© २०२३
बुटवल, ९ चैत ।
सालझण्डी–ढोरपाटन सडक निर्माण सुरु भएको १३ वर्ष बित्यो । राष्ट्रिय प्राथमिकताको आयोजना अन्तर्गत रहेको यो सडकको बागलुङ खण्डमा ट्रयाक खुलेको नौ वर्ष बितिसक्यो । तर स्तरोन्नतिको काम भने निकै सुस्त छ । २०६६ सालदेखि निर्माण सुरु भएको सालझण्डी–सन्धिखर्क सडकको हालसम्म १९ किलोमिटर मात्र कालोपत्रे भएको छ । यो सडकको कुल लम्बाई १८५ किलोमिटर रहेको छ । रुपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र वाग्लुङमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ । वाग्लुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु¥याइएको यो सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण सुरु गरिएको हो । उक्त सडकको केही खण्ड ग्राभेल भएको छ भने कच्ची सडकको काम सकिएको छ ।
यो सडक विस्तारको काम श्रेष्ठ गल्वा क्यारभान जेभीले गरिरहेको छ । ८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ३५÷४० करोडमात्रै बजेट विनियोजन भएको छ । १३ वर्षको अवधिमा करिव ३ अर्व रुपैयाँ खर्च भएको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा ३५ करोड र थप ८ करोड बजेटको काम सकिएको छ भने यो वर्ष ४० करोड बजेट विनियोजन भएको छ । यो सडक अन्तर्गत पर्ने पुलमध्ये अब दुई वटा पुल बन्न बाँकी छ । बाग्लुङ जिल्लामा पर्ने बहुला बाँस खोला र दो खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति अन्तिम चरणमा रहेको परियोजनाका सूचना अधिकारी इन्जिनियर शरद आचार्यले बताए । बाँकी पुल भने निर्माण भइसकेको उनले जानकारी दिए ।
सन्धिखर्कमा विवाद भएका कारण ५ सय मिटर कच्ची सडकको काम रोकिए पनि अन्यत्र कुनै रोकावट छैन । सुरुमा यही विवादले गर्दा परियोजनाको काममा ढिलाइ भएको थियो । पछि टुक्राटुक्रा गरेर ठेक्का र उस्तै गरी बजेट आएपछि यो सडक निर्माणले गति लिन नसकेको हो ।
सालझन्डी–ढोरपाटन सडक परियोजना कार्यालयकी प्रमुख इन्जिनियर अन्जु परियारले बजेटकै कारण निर्माण कार्यले गति लिन नसकेको बताइन् । “अहिले परियोजना अन्तर्गत तीनवटा ठेक्काको काम भइरहेको छ । दुई वटा बहुवर्षे ठेक्का हुन्”–उनले भनिन् ।
खुसार्नेदेखि कन्चन खोलासम्म १३ किलोमिटर र बाग्लुङको बुर्तिवाङ्गदेखि फल्लेघर सम्मको २२ किलोमिटर बहुवर्षे ठेक्का हुन् । बहुवर्षे ठेक्कामा जति काम ग¥यो, उति रकम लैजाने भएकाले परियोजनालाई दबाब दिन कठिन हुन्छ ।
यस्तै खुसार्नेदेखि पटौटीसम्मको पनि ठेक्का लागेको छ । पुलको डिजाइन स्वीकृत भएपछि ठेक्काको चरणमा जाने बताइएको छ । यो सडक निर्माण भएपछि बागलुङको पश्चिमी क्षेत्र, गुल्मीको पश्चिम क्षेत्र र अर्घाखाँचीका बासिन्दालाई बुटवल आउजाउ गर्न सहज हुनेछ ।
यस्तै, प्यूठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने देखिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू ढोरपाटनसम्म सहजै पुग्न सक्ने अपेक्षा गरिएको छ ।