही वर्ष भित्रै गाउँपालिकालाई नै घरमा हुने सुत्केरी शून्य वडा घोषणा गछौ संयोजक वुढाथोकीले भने ।
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न सुत्केरी र गर्भ चेकजाँच गर्न स्वास्थ्य संस्था आउने गर्भवतीहरु लाई नुन तेल प्रदान गर्ने गरेको लुंग्री गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष शिवराम केसीले जानकारी दिए । अघिल्लो वर्ष देखी नै यो अभियान सुरु भएपनि यस वर्ष घरमा हुने सुत्केरी शून्य वडा घोषणा गर्ने गरि काम थालनी गरेका छौ वडाध्यक्ष केसीले भने ।
सेवा क्षेत्र भित्र अघिल्लो वर्ष देखी नै घरमा हुने सुत्केरीको संख्या शून्य रहेको वडाचौर स्वास्थ्य केन्द्रका ईन्चार्ज कुमारी विष्टले वताईन । यस वर्ष सवै प्रकृया पुरा गरि घरमा हुने सुत्केरी शुन्य वडा घोषणा गर्ने कार्यक्रम तय गरेका छौ विष्टले भनिन ।
सुरक्षित प्रसुतीका लागी भन्दै सरकारले जिल्लामा ६३ वटा वर्थिङ सेन्टर संचालनमा ल्याएको छ । नागरिकको सुविधालाई मध्य नजर गर्दै सकेसम्म कम दुरी रहने गरि स्थापना भएको भनिएका ती वर्थिङ सेन्टरमा प्रसुती गराउने तीन मध्ये २ आमाहरु मात्रै जाने गरेका छन । हरेक तीन गर्भवती मध्ये १ गर्भवतीले घरमै वच्चा जन्माउने गरेको देखिन्छ ।
अघिल्लो वर्ष गर्भवती भएका मध्ये झण्डै ६३ प्रतिशत आमाले मात्र वर्थिङ सेन्टरमा पुगेर प्रसुती गराएका थिए । प्रसुतीका लागी वर्थिङ सेन्टर जाने गर्भवतीहरुको संख्यामा क्रमिक सुधार हुदै आए पनि अवस्था अवस्था सन्तोषजनक भैनसकेको वताइएको छ । स्वास्थ्य संस्थामा गएर प्रसुती हुने आमाको संख्या हरेक वर्ष वृद्धी हुदै आएपनि अवस्था अझै सन्तोषजनक छैन स्थानीय तीर्था आचार्यले भनिन ।
आर्थिक वर्ष ०६९/०७० मा संस्थागत सुत्केरी ३८ प्रतिशत मात्रै रहेको रोल्पामा आर्थिक वर्ष ०७४/०७५ मा यो संख्या वढेर ५३.७ प्रतिशत पुगेको थियो । यसैगरि आर्थिक वर्ष ०७५/०७६ मा यो संख्या ६०.८ प्रतिशत रहेकोमा अघिल्लो आर्थिक वर्ष यो संख्या ६२.९ प्रतिशत रहेको स्वास्थ्य कार्यालय रोल्पाका तथ्यांक सहायक अरुण भिटुले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष चैत्र देखी आषाढसम्म लक डाउन भएपनि प्रसुती सेवा खासै प्रभावित भएन तथ्यांक सहायक भिटुले भने ।
घरमा हुने सुत्केरीले आमा तथा शिसुमा स्वास्थ्य संक्रमण देखिनुका साथै मातृ र वालमृत्यु दर समेत वढेको भन्दै यसको न्यूनिकरणका लागी सरकारले संस्थागत सुत्केरीलाई प्राथमिकताको कार्यक्रममा समावेश गर्दै आएको छ ।