© २०२३
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मसिनाका नागेन्द्रप्रसाद गिरीले लुम्बिनीमा विद्युतीय रिक्सा नचलाएको तीन महिना भन्दा बढी भयो । ई रिक्सा चलाएर आठजना परिवारको पेट पाल्दै आउनुभएका गिरीको परिवारलाई लुम्बिनीमा पर्यटक आगमन नहुँदा अहिले बिहान बेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ ।
सामान्य झुपडीमा बसेर रिक्सा चलाउँदै आउनुभएका गिरीसँग आम्दानीको अर्को कुनै स्रोत नभएपछि पाँच लालाबाला सन्तान, बाबुआमा र आफ्नो भोको पेट मेटाउन अरुको घरमा मजदूरी गर्न बाध्य हुनु परेको छ ।
बन्दाबन्दीका कारण लुम्बिनीमा पर्यटक आगमन शुन्य भएपछि ई रिक्सा चलाएर आफ्नो दिनचर्या चलाउने गिरी प्रतिनिधिमूलक पात्र हुन् । उनी जस्तै करिव तीनसय परिवारको दैनिक जीवन इ रिक्साको कमाईबाट धानिएको छ । तर तीन महिना भन्दा लामो समयदेखि आम्दानी रोकिंदा यिनै रिक्सा चालकको दैनिक कमाई गुमेको छ ।
लुम्बिनी महामाया रिक्सा चालक संघका अध्यक्ष समेत रहेका गिरीको माग छ–“यस्तो महामारी र संकटका बेला सरकारले हाम्रो मर्का बुझेर रोजीरोटीको व्यवस्था गरिदिए हुन्थ्यो ।” लुम्बिनी विकास कोषले संकटमा परेका रिक्सा चालकहरुका लागि केही राहतको व्यवस्था गरेपनि त्यो प्रयाप्त नभएको उनको गुनासो छ ।
आम्दानीको वैकल्पिक व्यवस्था भएका केही रिक्सा चालकलाई परिवार पाल्न समस्या नपरे पनि रिक्सा मात्रै चलाएर बिहान बेलुकाको हातमुख जोर्ने रिक्सा चालकका परिवारलाई भने लामो समयको बन्दाबन्दीले पेटमा भोक र मानसिक तनाव दिएको छ । रिक्सा चालकहरुले दैनिक एकहजारदेखि १५ सय रुपियाँ आम्दानी गर्थे । सिजनका बेला मासिक ४५ हजारसम्म उनीहरुको कमाई हुन्थ्यो ।
संघका सचिव जलाल अहमद मुसलमानका अनुसार अहिले सबै रिक्सा चालकहरु लुम्बिनीमा छैनन् । “उनीहरुको रोजीरोटी गुमेको छ, केही घरमा गएर बसेका छन् भने केहीले अरुकोमा मजदूरी गरेको अवस्था पनि छ”–उनले भने ।
“अलिअलि जोगाएको पैसा पनि सकियो, साथीभाई आफन्तसँग क्रृण लिएको रकम पनि सकियो, अव पनि रिक्सा चलाउन नपाए परिवार भोकभोकै मर्ने अवस्था आउँछ”–उनले दुःखेसो पोखे ।
इ रिक्सामा कुनैमा चारजना र कुनैमा ६ जनासम्म बस्न मिल्छ । तिनले अढाइ घण्टा घुमाएको आठ सय रुपियाँ लिन्छन् । सामान्यतः चालकले नै त्यहाँ पथप्रदर्शकको भूमिका निर्वाह गर्छन् ।
कोरियन दातृ निकाय कोइकाले ७० वटा र एसियाली विकास बैंकले ३० वटा विद्युतीय रिक्सा पाँच वर्षअघि लुम्बिनी विकास कोषलाई प्रदान गरेका थिए । बाँकी दुईसय इ रिक्सा भने निजीरुपमा सञ्चालनमा थिए । अनुदानमा आएका रिक्साको व्यवस्थापन लुम्बिनी विकास कोषले गर्दै आएपनि त्यसबाट हुने कमाई भने सबै चालकको नै हुने कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले जानकारी दिए ।