© २०२३
बुटवल,७ चैत । बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङदी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाइ २–१ गोलअन्तरले पराजित गर्दै मनाङले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठले खेलको ३२ औ मिनेटमा र चेतन कुमार थारुले पहिलो हापmको ४ मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरेका थिए।
नेपाल पुलिस क्लवका बुद्ध तामाङले दोस्रो हाफको १७ औ मिनेटमा गोल गरेका थिए। एक गोल फर्काएपछि राम्रो प्रदर्शन गरेको नेपाल पुलिस क्लवले दोस्रो गोल भने गर्न सकेन ।
खेलमा मनाङका चेतन थारु म्यान अफ द म्याच घोषित भए । बुधबार पहिलो सेमिफाइनल खेल सुदूर पश्चिम ११ र थ्रीस्टार क्लबबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ ।