© २०२३
दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यकक्षमै रड र लाठी प्रहार भएको छ । मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेर फरार भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।
आठ दश जना जतिको समूहले कार्यकक्षमै प्रवेश गरी आक्रमण गरेको गाउँपालिका अध्यक्ष डाँगीले बताए । घाईते डाँगीको अहिले तुलसीपुर स्थित राप्ती प्रदेशिक अस्पतालमा उपचार भैरहेको छ । वडा अध्यक्ष डाँगी स्थानिय तह निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट निर्वाचित भएका थिए । सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाले शान्तीनगर गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष फर्सराम डाँगी माथि ‘जनकारवाही’ गरेको जनाएको छ ।
विप्लव समुहका शान्तीनगर सेक्रेटरी कमलसिंहद्धारा जारी विज्ञप्तीमा वडा अध्यक्ष डाँगी माथी जनकारवाही गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा वडा अध्यक्ष डाँगीले वडा कार्यालयमा आफुखुसी आफ्ना मान्छे राखेको, विकास निर्माणमा ढिलासुस्ती गरेको, नागरिकमाथी दमन र कुटपिट गरेको लगाएतका आरोप लगाईएको छ । अज्ञात समुहले आक्रमण गरेको भन्ने हल्ला चलेपनि घटना स्थलमा जनकारवाही गरिएको विप्लव समुहको विज्ञप्ती फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।