© २०२३
तुलसीपुर उपमहानगरपालिकाले समयमै काम सक्न योजना क्यालेण्डर ल्याएकोा छ । समय सीमा नतोकी शुरु गरिएका योजनाहरुले असार मसान्त नाघेपछि उपमहानगरले योजना क्यालेण्डरको अवधारणा ल्याएको हो । फागुन मसान्त भित्र नगरका सम्पूर्ण योजनाहरुको सम्झौता हुनेगरी काम अगाडी वढाउने उपमहानगरको भनाई छ ।
गतवर्षसम्म तालिका नभएका कारण असारमसान्तसम्म पनि ठेक्का सम्झौता गरेको शाखाले यो वर्ष भने तालिका बनाएर सम्झौता गर्ने लागेको तुलसीपुर उपमहानगरपालिकाका योजना शाखा प्रमुख टेकबहादुर खड्काले जानकारी दिए । अहिले बनाएको तालीका अनुसार आगामी जेठ १५ सम्म सवै योजनाको अन्तिम भुक्तानी दिने व्यवस्था मिलाएको उनले बताए । “हामीसँग काम र योजना मात्रै थियो, समय तालिका थिएन त्यो भएर पनि काम गर्न असहज भयो” उनले भने । गत आर्थिक वर्षमा समय अभावले महत्वपूर्ण योजना छुटेकोले उपमहानगरपालिकाले यो वर्ष तालीका बनाएर समय सिमा तोकेको हो । शाखाले टेण्डरमा जाने योजनाहरुको सूचना पौष मसान्तसम्म प्रकाशित गरिसक्नेगरी तालीका बनाएको छ । “अहिले हामीले निर्माण गरेको तालिकालाई पछ्यायौ भने काममा निकै सहजता हुने छ” शाखा प्रमुख खड्काले भने ।
कानुन तथा न्यायिक मामिला शाखाले असोज महिना भित्रका कानुन लाइब्रेरी वनाउने योजना वनाएको छ । “न्यायालय सरहको काम गर्नुपर्दछ कानुनहरुको संकलन त गर्नै पर्यो नि” शाखा अधिकृत आँचल बगालले भनिन् । अघिल्लो वर्षको बजेटमा यस्तो व्यवस्था गरेको भएपनि लाइब्रेरी बन्न सकेको थिएन । कुन समयमा के गर्ने भन्ने योजना नहुँदा केही कार्यक्रम छुटेको समेत उनको भनाई छ । कार्यालयले बर्षभरी गर्नुपर्ने कामको क्यालेन्डर वनाएपछि यो वर्ष काम गर्न सहजहुने बगालेको विश्वास छ । म्याद तामेलदारलाई परिचालनका लागि असोज महिनाभित्र तालिम दिने योजना समेत उनको शाखाको रहेको छ । योजनाको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक वर्ष २०७७÷७८ मा तुलसीपुर उपमहानगरपालिकाले योजना क्यालेन्डर वनाएको छ । कुन काम कुन समयमा गर्दा प्रभावकारी हुन्छ भन्ने वैज्ञानिक आधारमा यस्तो क्यालेन्डर वनाइएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । “योजनाको महत्व र आवश्यक्ताका आधारमा क्यालेन्डर वनाइएको हो” उनले भने । उपमहानगरपालिकाको यो वर्ष कार्यप्रगति शतप्रतिशतमा लैजानकालागी समय तालीका बनाईएको मेयर पाण्डेले बताए । नीति तथा कार्यक्रममा समावेश भएका सबै कुराहरु सम्पन्न गर्नका लागि क्यालेन्डरले सघाउ पु¥याउने पनि उनको भनाई रहेको छ ।
उपमहानगरपालिकामा रहेका २९ वटा शाखा र १९ वटै वडाहरुले यस्तो क्यालेन्डर वनाएका हुन् । “कुन ढँगले योजना अगाडी वढाउने भन्ने कुराको यसले स्पष्ट मार्गनिर्देश समेत गर्ने भएकोले आवश्यक्ता महशुस गरी बनाईएको हो” नगरप्रमुख पाण्डेले भने । उनका अनुसार सवै शाखालाई गतिशिल र जिम्मेवार बनाउनका लागि क्यालेन्डरले महत्वपूर्ण भुमिका खेल्नेछ । असारमा जसरी भएपनि काम सक्नुपर्छ भन्ने प्रवृतिलाई सुधार गर्न क्यालेन्डर बनाईएको उनले बताए । क्यालेन्डरमा सबै शाखाका योजना तथा कार्यक्रमहरु फागुन मसान्तसम्म सम्झौता मिति, चैत्र र वैशाख योजनाको कार्यान्वयन, जेठमा भुक्तानीको समयसिमा तोकिएको छ । क्यालेन्डर अनुसार शाखा र वडाले गरेका कामको मुल्यांकन र अनुगमनमा सहजता हुने देखिन्छ ।