© २०२३
आर्थिक अभावले घरमा विद्युत्त जडान गर्न नसकेका माण्डवी गाउँपालिकाका सवै घरधुरीमा उज्यालो छाउने भएको छ । चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी गाउँपालिकाले विपन्न सवै घरधुरीमा विद्युत्त जडान गर्ने योजना ल्याएको छ । विपन्न घरधुरीमा विद्युत्तीकरण कार्यक्रमले गाउँबासी लाभांवित भएका छन् । वर्षौदेखि अध्यारोमा बसेका स्थानीयको घरमा उज्यालो छाउने भएको हो ।
हालै सम्पन्न गाउँपालिकाको पाँचौ गाउँसभाकै दिनदेखि विपन्नलाइ विद्युत्त जडानका लागि सहयोगको थालनी गरिएको छ । पालिकाले प्रत्येक घरधुरीलाई ६ हजार रुपैयासम्म आर्थिक सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले जानकारी गराए । पाँचवटै वडामा गरी एकसय ५६ घरधुरीलाई सहयोग गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । आगामी आर्थिक वर्षभित्र सवै घरधुरीलाई सहयोग गर्ने गरी कार्यक्रम अघि बढेको उनले जानकारी गराए । विद्युत्तको पहुँचबाहिर रहेका घरधुरीलाई मिटरबक्स र ‘एमसिबी’ तार सहयोग गरिने रिजालले बताए । पालिकाले वडा नम्वर ३ स्थित नयाँगाउँबाट शुरुवाती चरणमा कार्यक्रमको थालनी गरेको छ ।
७० वर्षको उमेरसम्म विजुलीको उज्यालो अनुभव गर्न नपाएकी रम्दी सिख्रेकी क्वारी थापाले गाउँपालिकाले मिटरबक्स दिने खवरले खुसी भएको प्रतिक्रिया दिइन । ‘अहिलेसम्म विजुली जडान गर्न सकेकी छैन्’,उनले भनिन्,‘विजुली जोड्ने पैसा थिएन ।’ चर्किएको जिर्ण घरमा बस्दै आएकी थापा बेसहारा हुन् । घरखर्च धान्नै मुश्किल पर्ने गरेको सुनाउदै उनले यसअघि विजुली जडान गर्न सपनाजस्तै लाग्ने गरेको बताइन । श्रीमानको ३१ वर्ष अघि नै मृत्यु भएको उनले जानकारी गराइन । गाउँभरी विजुलीको उज्यालो छाएपनि उनी सहित स्थानीय धन बहादु घर्ति, चिन्त बहादुर थापाको परिवार अँध्यारोमा बस्दै आएका थिए ।
आफ्नै गाउँपालिकाभित्रै झिमरुक जलविद्युत आयोजना संचालन भएपनि गरिबीकै कारण सयौँ स्थानीयले उज्यालोको महशुस गर्न पाएका थिएनन् । जनप्रतिनिधि चुनिएसँगै विपन्नको घरमा विद्युत जडानले स्थानीय हौसिएका छन् । ‘धेरै जनता पैसा नभएरै विजुली बाल्न पाएका थिएनन्’,गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले भने,‘कतिपय जनता पाँच÷छ हजार खर्च गर्न पनि नसक्ने अवस्थामा छन् । उनीहरुको पहिचान गरी सहयोगको योजना ल्याएका हौँ ।’ गाउँपालिका भरी रहेका सवै विपन्नको घरधुरीमा विद्युत्त जडान गर्ने उनले जानकारी गराए । सवै वडाबाट तथ्यांक संकलन गरी काम अघि बढेको उनको भनाइ छ ।
प्राविधिक शाखा प्रमुख सागर पण्डितका अनुसार वडा नम्वर १, ४ र ५ मा ३२÷३२ जना, २ र ३ नम्वर वडामा ३०÷३० जना घरधुरी यसवर्ष प्रत्यक्ष लाभांवित हुनेछन् । उनका अनुसार गाउँपालिकाभरी करिव तीनसय घरधुरी अझै अध्यारोमै छन् । गाउँपालिकाले यसवर्ष विद्युत्तीकरणका लागि करिव नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत रिजालले जानकारी दिए । पाँचौ गाउँसभाले एक करोड ६० लाख २२ हजार रुपैयाँ बजेट संशोधन गरी विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । खानेपानी योजना निर्माणका लागि ४० लाख ७५ हजार र विपन्न परिवारका लागि जस्तापाता खरिद गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।