© २०२३
बुटवल,५ बैसाख । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा मलेसियाले नेपालसामु जितका लागि २ सय ३६ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको हो।
मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे भने विरन्दिप सिंहले ४६ रन जोडे। नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३/३ विकेट लिए भने ललित राजवंशीले २ र गुल्सन झाले एक विकेट खसाले।
यस्तै मुलपानी मैदानमा जारी अर्को खेलमा सिंगापुरले हङकङलाई जितका लागि १ सय ७५ रनको चुनौति दिएको छ। टस हारेर पहिला ब्याटिङमा तानिएको सिंगापुर ४२ दशमलव १ ओभरमा १ सय ७४ रनमा अलआउट भएको हो। अब केहीबेरमा हङकङले जवाफी ब्याटिङ गर्नेछ।
समूह ए मा नेपालसहित ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। नेपालले तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्दा एक खेल मूलपानीमा खेल्नेछ। उपाधि विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन्।