© २०२३
बुटवल, १६ वैशाख । वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४२ ओभरमा छोट्टाइएको छ।
खेल १ बजेदेखि पुनः सुरु भएको हो। २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। पानी रोकिएपछि ५ ओभर घटाएर १२ बजेदेखि पुनः खेल सुरु गर्ने तयारी गरिएको थियो। तर फेरि पानी परेपछि खेल सुरु हुन पाएन। खेलमा थप ३ ओभर घटाइएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो।
कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रनमा नटआउट छन्।
मध्यक्रमका ब्याटर रोहित र कुशलले नेपालको इनिङ्स सम्हालिरहेका छन्। रोहित र कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका छन्।
उत्कृष्ट सुरुआत गरेको नेपालले ३ रन बनाउन ३ विकेट गुमाएको थियो। पहिलो विकेटका लागि कुशल र आशिफले ७७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
३९ बलमा ७ चौका र १ छक्का मद्दतमाा ४३ रन बनाएर कुशल क्याच आउट भए। त्यसपछिका ३ रन जोड्न नेपालले भिम सार्की र आशिफ शेखलाई गुमाएको हो।
आशिफ शेख ३१ रन बनाउँदा क्याच आउट भए। २८ बलको सामना गरेका आशिफले १ चौका र ३ छक्का हाने। तेस्रो नम्बरमा ब्याटिङमा आएका भिम सार्की १ रनमा क्याच आउट भए।