© २०२३
सरकारले यातायात सिण्डिकेटमा कडाई गरेसँगै समितीका पदाधिकारीले कपिलवस्तु यातायातका नाममा बैङ्कमा रहेको रकम झिकेर व्यक्तिगत खातामा राखेको भन्दै बिवाद भएको छ । कपिलवस्तु यातायातको १७ औं साधारणसभामा प्रस्तुत आय व्यय बिवरणमा समितीका सदस्यले बिरोध जनाएका हुन । समितिका सदस्यहरूको बिवादले साधारणसभामा केहि समय भनाभन र हात हालाहालको अवस्था तयार भएको थियो । पछिल्लो समय समितीका एक समुहले हालको कार्य समितीले अनियमितता गरेको आरोप लगाउँदै साधारणसभा र अधिबेशनको माग गर्दै आएको थियो । बिहिबारका लागी तोकिएको साधारणसभा अन्योलताका बिच शुरु गरिएको थियो । साधारण सभा शुरु भए पश्चात मात्रै सभास्थलमा गत आर्थिक बर्ष २०७४÷७५ को आर्थिक प्रतिबेदनको फोटोकपी सदस्यलाई उपलब्ध गराईएको थियो । साधारणसभामा कोषाध्यक्ष राधेश्याम बरईले गत आवको ३२ लाख ६२ हजार ६ सय ३ रूपैयाँ बराबरको आय व्यय प्रतिवेदन पेश गरे । प्रतित्रेदन पेश गर्ने क्रममा बैङ्क मौज्दात ३६ हजार ९ सय मात्रै देखाईए पछि कपिलवस्तु यातायात सम्बद्ध व्यवसायी साधारणसभामै बिरोधमा उत्रिएका हुन् । दैनिक १० हजारका दरले मासिक ३ लाख हाराहारीको रकम सवारीको चलानी मात्रैबाट उठ्ने भए पनि हालको बैङ्क मौज्दात न्युन देखिनु अनियमितता भएको भन्दै व्यवसायी आक्रोशित बनेका थिए ।
व्यवसायी आक्रोशित बने पछि कोषाध्यक्ष राधेश्याम बरईले सरकारले सिण्डिकेटका नाममा सरकारले कडाई गरेकाले बैङ्कको रकम झिकी पेश्की देखाईएको जनाए । “सरकारले सिण्डिकेट भयो भन्दै खाता नै रोक्का गर्न थालेपछि रकम निस्किदैन कि भनेर यातायात व्यवसायीका नाममा पेस्की दिएका हौं,” उनले सभास्थलमै भने । उनले गत आवको अबधीमा ३३ सवारीधनीका नाममा १६ लाख ७१ हजार ९ सय २३ रूपैयाँ पेश्की रहेको जनाए । सोही क्रममा समितीकै महासचिव अमृता खड्काले आफूहरूलाई अध्यक्ष र कोषाध्यक्षले आम्दानी खर्चको हिसाब नदिएको बताईन । गत आवको आय व्ययमा हस्ताक्षर गरेकी उनले आफूलाई आर्थिक बिवरण थाहा नभएको बताए सगै व्यवसायीले अडिट बिवरणमा किन हस्ताक्षर गरेको भन्दै प्रश्न गरे उनले आफुले अडिट प्रयोजनका लागी हस्ताक्षर गरे पनि हिसाब किताब जानकारी नभएको र आफुले लिएको पेश्कीको खर्च गरि हिसाब मिलानको तयारीमा रहेको भन्दै बचाउ गरिन । आय व्यय बिवरणमा सबै भन्दा बढि महासचिव अमृता खड्काको नाममा २ लाख ९४ हजार ९ सय ९७, अध्यक्ष मोहम्मद ईनामका नाममा २ लाख ४३ हजार ६ सय ५४ रूपैयाँ र कोषाध्यक्ष राधेश्याम बरईको नाममा १ लाख ५० हजार ७ सय पेश्की देखिएको छ । “दैनिक आम्दानीको अवस्था हेर्दा समेत आय व्यय बिवरण चित्त बुझदो छैन । हरेक खर्चका बिल भरपाई हरेक सदस्य बीच राखेर मात्रै समस्या समाधान हुन्छ,” समिति आबद्ध सदस्य मोहम्मद अहमदले भने । बार्षिक ३० लाख बढि रकम संकलन हुने समितिको बैङ्क मौज्दात ३६ हजार देखाउनुका साथै रकम अपारदर्शि रूपमा समितिका पदाधिकारीले प्रयोग गरेको भेटिए पछि साधारणसभामा बिरोध जनाएको समितीका साधारण सदस्य मोहम्मद ईस्तियाकले आरोप लगाए । “बैङ्कमा भएको समितिको खाताको रकम झिकेर अध्यक्ष र कोषाध्यक्षले परिवारको सदस्यको नाममा राखेका छन । हरेक बर्षका हिसाब किताव व्यवसायी बिच राख्नु पर्छ,” उनले थपे । समितीको बर्तमान बिधान बिपरितका पदाधिकारी राखिएको आरोप लगाउँदै समितीका पदाधिकारीले गरेका अनियमितताको यथार्थ छानबिन हुनुपर्ने सदस्यहरूले माग राखे । समितिका सदस्यले साधारणसभामा बिरोध गरे सगै मंसिर १५ गते समितीको अधिबेशन गर्ने तथा निर्वाचित कार्य समितीले आव व्यय बिवरणको हिसाब किताव लिने निर्णय गरिएको छ । आफुहरूले प्रस्तुत गरेको आय व्यय बिवरणमा सदस्यहरूलाई चित्त नबुझेको बताएकाले निर्वाचित समितीलाई आफुहरूले हिसाब किताव बुझाउने समितीका अध्यक्ष मोहम्मद ईनाम शेखले बताए । पछिल्लो समय सवारी दुर्घटनामा बृद्धि भएकाले आफुहरूले सवारी धनीका नाममा पेश्की दिएको उनको भनाइ थियो ।