© २०२३
बुटवल, १६ वैशाख । पालिकास्तरका युवा क्रिकेट खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ बुटवलमा पहिलोपटक टि ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको हो ।
वैशाख १८ गतेबाट शुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुटवल क्रिकेट विकास समितिको अध्यक्ष अमित श्रेष्ठले बताए । यसैबिच समितिका वरिष्ठ उपाध्यक्ष रोमित बज्राचार्य र उपाध्यक्ष अनिल सेन्चुरीले बुटवल टिमको जर्सी सार्वजनिक गर्दै टिम क्याप्टेन भुवन पाण्डेलाई हस्तान्तरण गरेका छन । नरेश्वर क्रिकेट मैदानमा दैनिक २ खेल टि–ट्वान्टी फरमेटमा हुने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सास्कृतिक नगरपालिका गरि ६ टिम उपाधि भिडन्त गर्ने भएका छन । प्रतियोगिता आयोजना गर्न बुटवल उपमहानगरपालिकाले ५ लाख बजेट बिनियोजन गरिएको छ । प्रतियोगितामा टिम दर्ता निशुल्क गरिएको छ । ४ दिनसम्म चल्ने प्रतियोगितामा ६ लाख ५० हजार खर्च हुने अनुमान रहेको छ । समितिबाट उजरसिंह ट्रफि समेत खेलाईदै आएको र यसपटक विजेता वेष्ट्रन क्रिकेट एकेडेमी रहेकाले यसलाई नै बुटवल टिमको खेलाडीहरु छनौटको जिम्मा दिईएको उनले बताए । म्याटमा खेलाईने खेल लिग कप नकआउट आधारमा हुने छ । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने समितिका सचिव पुनित पोखरेलले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार रुपैया, मेडल, प्रमाणपत्र, म्यान अफ द सिरिजलाई नगद ५ हजार रुपैया, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २ हजार ५ सय रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको उद्घाटन खेल आयोजक बुटवल र सैनामैनाका बिचमा हुने छ । फाईनल खेल २२ गते हुनेछ ।