© २०२३
बुटवल, १२ चैत । तिलोत्तमा नगरपालिकामा घर भएका क्रिकेट खेलाडीलाई तिलोत्तमा नगरपालिकाले सम्मान गरेको छ । राष्ट्रिय टोलीका कुशल भुर्तेल र मौसम ढकाल तथा यू–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । उनीहरुलाई नगरपालिकाले जनही ५० हजारका दरले नगद सहित सम्मान गरेको हो ।
खेलाडीहरुलाई तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा सम्मान गरे । खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख खाणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय बिकासमा समेत टेवा पुग्ने उनले बताए ।
उपप्रमुख चौधरीले खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले पर्याप्त लगानी गरेको बताउँदै चौधरीले खेलकै माध्यमबाट तिलोत्तमालाई परिचित गराउन पाउनु खुशीको कुरा भएको उल्लेख गरिन् ।
सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गरे । नगरपालिकाले आफूहरुलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावना खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको उल्लेख गरे । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,नगर कार्यपालिका सदस्य सुरेन्द्र श्री लगायतले नगरपालिकाले खेलाडीको प्रोत्साहनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।