© २०२३
सुनवल, ७ बैशाख
नारायणगढ–बुटवल सडक खण्ड विस्तारको क्रममा कामदारको सुरक्षामा ध्यान दिईएको छैन । चार लेनमा सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले मजदुरहरूलाई सुरक्षा सामग्री समेत नदिई जोखिमपूर्ण काममा लगाउँदै आएको पाइएको छ । आवश्यक सुरक्षा सामग्री नहुँदा कामका बेला मजदुरहरूलाई दिनहुँ जसो चोटपटक लाग्ने गरेको मजदुरहरू बताउँछन् ।
मजदुरहरुले जुत्ता (सेफ्टि सुज), हेल्मेट, ज्याकेट, पन्जा, बुट, चस्मा लगायतका सुरक्षा सामग्री प्रयोग गर्नु पर्ने भएपनि कम्पनीले दिएको छैन । दुर्घटनाको जोखिम मोलेर कामदारहरु काम गर्न बाध्य छन् । दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश मजदुरको अवस्था नाजुक छ । बर्दघाटमा चर्को घाममा पुल निर्माणका लागि छडको काम गरिरहेका अधिकांश मजदुरहरु पातलो चप्पलको भरमा काम गरिरहेका भेटिन्थे । कतिपयले आफैले किनेर समान्य जुत्ता लगाएका छन् भने अधिकांश चप्पलकै भरमा जोखिमपूर्ण काम गर्दै आएका छन् । ‘हामी सबैलाई बुट पन्जा दिएको छैन, गाह्रो छ, माग्दा कम्पनीले दिँदैन, चप्पलकै भर छ, पुल निर्माणको काम गरिरहेका एक मजदुरले भने ।
दैनिक ज्यालादारीमा काम गर्ने उनीहरू कम्पनीले कामबाट निकालिदिने डरले खुलेर बोल्न डराउँछन् । “अनुगमन आयो भने बुट ज्याकेट र पन्जा नलगाएकाहरू पछाडी बस भन्छन्, जुत्ता लगाएका मात्र अगाडि जान्छन्”–ती मजदुरले भने । चाईना स्टेटले मजदुरहरुलाई हेल्मेट र पन्जा बाहेक कुनै पनि सुरक्षा सामग्री उपलब्ध नगराएको मजदुरहरुको भनाई छ । हेल्मेट र पन्जा पनि सबैले पाएका छैनन् । मुख्य गरी सडकको काम गर्दा खुट्टामा केही गड्ने वा काट्ने जोखिम रहने भएकाले सेफ्टी सुजको व्यवस्था गर्नुपर्नेमा चाईना स्टेटले चासो दिएको छैन ।
भुमहीमा काम गरिरहेका एक मजदुरले भने, “यहाँको कुरा नगरौँ नेपाली नै नेपालीको दुश्मन छन् । न तलब बराबर आउँछ न त जुत्ता, हेल्मेट नै दिन्छ ।” ठेकेदार कम्पनीले बेलाबेलामा ओभरटाईमको पैसा बिना कारण काट्ने गरेको उनीहरुको गुनासो छ । “खै कसरी तलब दिन्छ कुरा बुझ्दैनौ हामी सबैको बराबर तलब नै आउँदैन”– मजदुरहरु भन्छन् । उनीहरुले चाईना स्टेटमा काम गर्ने केही नेपाली उच्च तहका कर्मचारीले नै तलब काट्न मद्दत गर्ने गरेको दाबी गरेका छन् । “काम अनुसारको पैसा त पाईन्न यस्ता जुत्ता पन्जा त परै जाओस्”– ती मजदुरले भने । कतिपटक साथीहरुलाई चोटपटक लाग्ने गरेको उनले सुनाए ।
त्यतिमात्रै होईन चाईना स्टेटले कामदारलाई बिहान र साँझ ट्रिप्परमा राखेर आवातजवात गराउने गरेको छ । निर्माण समग्री बोक्ने ट्रिप्परमा पशुलाई जस्तो गरी कार्यस्थल सम्म लाने गरिएको कामदारले गुनासो गरेका छन् । “ढुंगा बालुवा बोक्ने ट्रिप्पर हो के गर्नु समाउने ठाउँ पनि हुँदैन, त्यही ट्रिप्परमा उभिएर बल्ल बल्ल आउनुपर्छ”– बर्दघाटका एक कामदारले भने, “कम्पनीले बसको व्यवस्था नगरेपछि के गर्नु ।” बिहानै कार्यस्थलमा हिड्ने ट्रिपर चढ्न छुटेमा भने मजदुरहरु आफ्नै खर्चमा कार्यस्थल सम्म पुग्नुपर्छ । योजनाको काम सुरु भएदेखि नै मुख्य बजार क्षेत्रदेखि कार्यस्थल सम्म यसैगरी कामदारलाई ट्रिपरको माध्यमबाट पुर्याउने गरिएको छ । कामदारले कार्यस्थलमा सुरक्षित रुपमा काम गर्न पाउनुपर्ने हकलाई चाईना स्टेटले कुन्ठित गरेको छ । केही गुनासो गर्यो भने कामबाटै निष्काशन गर्ने भएकाले पनि मजदुरहरुले ठेकेदार कम्पनी संग माग राख्न डराउने गर्छन् ।
दाउन्ने पश्चिम खण्डका योजना प्रमुख शसाङ्क मिश्रले मजदुरहरूबाट कुनै गुनासो नआएको बताउँदै आफु भर्खर आएकाले थप बुभ्mने बताए । उनले मन्त्रीहरुको टोली सहितको उच्चस्तरीय अनुगमनका क्रममा पनि त्यस्तो नपाईएको बताए । केही दिन अगाडि मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, चिनियाँ राजदुत लगायतको टोलीले नारायणगढदेखि बुटवल सम्म ठाउँ ठाउँमा सडक विस्तारको कामको स्थलगत निरीक्षण गरेको थियो । तर उक्त टोलीले मजदुरको टाउकोमा हेलमेट नभएको र तातो घाममा जोखिम मोलेर विना बुट काम गरिरहेका मजदुरलाई भने देखेनन् । चाईना स्टेटका डेपुटी कन्ट्रयाक्ट म्यानेजर सन्तोष देवकोटाले सुरुमा मजदुरका लागि सबै सुरक्षा सामग्री प्रदान गरेको दाबी गरे । “सुरुमा सबैलाई दिएकै हो तर त्यसपछि पुनः दिईएको छैन, कामदारले पनि खासै चासो दिएका छैनन्”–देवकोटाले भने । कामदारलाई ट्रिप्परमा बोकेर लानु त मजदुरको हित विपरितको काम होला नि भन्ने जिज्ञासामा देवकोटाले भने, “त्यो त हो तर अब कम्पनीले यातायातमा खर्च गरेको छैन, खासमा मजदुरलाई कार्यस्थलमै बस्ने व्यवस्था गर्नुपर्ने हो ।”
दाउन्ने पुर्वी र पश्चिम खण्डमा गरी झन्डै २ हजार कामदार नारायणगढ–बुटवल सडक विस्तारमा कार्यरत रहेकोमा चाईना स्टेटले कार्यस्थलमा मजदुरको सुरक्षा र यातायातमा ध्यान दिएको छैन । तर यति हँुदाहँुदै पनि यसतर्फ कसैले पनि ध्यान नपुर्याउँदा मजदुरहरु पिडा भोग्न बाध्य भएका छन् । कामबाट निकालिने डरले अधिकांश मजदुरहरु मुख खोल्न रुचाउँदैनन् ।