© २०२३
झिमरुक गाउँपालिका मच्छि प्यूठानको केन्द्र मतदानबाट टुंगिएको छ । शनिबार बसेको विशेष गाउँसभामा दुइतिहाई बहुमतले वडा नम्वर–४ स्थित ओखरकोटको भेउतेमा केन्द्र बनाउन मतदान गरेका छन् । भेउतेको पक्षमा २८ र वडा नम्बर ७ स्थित तुषारा पिडाल्नेका लागि ४ मत खसेको गाउँपालिका अध्यक्ष तिलक जिसीले जानकारी गराए । उनका अनुसार ४२ मत खसेको थियो । एकमत बदर भएको छ । ९ जना मतदाताले भोट हालेनन् । सहमतिको प्रयास भएपनि टुंगोमा पुग्न नसकेपछि मतदानमा जानुपरेको जिसीले प्रतिक्रिया दिए ।मतदानबाट टुंगिएको जग्गा मच्छि–बांगेफेदी–पुर्कोटदह (गुल्मी) सडक खण्ड नजिकै पर्छ ।
भेउतेका पाँचजना स्थानीयले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि साढे ९ रोपनी क्षेत्रफलको जग्गा निःशुल्क दिएका छन् । पिडाल्नेका लागि स्थानीयले ९ रोपनी जग्गा निःशुल्क दिएका छन् । निःशुल्क प्राप्त भएको जग्गालाई छिट्टै गाउँपालिकाको नाममा पास गर्ने प्रक्रिया अघि बढाइने अध्यक्ष जिसीले बताए । पाँचवर्षे कार्यकालभित्रै भवन निर्माणलाई पूर्णता दिनेगरी योजना अघि बढाउने सोँचमा उनको भनाई छ ।
भाडामा संचालन भएको गाउँपालिकामा दैनिक प्रशासनिक कामगर्न समस्या भइरहेको प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद भुषालले बताए । साँघुरो कोठामा दैनिक कार्यसम्पादन भइरहेको उनको भनाई छ । कोठा अभावमा विभिन्न विषयगत शाखाहरू समेत प्रभावकारी रूपमा संचालन गर्न समस्या भइरहेको छ । भवन निर्माणको मापदण्ड अनुसार नेपाल सरकारसँग बजेट माग गर्ने गाउँपालिकाले जनाएको छ ।